Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

आङ खस्ने समस्याबाट पीडित ७२ वर्षीया फुलमायाको कथा

आङ खस्ने समस्याबाट पीडित ७२ वर्षीया फुलमायाको कथा

  • 465
    SHARES
  • आङ खस्ने समस्याबाट पीडित ७२ वर्षीया फुलमायाको कथा

    सेतो फुलेको केशमा रातो मेहेन्दी लगाएर छ्पक्क तेलले भिजेको केशमा चिटिक्क फुर्के धागोले बाटिएको कपाल । कालो पारीमा बुट्टा भरिएको गुन्यु, रातो चौबन्दी चोली र पहेँलो, कुसुमे, बेगुनी रङ्ग मिसिएको ढाकाको मजेत्रो ओढी पाको शरीर बिस्तारै पाहिला सार्दै हिँडिरहेकी फुलमाया तामाङ उमेरले ७२ लागिछ्न् ।

    सुनसान फागुनन्द्र गाउँपालिका १ को भोगटेनी जङ्गलमा नाती च्याङ्बाको साथमा सल्ला घारीको  बाटोमा  लौरोको साहारा लिएर फुलमाया आफ्नु गन्तव्य अगाडि बढाउँछिन् । हुन त उनको गन्तव्य त्यति टाढाको होइन सोही गाउँपालिकास्थित निबुखोलानजिक रहेको फाक्देब पुच्छार माइतघर हो । पाको शरीरलाई ओल्टाई–पल्टाई गर्दै घरी लौरीको तोक्मा लगाउँदै घरी उभिएर बसी पेप्सीको बोतलमा बोकेको सेतो जाडको झुड्को लिँदै यात्रा अगाडि बढाइरहेछिन् । यात्रामा  शरीरका अन्य भाग राम्रोसँग चलेको देखिए पनि उनी हत्तपत्त उठबस गर्ने भने सक्ने अवस्थामा थिइनन् ।

    त्यही कारण उनी हिँड्नसमेत सहज तरिकाले नसकिरहेको स्पष्ट देखिन्थ्यो । हिँड्नमा ज्यादै अप्ठ्यारो देखेपछि  करिब ४५ मिनेट सँगै यात्रा गरेको साइनु गर्दै फुलमाया आमाको नजिकै गएर वास्तविकता जान्ने इच्छा लाग्यो । हुन त उनी गफमा पोख्त तामाङ भाषाका अन्य रचनासमेत मलाई सुनाउँदै बाटो काट्ने आँट गरिरहेको म नजिकबाट नियाली रहेको थिएँ ।  

    निबुखोलाको नजिक हामी पुग्न लागेका थियौं । मैले झोलामा दिदीको कोसेलीका लागि पकाइएका बाटोमा खान भनी छुट्टै बोकेको खाजा घुमाको सेल रोटी खाएँ। नाति च्याङ्बा, म र  मेरो भाइ ढुङ्गामा थचुक्क बस्यौं । र मैले फुलमाया आमालाई पनि बस्न आग्रह गरे तर उहाँले उभिएरै खानुभयो । मलाई उहाँ उभिएर आफू बसेको पटक्क्कै ठिक नलागेपछि म पनि आमाको नजिक गएर पारि डाँडाको फाक्देब हेर्दै रोटी चबाउन थालेँ । हामीले रोटी खाएर पुनः आफ्नो गन्तव्यलाई निरन्तर दिन सुरु गर्यौं ।

    यात्रा गर्दा बाटेमा भेटिएका पाटी, चौतारी र ढुङ्गामा बस्ने चलन परम्परागत नै हो यसलाई सबै पुस्ताले उत्तिकै ग्रहण गरेका हुन्छ्न । तर आमा यस्ता स्थानमा समेत बस्न रहर नै गर्नुभएन । बरु हामी बस्दा उहाँ लौरोको साहरामा धेरै पटक उभिएको देख्ने प्रत्यक्षदर्शी म नै थिएँ ।  मलाई आमाको विषयमा जान्न इच्छा लग्यो र भाइ र च्याङ्बालाई अगाडि लगाएर आमा र म बिस्तारै पछि हिन्न थाल्यौं ।

    मैले अगाडिका कुराकानीमा  पनि धेरै पटक उनलाई यो कुरा सोध्न लागेको थिएँ तर आँट भने गर्न सकेको थिइनँ । योपल्ट पक्का सफल हुन्छु भनेर आमाको नजिक उभिएर  सोधे, ‘आमा तपाईंलाई सञ्चो त छ नि ? हिन्न गाह्रो भएको हो ?’ मैले घुमाउरो पारामा प्रश्न गरेँ । आमा अलिक तल्तिर आएर निन्याउरो अनुहारमा मलाई हेरीरहनु भयो तर मेरो कुनै प्रश्नको उत्तर भने आएन ।

    मैले पुनः, ‘एक्छिन उभिँउ कि आमा ! ओहो यो उरालो त पट्यार लाग्ने बाटो पो रहेछ बाटोभरि सल्लिपिर झरेर चिप्लो, हिन्न नि समस्या रहेछ आमा बिस्तारै जाम,’ भन्दै आग्रह गरेँ । आमाको नजिक उभिएर कुरा घुमाएँ । बल्ल बुढी आमा त्यहाँ नजिकैको माटोको ढिस्कामा बस्न खोज्नु भयो तर उहाँलाई बस्नका लागि निकै सकस भएको महसुस म आफैंले गरिरहेको थिएँ। उहाँ आफ्नो बर्को बिछ्याएर कठीन पारामा बस्नु भएको देख्दा मलाई उहाँको विषयमा अझ जानकारी लिन मनलाग्यो ।

    ‘नानी मलाई सञ्चो छैन म विगत २५ वर्षदेखि राम्रोसँग उठबस गर्न सक्दिनँ,’ अब बल्ल आमा बोल्न लाग्नु भयो । मेरो जिज्ञासु अनुहार देखेर होला आमाले निरन्तर आफ्ना कथाहरू यसैगरी सुनाउन लाग्नु भयो, ‘मेरो बिहे १० वर्षको उमेरमा भयो, मैले १२ वर्षको उमेरमा पहिलो सन्तान जन्माए हाल मेरा १३ जना छोराछोरी छन् तर ९ औं पटक सुत्केरी भएपछि  अचानक तल्लो पेट दुख्ने पोल्ने भइरहन्थ्यो । १० औं सन्तान छोराको जन्म भएपछि नै पाठेघरको मुखमा मासु पालाएकोजस्तो भएको थियो । केही याद नगरिकन पुनः १५, १५ महिनाको फरकमा दुई सन्तान जमाएँ ११ औं अन्तरी छोरीको पालोमा  मेरो ज्यान नै झन्डै गएको थिएन !’

    म उहाँलाई टुलुटुली हेर्स्दै कुरा सुनिरहेको हुन्छु । आमा आफ्नो कुरा अगाडि बढाइरहनु भएको थियो, ‘नानीसँगै आङ बाहिर आएको रहेछ । त्यो बेला थाहा भएन वैधहरूले ठेलेछन् । फेरि जन्तरी र कान्छी एकैसाथ जुम्ल्याहा जन्मिए त्यो बेला सदरमुकामको अस्पताल नै जानपर्यो एकदिन लगाएर डोकोमा बोकेर अस्पताल पुर्याएका थिए। उपचारपछि म बाँचेंछु  तर दुई छोरी बाँचेनन् । त्यो दिनदेखि त मेरो शरीर आफैंलाई बोझ भएको छ ।’

    उहाँले आफ्नो व्यथा सुनाउनुभयो, ‘त्योबेला मलाई केही जानकारी थिएन पछि बुझ्दा आङ खसेको रहेछ । आङको अप्रेसन गरेको १० वर्ष भयो होला तर अप्रेसन गरे पनि उठबस गर्दा हिँड्दा र केही काम गर्न खोज्दा पाठेघर दुख्ने, पोल्ने, फोहोर पानी जाने समस्याले जहिल्यै नि पिरोली रहन्छ । अहिले कलिलो उमेरमा बिहे गर्यो रे भन्दा मेरो याद आइहाल्छ । हुन त उहिलेजस्तो धेरै सन्तान जन्माउने  जमना फेरियो तर पनि कलिलो उमेरमा बिहे गरे छोरी मान्छेमा केही न केही समस्य देखिहाल्छ । मलाई अस्पतालका  डाक्टरले किन समयमा उपचार गराउन नआउनु भएको भनेर धेरै केरकार गर्नुभयो मलाई त सुरुमा केही थाहा भएन जब रोगबारे ज्ञान भयो म यो रोगको अन्तिम सिकारमा पुगेको रहेँछु । बाँचेर पनि आफैंलाई कष्ट परिरहेको छ । नहिँड्दा पनि कुँजिनुपर्छ कि भन्ने पीरले माइतसम्म हिँडेको हुँ । अब त कालले लान आट्यो गाउँका नाती नातिनालाई कम उमेरमा बिहे नगर्न, धेरै सन्तान नजन्माउन र पाठेघरमा केही समस्या देखिएमा तत्काल अस्पताल जान सुझाव दिने गर्छु ।’

    उहाँ त एक उदाहरण मात्र हो । भौगोलिक रूपमा सदरमुकामबाट टाढा रहेका केही महिलाहरूले आफ्नो रोगबारे न अस्पतालसँग खुलेर कुरा गर्न सकेका छ्न् न त उपचार नै । लाज  र समाजका डरका कारण जिल्लाका कतिपय महिला समस्याबारे हालसम्म पनि खुलेर बोल्न सकेको देखिँदैन । चेतना भएर पनि कतिपयले आफ्नो रोग लुकाएर गुमनाम बस्नु परेको अवस्था छ ।

    केहीवर्ष अगाडिसम्म जिल्लाका महिलामा आङ खस्ने समस्याको परामर्श र उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन हुँदा जटील समस्या भएका महिला पनि भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरका सुचना अधिकारी नारायण जोशी बताउँछ्न् । ६० देखि ७० वर्षका आमाहरूमा तथा कम उमेरमा बच्चा जन्माएका र  कम उमेरमा नै गर्भपतन गराएका महिलाहरूमा समेत आङ खस्ने समस्या देखिने गरेको  जोशीको भनाइ छ ।

    यकिन तथ्यांक भेटाउन नसके पनि पहाडी भु–भाग र विकट क्षेत्रका अधिकांश महिलाहरूमा आङ खस्ने तथा पाठेघरसम्बन्धी समस्या हुने गरेको उनले बताए र कम उमेरमा विवाह गर्ने, चाँडो बच्चा जन्माउने, जन्मान्तरको दूरी कम राख्ने, गर्ववती भएको बेला अत्यधिक मात्रामा गह्रौं प्रकारका काम गर्ने, पोसिलो खाना नखाने, सुत्केरी अवस्थामा स्वास्थ्मा ख्याल नगर्ने साथै लामे सुत्केरी व्यथा लागेको बखत  महिलाहरूमा अत्यधिक समस्या हुने गरेको जिल्ला अस्पताल पाँचथरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बुद्धी थापाको भनाइ छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology