सर्लाही । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले किसानलाई मलखाद्यको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
कृषि प्रधान देश भएकाले कृषि क्षेत्रलाई उपेक्षा हुन नदिनेमा आफू प्रतिवद्ध रहेको उनले बताए । प्रेस मन्च नेपालले सोमबार सर्लाही सदरमुकाम मलंगवामा गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले कृषि क्षेत्रमा बजेटको अभाव रहेको स्पष्ट पार्दै बजेट बढाउनु जरुरी रहेको बताए ।
पत्रकारको प्रश्नमा उनले मलखाद्यको अभाव हुन नदिन सरकारले जिटुजीमार्फत खरिद गरी किसानलाई उपलव्ध गराउने बताए । ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो,’ मन्त्री यादवले भने, ‘त्यसैले यो क्षेत्रलाई बलियो बनाउन जरुरी छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सरकारले कदम चाल्ने छ ।’
२० वर्षे कृषि नीति बनेको उल्लेख गर्दै यादवले खेतीलाई आधुनिकिकरण गर्ने र उत्पादनको खपतकाे सुनिश्चितता गरिने बताए । कृषिमा बजेटको अभाव भएकाले बजेट बढाउनु जरुरी रहेकाे उनले औंल्याए ।
कृषि प्रधान देशमा अन्य मुलुकबाट खाद्यान्न आयात भइरहेको अवस्थालाई अन्त्य गर्नुपर्ने उल्लेख गर्दै मन्त्री यादवले भने, ‘कृषि क्षेत्र सबल नभइ हुँदैन । क्रमशः कृषि उत्पादनमा आत्मनिर्भर बनाउने अभियान सरकारले सुरु गर्छ ।’
त्यसका लागि माटो परीक्षणको सुविधा, किसानको उत्पादनको मूल्य तोक्ने, उत्पादन खरिदको जिम्मेवारी सरकारले लिने, आयातित खाद्यान्नलाई निरुत्साहित गर्दै नेपाली उत्पादनलाई अघि बढाइने मन्त्री यादवले बताए ।
‘नेपाललाई प्रकृतिले पनि साथ दिएको छ,’ उनले भने, ‘नेपाल यस्तो उर्वर भूमि हो, जहाँ उचाइमा पनि धान फल्छ । यस्ताे उर्वर भूमिको सदुपयोग गर्दे कृषि उत्पादनमा हामी आत्मनिर्भर बन्नु पर्छ र सक्छाैं पनि ।’
सर्लाहीबाट प्रतिनिधिसभा चुनाव जितेका यादवले सर्लाहीकै उखु किसानले भुक्तानी नपाएको सन्दर्भलाई पनि गम्भीरतापूर्वक लिए । उनले किसानलाई छिटै सबै भुक्तानी दिलाइने बताए ।
‘चिनी मिलले उचित मूल्य र समयमा भुक्तानी नदिने समस्या देखियो,’ यादवले भने, ‘भुक्तानीका लागि आन्दोलन गर्दा गर्दै किसानको मृत्युसमेत भयो । किसानलाई दिन बाँकी भुक्तानी छिटै दिलाउँछौं ।’
पैसा नदिने मिलको पहिचान भइसकेकाले किसान पनि सचेत हुनुपर्ने उनले औंल्याए । ‘सबै मिलले पैसा नदिएका होइनन, पैसा दिने मिल पहिचान गरेर किसानले उखु बेच्नु पर्छ,’ उनले भने, ‘बिचौलियाबाट पनि किसान बच्नु पर्छ । बिचौलियाका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन् ।’
अर्काे प्रसंगमा उनले विशेष परिस्थितिम अहिले बनेको सत्ता गठबन्धन लामो समय रहने दावी गरे । ‘हामी चाहन्छौं यो गठवन्धन लामो रहोस,’ उनले भने, ‘स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावसम्म यो गठवन्धन कायम रहनुपर्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij