रेश्मा सिंह
काठमाडौं । मिर्गौलाभित्र पिसाब बनेर निस्कने बाटोदेखि मुत्रनली, मुत्रथैली र पिसाब बाहिर निस्कने ठाउँमध्ये कुनैपनि ठाउँमा पथ्थर जम्मा भएर बस्नुलाई मिर्गौलाको पथ्थरी भनिन्छ ।
कारण
मिर्गौलाको पथ्थरी हुने धेरै कारणहरु हुन्छन् । जसमध्ये मिर्गौलाको बनावट, जन्मजातै मिर्गौलामा कुनै समस्या भएमा, पथ्थर बनाउने क्याल्सियम र ओक्जालेटको मात्रा शरीरलाई चाहिनेभन्दा बढी भएमा, पानी कम पिउने गरेमा, पिसाबबाट इन्फेक्सन भएमा, अत्यधिक माछामासु खाँदा पनि पथ्थरीको समस्या हुन्छ ।
लक्षण
कतिपय पथ्थरहरुले केही समस्या नगरि बसेका हुन्छन् । तर नियमित स्वास्थ्य परीक्षण गर्दा थाहा हुन्छ । कतिपय केसमा पथ्थरहरु पिसाब नलीमा फसेपछि कोखा दुख्ने, पटक पटक पिसाबको संक्रमण हुने, धेरै पटक पिसाब लाग्ने, पिसाबबाट पथ्थर निस्कने, पिसाबमा रगत देखिने जस्ता लक्षण देखिन्छन् ।
लामो समयसम्म पत्थरीले पिसाबको बहावमा अवरोध भएमा पिसाबको संक्रमण हुने, मिर्गौला सुन्निने र मिर्गौला फेल हुनेसम्मको अवस्था आउँछ ।
उपचार
अफिस भित्रै बसेर काम गर्ने व्यक्तिहरुले २४ घण्टामा कम्तिमा ३ लिटर पानी पिउने र बाहिर काम गर्ने मानिसले ५ देखि ६ लिटर पिउन आवश्यक हुन्छ ।
प्रशस्त मात्रामा पानी पिउँदा शरीरमा पथ्थर बन्ने प्रक्रियामा रहेछ भने पनि पिसाबको माध्यमबाट बाहिर निस्कन्छ । पानी पर्यााप्त
पिउने बानीले शरीरमा पथ्थर जम्ने संभावना कम हुन्छ ।
पथ्थरी हुन नदिन के गर्ने ?
एक दुई घण्टाको फरकमा पानी पिउने
पिसाब रोक्ने बानी गर्नु हुँदैन
सागसब्जी धेरै खाने
नुनिलो खाने कुरा, जंकफुड, प्रशोधित खाने कुरा र धेरै मात्रामा अचार नखाने
यी सवाधानी अपनाऔँ
मासु धेरै खाने व्यक्तिमा पत्थरी हुने सम्भावना बढी हुन्छ । त्यसैले मासु बढी खाने बानी भए हरियो सागसब्जी पनि सोहीअनुसार बढी खाने गर्नुपर्छ ।
पथ्थरी हुनुको कारण पत्ता लगाउनु पर्छ । जस्तै युरिक एसिड बढी भएर पथ्थर भएको भएर त्यसकै उपचार गर्नुपर्छ ।
पत्थरीको शंका भएमा सकेसम्म चाँडो मिर्गौला रोग विशेषज्ञकहाँ गएर उपचारतर्फ नै लाग्नुपर्छ ।
मिर्गौलारोग विशेषज्ञ डा. प्रमोदकुमार क्षेत्रीसँगको कुराकानीमा आधारित
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij