मुगु । मुगुमा रहेको एउटा आवासीय विद्यालयमा भौतिक संरचना अभाव हुँदा विद्यार्थीहरू विगत दुई वर्षदेखि एउटै कोठामा बस्न बाध्य छन् । मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोग गाउँपालिका-३ ताखामा अवस्थित नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा भौतिक संरचना अभाव हुँदा दुई वर्षदेखि एउटै कोठामा सुत्न, पढ्न बाध्य भएका हुन् ।
सोही कारण उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरू एउटै कक्षा कोठामा पढ्न र बस्न बाध्य भएका हुन् । २०७६ मा स्थापना भएको यो विद्यालयमा भौतिक संचरना अभाव हुँदा पनि स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान नपुगेको विद्यालय प्रशासनले बताएको छ ।
चारदेखि ६ कक्षासम्म पढाइ हुने आवासीय विद्यालयमा संघीय सरकारबाट प्रतिविद्यार्थीलाई चार हजार रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ भने प्रदेश र स्थानीय सरकारबाट कुनै पनि सहयोग नभएको विद्यालयले बताएको छ । अहिले आवासीय विद्यालयमा दुई सय दुई विद्यार्थीले अध्ययनरत गरिरहेका छन् । विद्यालयमा गरिब विपन्न, टुहुरा, असहाय विद्यार्थी अध्ययनरत् छन् ।
यता, मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाकाअनुसार आवासीय विद्यालयको प्रगति, लयमा लिन, आवश्यक भवन निर्माणको लागि संघीय सरकारसँग पहल गरिरहेका छौँ, कुनै पनि सुनुवाई भएको छैन, विद्यार्थीको संख्या पनि उच्च रहेको छ थाम्नै सकिन्न जेनतेन गाउँपालिकाले खाना, कार्यालय सहयोगीलगायत कर्मचारीलाई पालिरहेको छ । 'अहिले गाउँपालिका मात्र नभई नगरपालिकाका विद्यार्थीहरु पनि अध्ययनरत गरिरहेका छन् । विद्यार्थीको आउने क्रम जारी छ । प्रदेश सरकारले पनि केही सुरसार गरेको छैन । विद्यार्थीलाई पढ्न, बस्न, खेल मैदान पनि धेरै समस्या छ', अध्यक्ष लामाले भने ।
विद्यालयमा भौतिक संरचना अभाव हुँदा स-साना विद्यार्थी खुला आकाशमुनि परीक्षा दिनसमेत बाध्य छन् । नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयका प्रधानाध्यापक कुशल शाहीकाअनुसार विद्यालयमा भौतिक संरचना अभाव हुँदा विद्यार्थीलाई एउटै कोठामा बसाल्न र एउटै बेडमा २–२ जना सुताउनुपर्ने बाध्यता छ । प्रधानाध्यापक शाहीले भने, 'विद्यालयमा भौतिक संरचना अभाव भएको स्थानीय सकारलाई बारम्बार भन्यौँ, तर सुनुवाइ भएन । अहिले प्रदेश सरकारले प्रत्येक विद्यार्थीलाई दिने मासिक चार हजार रुपैयाँबाट खर्च र कपडाको बन्दोबस्त मिलाई रहेका छौ ।'
२ वर्ष देखि सुताइ, पढाइ एउटै कोठामा
आवासीय विद्यालयको एउटै कक्षाकोठामा अध्ययनरत छात्रछात्रा ठाउँ अभावले दुई वर्षदेखि पढ्न र सुत्न बाध्य छन् । भवन अभाव हुँदा तलमाथि खटिया बनाई उनीहरू सुत्न र पढ्न बाध्य भएका हुन् । विद्यालयमा अध्यनरत विद्यार्थी योन्जोङ लामाले भने, ‘हाम्रो विद्यालयमा भवन अभाव हुँदा एउटै कोठामा पढिरहेका छौँ । धेरै साथीहरू हुन्छन् । पढ्न पनि डिस्ट्रब हुन्छ । मनै लाग्दैन । जानेको कुरा पनि बिर्सिन्छ ।’
शौचालय बिनाको विद्यालय
आवासीय विद्यालयमा कक्षा कोठामात्र नभई शौचालयको पनि अभाव छ । विद्यालयमा शौचालय नहुँदा अध्ययनरत विद्यार्थीले शौच गर्न झनै सास्ती खेप्दै आएका छन् । शौचालय अभावका कारण शौच गर्न वनपाखा धाउनुपरेको विद्यार्थीको गुनासो छ । विद्यालयमा एउटा मात्र अस्थायी शौचालय । त्यही शौचालय पनि प्याक हुने हुँदा कोही खोलाखाल्सी र कोही वनपाखा जाने गरेका छन् ।
मुगुम कार्मारोङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास रावलकाअनुसार आवासीय विद्यालयमा दरबन्दीको मुख्य समस्या छ । गाउँपालिकाको न्यून स्रोतका कारण शिक्षा शाखाले दरबन्दी सिर्जना गर्न नसक्ने अवस्था रहेको रावलले बताए ।
मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतकाअनुसार आवासीय विद्यालयमा भवन निर्माण भए पनि गति लिन सकेका छैनन् । गाउँपालिकाबाट ४० लाख र सामाजिक विकास कार्यालयबाट एक करोड रुपैयाँ बराबरको भौतिक संरचना निर्माण भइरहेको उनले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology