वेबटिभी खबर
काठमाडौं । बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको छ । भोलिको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने तयारी समेत गरेका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता पाण्डे गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।
सभामुखसहित प्रदेशसभामा एक सय ९ मत रहेको छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ ।
माओवादी र कांग्रेसले चार–चार मन्त्रालय र एक–एक राज्यमन्त्री मागे पछि मन्त्रालय फुटाएर भागबण्डा मिलाउने प्रयासमा मुख्यमन्त्री पाण्डे छन् । पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल कँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाल मन्त्री बनेका छन् । प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर १२ पुर्याउने र चार जना राज्यमन्त्री पनि नियुक्त गर्ने गरी सरकार विस्तारको तयारीमा गठबन्धन जुटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij