वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुरुङले यस्तो घोषणा गरेका हुन् ।
कांग्रेसमा युवा पुस्ताको नेतृत्व गर्दै आफू उम्मेदवार बन्ने उनले बताएका छन् । १८ भदौबाट कांग्रेसको प्रदेश र स्थानीय तहको अधिवेशन सुरु हुँदैछ । गुरुङले पनि यसअघि नै आफू सभापतिको उम्मेदवार बन्न लागेको घोषणा गर्दै आएकोमा बुधबार औपचारिक रूपमा घोषणा गरेका हुन् ।
‘४६ देशमा मभन्दा कान्छा सरकार प्रमुख छन्,’ उनले भने, ‘नेपाली कांग्रेस युवाले नेतृत्व गरेको पार्टी हो । के ६० वर्ष मुनिकाले पार्टी चलाउन सक्दैनन ?’
कांग्रेसमा राणा शासनविरूद्धकाे आन्दाेलनदेखि नै युवाले नेतृत्व गरेकाे उदाहरण दिँदै उनले थपे, ‘विपी ३३ वर्षमा प्रधानमन्त्री हुनुभएको थियो । कृष्णप्रसाद भट्टराई युवा उमेरमै सभामुख हुनु भयाे । हालका सभापति शेरबहादुर देउवा पनि ५० वर्षकाे हाराहारीमै पहिले पटक प्रधानमन्त्री बन्नु भएकाे थियाे ।’
त्यसैले पार्टीकाे १४औं महाधिवेशनबाट युवा नेतृत्व आउनुपर्छ भनेर आफूले उम्मेदवारी दिन थालेकाे उनले बताए । ‘कांग्रेसमा नयाँ पुस्ता योग्य र सक्षम छ भनेरै मेराे उम्मेदवारी हाे,’ उनले भने । उम्मेदवारी घाेषणा कार्यक्रममा उनले सभापति भएपछि पार्टी विधानमा गर्ने सुधार, पार्टीलाई सबैकाे साझा बनउनका लागि गर्ने कामहरू, सबैका लागि अवसरकाे व्यवस्था लगायतका याेजनाहरू बारे बताएका थिए ।
आसन्न महाधिवेशनका लागि सभापतिमा उपसभापति विमलेन्द्र निधि र महामन्त्रीमा गगन थापा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij