Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

हामीले चाहेको राजनीतिक परिवर्तन यस्तो थिएनः भवानी क्षेत्री [कुराकानी]

हामीले चाहेको राजनीतिक परिवर्तन यस्तो थिएनः भवानी क्षेत्री [कुराकानी]

  • चैत्र ७, २०७७ शनिवार १२:०४ बजे
  • 1.6K
    SHARES
  • हामीले चाहेको राजनीतिक परिवर्तन यस्तो थिएनः भवानी क्षेत्री [कुराकानी]

    नेपाली साहित्य क्षेत्रमा चिनिएको नाम हो भवानी क्षेत्री । ४० को दशकदेखि निरन्तर साहित्य सिर्जना गर्दै यही क्षेत्रमा रमाइरहेकी छिन् उनी । 

    images

    सुनामी (कविता संग्रह, ०५६), उजेलीहरू, (कथा संङग्रह ०६०) र आमाहरू (निबन्ध संग्रह ०६८) उनका प्रकाशित कृतिहरू हुन् ।

    विभिन्न साहित्यिक आन्दोलन, साहित्यिक र सांगीतिक संघ-संस्थामासमेत आवद्ध रहँदै उनी साहित्यिक सिर्जना गर्दै आएकी छिन् ।

    नेपालको पूर्वी क्षेत्रलाई आफ्नो कर्मथलो बनाइरहेकी क्षेत्री भारतको सिक्किम, दार्जिलिङ क्षेत्रका कवि, लेखक र साहित्यिकहरुसँगसमेत परिचित छिन् ।

    लैगिंक समानता, वर्गीय विभेदको अन्त्य र न्यायपूर्ण समाजको पक्षमा उभिँदै प्रगतिशील विचारधारालाई अंगाल्नु उनका रचनामा पाइने प्रवृत्ति हुन् । उनै क्षेत्रीसँग निकट अतित र वर्तमान नेपाली साहित्य र राजनीतिका सेरोफेरोमा केन्द्रित भई वेबटिभी खबरले गरेको संक्षिप्त कुराकानी:

    तपाईं कुनै समय कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुन्थ्यो, हाल चुपचाप हुनुहुन्छ किन ? 

    हो केही समय म सक्रिय थिएँ । पछि मलाई लाग्यो मसँग राजनीति गर्ने कला छैन ।
    ढाट्ने, झूट बोल्ने, अरूको भावनाको कदर नगर्ने, चाकडी गर्नेजस्ता कला मैले जानिनँ । मभित्र पद र पैसाको भोक लोभ आशक्ति पनि रहेनछ । त्यसैले चुपचाप बसें ।

    भवानी क्षत्री नेपाली साहित्यमा सशक्त नारी हस्ताक्षर हुन् भन्नमा कुनै शङ्का छैन, तर हिजोआज तपाईं साहित्य सिर्जनातिर त्यति सक्रिय देखिनु हुन्न किन होला ? आमाहरू ०६८ पछि तपाईंको कुनै साहित्यिक कृति पाठकसामु आएन, लेख्नलाई पुरै छोड्नु भएको हो कि प्रकाशन नगर्नु भएको हो ?

    म सशक्त होइन सिकारु थिएँ । अझै सिक्दैछु । साहित्य सिर्जना गरिरहेकी छु । पुस्तकहरू तयार छन् प्रकशनका निम्ति । बजारमा नल्याएकी मात्र हुँ । लेखकहरूको हालत देखेकी छु । पुस्तक प्रकाशन गर्दै बाढ्ने पक्षमा म छैन । प्रकाशकहरू भेटेँ भने कथा कविता, निबन्ध, मुक्तकका चार पुस्तक तयार छन् । नाम लिन्नँ तर एउटा नाम चलेको प्रकाशन संस्थाले छाप्ने भने पनि हाल फोन पनि उठाउँदैनन् । सायद आन्तरिक केही लेनदेनका कामहरू हुन्छन् होला जो मलाइ थाहै छैन ।

    तपाईंलाई ०४६ सालको ओन्दोलनबारे राम्रो थाहा छ, तपाईं पनि त्यो आन्दोलनमा सहभागी हुनुभएको थियो । तर हिजो आज राजनीतिमा पनि निस्क्रिय देखिनु भएको छ, किन यस्तरी सुस्ताउनु भयो ? 

    यसको जवाफ माथि आई सकेको छ । थप भन्नू पर्दा राजनिती छोडेर आजसम्म पछुताउनु परेको ेछैन । म चाहन्थेँ पछुतो होस् मलाई । तर त्यस्तो केही भएन ।
    हिजो आज त धन्न छोडेँछु भन्ने लाग्छ । अचम्म लाग्छ मलाई राजनीति गर्नेहरूले कसरी जनताको सामना गर्छन् कोनी ? आन्दोलनमा सहभागी अरू पनि सक्रिय छैनन् । मजस्तै चुपचाप बस्ने धेरैछन् ।

    तपाईंले साहित्य लेख्न सुरू गर्दै गर्दा र आजको समयसम्म आइपुग्दा देशको राजनीतिक, सामाजिक, आर्थिक, लैंगिक, साहित्यिकलगायत विविध पाटाहरूमा कस्तो परिवर्तन देख्नुहुन्छ ? 

    समाजका हरेक क्षेत्रमा विशाल परिवर्तन आएको छ । ती परिवर्तनहरू सकारात्मकभन्दा नकारात्मक धेरै छन् । हामीले चाहेको राजनीतिक परिवर्तन यस्तो थिएन । समाजमा नैतिकता इमान्दारिता डर भन्ने कुरा थोरै पनि रहेन । समाज ठुला घर र साना मनले भरिएको छ आज । आर्थिक हिसाबले पनि उभो लाग्न सकेन देश । लैंगिक विभेद उस्तै छ । साहित्यकारहरू बढेका छन् तर पाठक घटेको महशुस गर्दैछु भन्दा पनि बेठिक हुँदैन तर म त्यसो भन्दिनँ । मैले लेख्न सुरु गर्दा महिला उपस्थिति एकदमै कम थियो । आज थुप्रै दिदीबहिनी लेखनमा हुनुहुन्छ । यो खुसीको कुरा हो ।

    अहिलेको नेपाली साहित्य क्षेत्रमा आएकामध्ये तपाईंले पछिल्लो समय पढ्नु भएको र राम्रो लागेको कृति कुन हो ? तपाईंलाई मन पर्ने साहित्यिक विधा र किताब कुन हो ?

    हाल रामेस दाइको जीवनी पढ्दैछु । पढेर बिर्सन नसकेको किताब ‘द गुड अर्थ’को नेपाली अनुवाद ‘कल्याणी धरती’ हो । मलाई कथा, कविता, उपन्यास, निबन्ध मन पर्छ । त्यसमा पनि सबैभन्दा बढी उपन्यास र आत्मपरक निबन्ध पढ्न रुचाउँछु म ।

    तपाईंलाई नेपालको पूर्वी क्षेत्र विशेष गरी दार्जिलिङ, सिक्किमको साहित्यिक गतिविधिबारे पनि थाहा छ । त्यहाँको साहित्यबारे केही कुरा राख्दिनुस् न । 

    नेपाली भाषाको उत्थन र विस्तारका निम्ति भारतमा बसेका नेपालीभाषीहरूको राम्रो योगदान छ । उहाँहरू साहित्यमा अनवरत लागिराख्नु भएको छ । 

    तपाईं राष्ट्रिय स्तरमा चिनिएर पनि झापालाई नै कर्मथलो बनाइरहनु भएको छ । अहिले झापा र विशेष गरी प्रदेश नम्बर १ को सहित्यिक गतिविधि कस्तो पाउनु भएको छ ?

    मलाई सहरभन्दा गाउँ मनपर्छ । जीवनयापनका बाध्यताले सहर बस्नै पर्छ । देसभरिमा झापा जति राम्रो कहीँ लागेन मलाई । त्यसैले यो राम्रो ठाउँ छोड्न सकिनँ । प्रदेश नं. १ को साहित्यिक गतिविधि आशलाग्दो छ । युवा पीँढीको आगमन बढेकोछ । यतिलाई राम्रो छ भन्न पर्छ ।

    बिर्तामोडमा व्यवस्थित पुस्तकालय चाहियो भनेर युवाहरूले बेलाबेलामा आवाज उठाइरहनु भएको पाइन्छ । अहिले इन्टरनेटको सुविधा र ई-बुकको उपलब्धताले पुस्तकालयको आवश्यकतालाई मधुरो बनाउँदै लगेको हो ?
     
    अहिले पनि उत्तीकै आवस्यक छ पुस्तकालयको । अघिल्ला पुस्ताका धेरै साहित्यकारहरूको इन्टरनेटमा पहुँच छैन । अघिदेखि हामीले पनि पुस्तकालय आवश्यक ठानेका हौं । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology