वेबटिभी खबर
काठमाडौं । बागलुङमा प्रहरी जनशक्ति अभाव भएपछि शान्ति सुरक्षा कायम राख्नुपर्ने लगायतका सेवा प्रवाह प्रभावित बनेको छ । शान्तिसुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको काममा मौजुदा जनशक्तिको अधिकतम प्रयोग गरेको प्रहरीले महामारी नियन्त्रणका समयमा भने जनशक्तिको अभाव महसुस गरेको छ । दरबन्दी अनुसारको जनशक्ति पदपूर्ति नहुँदा प्रहरीलाई कठिन भएको हो ।
‘जिल्लामै प्रहरीको संख्या कम छ, चौकी, इलाका र पोष्टमा चाहिने जति खटाउन सकिएको छैन,’ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगर भन्छन्, ‘दरबन्दी खाली छन्, जनघनत्व भएका ठाउँमा जनशक्तिले पुग्दैन ।’ ५ सय ८७ जनाको दरबन्दी रहेको बागलुङमा ३ सय १४ जना मात्रै छन् । प्रहरी उपरीक्षक, प्रहरी निरीक्षकदेखि जवानसम्मका अधिकांश पद खाली छन् । २६ प्रहरी नायव निरीक्षकको दरबन्दी रहेको जिल्लामा ११ मात्रै छन् । ६२ प्रहरी सहायक निरीक्षकको दरबन्दीमा ३२ ले काम चलाउनुपरेको उनले जानकारी दिए ।
‘प्रहरी अधिकृत हुनुहुन्छ समस्या छैन, जसलाई धेरै खटाउनुपर्ने हो उहाँहरूकै दरबन्दी खाली छ,’ उनले भने । जिल्लामा रहेको मौजुदा जनशक्ति अवकाश पाउँदा १ सय १ को दरबन्दी नै खाली छ । सरुवा भएर आउने पनि काजमा बस्दा जनशक्तिको कमी भएको कार्यालयको तथ्यांक छ । बागलुङ प्रहरीको दरबन्दीमा कामकाजका लागि आएर मन्त्रालय, मन्त्री निवास, भिआइपीको सुरक्षा र सरकारी विभिन्न निकायमा काजमा पोखरा बस्ने प्रहरी धेरै हुँदा बागलुङमा प्रहरी कर्मचारीको अभाव भएको उनको भनाइ छ ।
‘पोष्टिङ यहाँ हुन्छ तर काज मिलाएर सुगममा बस्ने धेरै हुँदा समस्या भयो,’ उनले भने, ‘दरबन्दीमा नयाँ नियुक्ति नहुँदा काममा सास्ती खेप्नुपरेको छ ।’ इलाका प्रहरी कार्यालय बलेवामा २९ जना प्रहरी अधिकारीको दरबन्दी रहनुपर्ने व्यवस्था भए पनि आठ जना जनशक्तिका भरमा चलेको छ । बागलुङमा ‘क’ वर्गका इलाका प्रहरी ३, ‘ख’ वर्गका इलाका प्रहरी कार्यालय चार र १४ वटा प्रहरी चौकी छन् । तीनवटा प्रहरी चौकी खुल्न बाँकी छन् । सबै इलाका तथा चौकीमा जनशक्तिको अभाव छ ।
‘हरेक ठाउँमा प्रहरी चाहिन्छ, काम खप्टाएर काम गर्नुपरेको छ,’ उनी भन्छन्, ‘हाम्रो सुविधा भनेकै बिदा हो, भनेका बेला बिदा पठाउन नपाउँदा नमज्जा लाग्छ ।’ जिल्लाका लागि पोष्टिङ भएर आउने जनशक्ति तोकिएकै स्थानमा चाँडो पठाउनुपर्ने उनको भनाइ छ । जिल्लाको शान्तिसुरक्षा र अपराध नियन्त्रणमा खटिने प्रहरी यतिबेला कोरोना नियन्त्रणका लागि खट्नुपरेको उनले बताए ।
सम्भावित बिरामीको पीसीआर गराउन होस् वा निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी सडकदेखि सर्वसाधारणको घरसम्म छ । गाउँदेखि सहरमा पीसीआरको आवश्यकता स्वास्थ्यकर्मीले औंल्याउँदा अटेरी गर्नेलाई प्रहरी पुगेर स्वाब संकलन गर्ने केन्द्रसम्म पुर्याउन प्रहरी खट्नु परेको उनले बताए । ‘प्रहरीको जिम्मेवारी धेरै भए पनि जनशक्ति अभावमा प्रभावकारी काम गर्न अफ्ट्यारो भइरहेको छ,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij