काठमाडौं । ब्राजिलका युवा स्टार भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियल मड्रिडले इल्चेलाई पराजित गरेको छ । रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली इल्चेलाई २–१ ले हराएको हो। इल्चेसँगको जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ। इल्चेका लागि पेरे मिल्लाले एक गोल फर्काए ।
इल्चेको मैदानमा शनिबार राति भएको खेलमा रियलले खेलको १८औं मिनेटमा अग्रता लिएको थियो । भिनिसियस जुनियरले मारियानो डियाजको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । ६३औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । राहुल गुटी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो ।
त्यसको १० मिनेटपछि भिनिसियसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । भिनिसियसले लुका मोड्रिचको पासलाई सदुपयोग गरेका थिए । ८६औं मिनेटमा पेरे मिल्लाले डारियो बेनेडेटोको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।
जितपछि रियल ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित इल्चे १० अंक जोडेर १५औं स्थानमा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij