Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

राजनीति देश र जनताको सेवाकै लागि हो : प्रदेश सांसद डिल्लीप्रसाद उप्रेती [अन्तर्वार्ता]

राजनीति देश र जनताको सेवाकै लागि हो : प्रदेश सांसद डिल्लीप्रसाद उप्रेती [अन्तर्वार्ता]

  • 965
    SHARES
  • राजनीति देश र जनताको सेवाकै लागि हो : प्रदेश सांसद डिल्लीप्रसाद उप्रेती [अन्तर्वार्ता]

    प्रदेश २ का सांसद डिल्लीप्रसाद उप्रेतीले निर्वाचित भएको करिब चार वर्षपछि यसैसाता आफूले सांसद भएर पाएको पारिश्रमिक र भत्ता जोडर सामाजिक काममा खर्च गर्नेगरी कोष खडा गर्ने घोषणा गरे । त्यत्तिमात्र नभइ उनले आफू साविक हरिवन गाविसको उपाध्यक्ष र अध्यक्ष हुँदा पाएको परिश्रमिकहरु पनि कोषमा जम्मा गर्ने भएका छन् । सामान्यतया कुनै पनि पदमा पुग्नासाथ त्यस पदमा पुगेपछिको पैसा नलिने घोषणा गर्ने चलन देखिएको छ । तर उप्रेतीले २९ वर्षअघि गाविस उपाध्यक्ष हुँदासमेतको रकम जोडेर कोष खडा गर्न थालेका हुन् । 

    images

    एमालेको उम्मेदवार भइ सर्लाही क्षेत्र नम्बर ३ (१) बाट विजयी उप्रेती जिल्लाका लोकप्रिय नेता हुन् । सर्लाहीबाट जितेका ८ प्रदेश सदस्यमध्ये सबैभन्दा बढी मत (२०२४६) उप्रेतीले ल्याएका थिए ।

    एमाले विभाजन भएपछि उप्रेती अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् । लामो समयदेखि कम्युनिस्ट राजीतिमा सक्रिय उप्रेतीले अहिले आएर अचानक किन सबै तलवभत्ता जम्मा गरेर कोष खडा गर्ने निर्णय गरे ? यी र अन्य राजनीतिक प्रसंगमा उप्रेतीसँग वेबटिभी खबरका सुरञ्जन घिमिरेले गरेको कुराकानीको संपादित अंशः

    सांसद भएको चार वर्षपछि अचानक कोष खडा गर्ने सोच कसरी आयो ? 

    केही अघि मेरो युरिन ब्लडरमा एक किसिमको क्यान्सरजस्तो देखिएर म बिरामी भएँ । भारतको दिल्लीमा जनस्तरबाट भएको सहयोगमा उपचार हुने ठाउँ छ भन्ने सुन्नमा आयो र मैले त्यहाँ गएर उपचार गराएँ । उपचार गरेर फर्केको दुई साता जति भयो । दिल्लीमा त्यो सुविधा देखेर आएपछि नेपालमा पनि यस्तो हुनुपर्छ भन्ने मलाई लाग्यो ।

    त्यत्रो धेरै रकम त मसँग छैन । तर आफ्नो तर्फबाट जे गर्न सकिन्छ मैले गर्नुपर्छ भन्ने मेरो दिमागमा आयो । अनि मैले छोराहरूसँग कुरा गरेर कान्छो र माइला छोराको आडभरोसामा ट्रस्ट स्थापना गर्ने निर्णय गरेँ । नयाँ दिल्लीको देखेर आएपछि मलाई नेपालमा पनि यो सुविधा हुनुपर्छ भन्ने भाव जाग्यो ।

    त्यसैले अहिले प्रदेश सांसद भएको बेलाको मात्र नभएर म २९ वर्षअघि गाविस उपाध्यक्ष त्यसपछि अध्यक्ष हुँदादेखि लिएको पारिश्रमिकसमेत जोडेर कोष खडा गर्न लागेको हुँ । सबै पैसा जोडेर करिब ३० लाख रुपैयाँको कोष खडा गर्न लागेको छु । 

    तपाईंलाई नयाँ दिल्लीमा जनस्तरबाट उपचारको हुने व्यवस्था देखेपछि कोष खडा गर्न प्रेरणा जागेको हो ? 

    हो । कुनै कुरा देखपछि हामी पनि यस्तो गर्न सक्छौं भन्ने सोच आउने रहेछ । मैले त्यहाँ यस्तो सुविधा देखेपछि नेपाल गएपछि केही न केही थालनी गर्छु भन्ने सोचें । हामीले राजनीति गरेको पनि देश र जनताको सेवाकै लागि हो । जनताको सेवाकै लागि यो कोष पनि खडा गरेर अघि बढ्छु ।

    यो कोषमा जम्मा भएको रकमबाट कस्तो मानिसले सहयोग पाउन सक्छ ? 

    यसले मुख्यगरी द्न्द्वपीडित, एकल महिला, दुर्घटनाका घाइते, अपांग, असहाय, अशक्त, सुत्केरी, अभिभावकबिहीन बालबालिका साथै गरिब परिवारका सदस्यको उपचारमा आर्थिक सहयोग गर्ने छ । 

    यसका साथै जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय भर्ना गर्ने, मासिक शूल्क तिर्ने लगायतका काम पनि गर्छ । मैले केही साथीहरूसँग मिलेर आफैँ संरक्षक बसेर यो ट्रस्ट चलाउने सोचेको छु । यो मेरो तर्फबाट समाजका लागि केही होस भनेर थालिएको सकारात्मक कामको सुरुवात हो । 

    यो ट्रस्टमा तपाईंको आफ्नै पारिश्रमिक मात्रै कोषका रूपमा रहन्छ वा अरू दातृ निकाय र व्यक्तिले पनि सहयोग गर्न सक्छन् ?

    सुरुमा मेरो पारिश्रमिकमात्र रहन्छ । तर विस्तारै सहयोगी मन भएका दाताबाट र परिवारकै अन्य सदस्यबाट सहयोग लिन मिल्ने व्यवस्था गरिनेछ । ट्रस्ट ठूलो हुन्छ, सबैको सहयोग मिल्छ, धेरैलाई फाइदा पुग्छ भने किन सानो मन गर्ने ? मेरो उदेश्य भनेको धेरैभन्दा धेरैले सहयोग पाउन सकुन भन्ने हो । त्यसका लागि बढी रकम चाहिन्छ । त्यसैले सबैले सहयोग दिन मिल्ने व्यवस्था मिलाउँछु ।

    यो मेरो एक्लो प्रयासले स्थापना हुन लागेको ट्रस्ट भएकाले अहिलेलाई पारिश्रमिकस्वरूप सरकारबाट मैले पाएको रकम यहाँ जम्मा गर्नेछु । मैले खाजा, यातायात, बैठक भत्ताजस्ता शीर्षकमा राज्यबाट जति पनि रकम पाउँछु त्यो सबै यही ट्रस्टमा लगाउनेछु ।

    सरकारले पनि अशक्त, असहाय, विपन्न परिवारलाई सहयोग र राहत दिँदै आएको बताएको छ । यस्तो अवस्थामा एकजना सांसद्ले सहयोग ट्रस्टको किन आवश्यक पर्‍याे ?

    गाउँमा सबैतिर सरकारको आँखा नपुगेको हुनसक्छ । त्यसैले जनप्रतिनिधिको हिसाबले मैले व्यक्तिगत रूपमा ट्रस्टको स्थापना गरेको हुँ । अहिले सर्लाही जिल्लामा धेरै असहाय र विपन्न परिवार हुनुहुन्छ, जहाँ सरकारको सहयोग पुग्न सकेको छैन । मेरै गाउँमा एकजना समाजसेवी सरोज खनालले असहाय बालबालिकालाई सहयोग गर्दै आउनु भएको थियो । करिब दुई साताअघि उहाँको निधन भयो । खनालजीको निधनपछि बालबालिकाको बिजोग छ । तीजस्तै थप बालकालिकालाई अहिले सहयोगको जरुरी छ । 

    मलाई व्यक्तिगत रुपमा घर चलाउन आर्थिक समस्या छैन् । यहाँकै जनताले मलाई जिताउनु भएको हो, मेरो पनि त जनताप्रतिको कर्तव्यहरु छन् । मैले सक्दो सहयोग गर्नुपर्छ । मेरो भित्रि मनबाट समाजसेवा गरूँ भन्ने सोच आएर मैले ट्रस्ट स्थापना गर्ने भएको हुँ ।

    ट्रस्टले तपाईंको निर्वाचन क्षेत्रका मात्र वा सर्लाही जिल्ला र देशभरिकालाई सहयोग गर्ने हो ?

    यसको प्राथमिकता चाहिँ मैले चुनाव जितेको प्रदेश निर्वाचन क्षेत्र हो । आवश्यकता हेरेर लक्षित वर्ग सबैलाई सहयोग हुन्छ नै । 

    ट्रस्ट निर्माणको प्रक्रिया कहाँ पुग्यो ?

    ट्रस्टको विधान बनाउने काम भइरहेको छ । सुरुमै ट्रस्टको भवन बनाइने छैन । अहिले ट्रस्ट दर्ताका लागि कानुनी र प्रशासनिक तयारी भइरहेको छ । दुई, तीनजना साथीहरू मिलेर विधान लेखनको काम गरिरहनु भएको छ । म अहिले अस्वथ्य छु । उपचारका लागि फेरि भारतको नयाँ दिल्ली जाँदैछु । उपचारबाट फर्केर आएपछि सबै तयारी पूरा गरिने छ । केही महिनामै ट्रस्ट औपचारिक रूपमा सञ्चालनमा आउँछ । 

    सांसद् निर्वाचित हुनुभएको झण्डै चार वर्षपछि ट्रस्ट स्थापनाको घोषणा गर्नु भएको छ । यो कतै आसन्न आम निर्वाचनलक्षित कार्यक्रम त होइन ?

    यो विशुद्ध समाजसेवा हो । यो ट्रस्ट खोलेर चुनाव जितौंला भन्ने मेरो लक्ष्य होइन । पार्टीले भन्यो र साथीभाइ, मतदाताले साथ दिनु भो भने चुनाव जितिहालिन्छ, त्यो ठूलो कुरा भएन । तर चुनाव जित्ने मानसिकता राखेर मैले समाजसेवा गर्न खोजेको होइन । चुनावी रणनीतिसँग यसको कुनै कनेक्सन छैन ।

    एमाले छाडेर नेकपा एस गठन भएकै बेला तपाईंको यो निर्णय आयो नि ? 

    म नेकपा एसमा छु । राजनीतिमा हुनु भनेको समाजसेवामा नै हुनु हो । पार्टी लोकप्रिय हुन एकजनाको मात्र भूमिकाले हुँदैन । माथिदेखि तलसम्मका साथीहरूको सक्रियता भयो भनेमात्रै पार्टी लोकप्रिय हुने हो । 

    यो ट्रस्ट त एकदमै निस्वार्थ रुपमा खोलिएको हो । म भर्खरै दिल्लीमा उपचार गर्न जाँदा यी सबै सुविधाहरू त्यहाँ देखेर आएलगत्तै यो घोषणा गरेको हुँ । संयाेगले पार्टी फुटेकाे बेला परेकाे मात्र हाे ।

    सर्लाहीमा नेकपा एसको अवस्था कस्तो छ ?

    एमाले नेताहरूको इगो र एकअर्काको असहिष्णुताका कारण पार्टी फुटेको हो । पार्टी फुट्नुमा नीतिगत रूपमा ठूलो कारण छैन । ठूलो परिवार भएपछि सदस्य छुट्टिएजस्तै हो, अहिले एमाले फुटकाे अवस्था ।

    हाम्रो पार्टी गतिलै थियो, फुट्यो । केही साथीहरू एमालेमा, केही साथीहरू नेकपा एसमा हुनुहुन्छ । अहिले नेकपा एसमा रहे पनि दल विभाजनले कसैलाई फाइदा गर्दैन भन्ने पक्षमा छु म । जिल्लामा एमाले र नेकपा एस दुबै पार्टीमा साथीहरूको राम्रै उपस्थिति देखिएको छ । भेलाहरू पनि उत्तिकै मात्रामा देखिएको छ । एमालेमै रहने र एसमा आउने क्रम चलिरहेकै छ । अहिले नै ठ्याक्कै यति संख्यामा सदस्य देखिनुभयो भनेर भन्ने अवस्था छैन । आगामी निर्वाचनसम्ममा साथीहरूको कित्ता क्लियर हुने नै छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology