एजेन्सी– स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको समुह चरणको खेलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ। खेलको अन्त्यतिर सब्सिच्युट ब्राजिली युवा विंगर रोड्रिगोले गोल गरेपछि रियलले घरेलु टोली इन्टरलाई १–० ले पराजित गरेको हो ।
बराबरीतर्फ धकेलिएको खेलको ८९औं मिनेटमा रोड्रिगोले विजयी गोल गरेका थिए। रोड्रिगोको कटब्याकमा अर्का सब्सिच्यट इडुआर्डो कामाभिंगासँगको समन्वयमा रोड्रिगोले गोल गर्न सफल भएका थिए । रोड्रिगो ६५औं मिनेटमा लुकास भास्क्वेजको स्थनमा तथा कामाभिंगा ८०औं मिनेटमा लुका मोड्रिचको स्थानमा मैदान छिरेका थिए ।
यही समूह ‘डी’ को अर्को खेलमा मोल्दोभाको एफसी सेरिफले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गरेको छ । पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको सेरिफको जितमा एडमा ट्राओरे र मोमो यान्सेनले गोल गरे । सेरिफले दुवै हाफमा गोल गरेको थियो ।
यो नतिजापछि सेरिफ ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि रियल दोस्रो स्थानमा रहेको छ । इन्टर साख्तरले अंकको खाता खोलेका छैनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij