वेबटिभी खबर
काठमाडौं । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलबहादुर केसीले केही दिनमा नै विश्वासको मत लिने भएका छन् । गठबन्धन सांसदको समर्थनमा २८ साउनमा मुख्यमन्त्री नियुक्त भएका केसीले विश्वासको मत लिने तयारी थालेका छन् ।
नेकपा एमालेबाहेकका दलको गठबन्धनबाट मुख्यमन्त्री भएका केसीले गण्डकी र संघीय सरकारको सिको गर्दै आफू बलियो बन्न विश्वासको मत लिने तयारी गरेका हुन् । गठबन्धनमा रहेका सांसदहरू विपक्षी एमालेको प्रभावमा पर्नसक्ने भएकाले सरकारले यस्तो तयारी गरेको बुझिएको छ । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सरकारले सुरुमै विश्वासको मत लिने तयारी गरेको बताए ।
‘हिउँदे अधिवेशन आह्वान भएको छ, यो नियमित प्रकृयाजस्तै त भयो, पहिलो दिन नै नभए पनि केही दिनमा नै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुने बुझिएको छ,’ उनले भने । १ भदौमा बस्नेगरी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिसकेका छन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको जानकारी दिए ।
२७ साउनमा शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेशमा संविधानको धारा १६८ ९२० बमोजिम २८ साउनमा गते मुख्यमन्त्रीमा नियुक्त भएका केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । यद्यपि उनले केही दिनमा नै विश्वासको मत लिने तयारी गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij