Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

इमान्दार जनप्रतिनिधि सफल हुन्छन् : गणेश प्रसाद प्रसाईं, मेयर [भिडियो अन्तर्वार्ता]

इमान्दार जनप्रतिनिधि सफल हुन्छन् : गणेश प्रसाद प्रसाईं, मेयर [भिडियो अन्तर्वार्ता]

  • 858
    SHARES
  • इमान्दार जनप्रतिनिधि सफल हुन्छन् : गणेश प्रसाद प्रसाईं, मेयर [भिडियो अन्तर्वार्ता]

    सर्लाही जिल्लाको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं जिल्लामै सफल मेयरको रूपमा चिनिएका छन् । जनप्रतिनिधि आएपछि हरिवनमा भएका विकास देशभरकै लागि उदाहरणीय बनेको छ । प्रस्तुत छ प्रसाईंसँग स्थानीय सरकार सञ्चालनको चार वर्षे अनुभवबारे गरिएको कुराकानीको सम्पादित अंश :

    अधिकार सम्पन्न स्थानीय सरकारको चार वर्ष नेतृत्व गर्नुभयो । कस्तो रह्यो तपाईंको यो कार्यकाल ?

    स्थानीय चुनाव भएपछि जनताले अब आफ्नो सरकार आयो, अब अँध्यारोमा बस्नु पर्दैैन । प्रत्येकका घरमा खानेपानीका धारा हुनेछन् । सिफारिस गर्न पनि सजिलो हुन्छ । आआफ्नो ठाउँमा वडा कार्यालयहरू स्थापना हुन्छन् । बाटाघाटा चिल्ला सफा बन्छन् । अस्पपताल बन्छन् । हाम्रा विभिन्न पेसाहरू पनि व्यवस्थित हुन्छन् । कृषि, पशुपालन, तरकारी, फलफूल गर्नेले अनुदान र अन्य सबै सेवासुविधा हामी पाउँछौं । जनताको इच्छाशक्ति, महत्त्वकांक्षा यस्तो भयो कि निर्वाचन सकिनासाथ हाम्रा सुविधाहरू यहीँबाट प्राप्त गर्छौं र सम्पन्न भैहाल्छौं भन्ने जनताको आशा रह्यो । अनि हामी नयाँ । स्थानीय सरकारमा पहिलोपटक निर्वाचित । हामी आफैंले ऐन, कानुन, बनाउने, आफ्नो पस्थिति सुहाउँदो नीतिगत कामहरू पनि गर्ने । स्थानीय सरकार भने पनि प्रधानमन्त्रीय पद्धति जस्तो हुँदैन । विभिन्न दलबाट निर्वाचित भएर वडाबाट प्रतिनिधिहरू आउने, कार्यपालिका बन्ने, मेयर र उपमेयर नै फरक पार्टीबाट निर्वाचित हुन सक्ने, ट्युनिङ पनि मिल्न नसक्ने । राम्रो प्लान पनि गर्न नसक्ने ।

    कर्मचारीहरूमा त्यस्तै भाव । स्थानीय सरकार आयो । हामी उहाँहरूको मातहत बस्नुपर्छ । हिजो हामी नै हाकिम थियौं । जनप्रतिनिधि आएर हामीलाई के-के गर्ने हुन् ? अब हाम्रा दायित्वहरू धेरै छन्, हामी पुरा गर्छौं भनेर आयौं । हाम्रो बजेट सिलिङ आयो । त्यो प्राप्त गरेपछि त्योभित्र रहेर कामका प्राथामिकताहरू तोकिए । हामीले निर्णय गर्‍याैं । जुन गाउँमा एम्बुलेन्स जाँदैन । जुन गाउँमा मान्छे अध्यारोमा बसेका छन् । जुन गाउँमा बिरामी पनि तन्नामा बोकेर ल्याउनुपर्छ । त्यस्ता ठाउँहरूमा एम्बुलेन्स पुर्‍याउनुपर्ने चुनौती थियो ।

    गणतन्त्रपछि पहिलो अधिकार सम्पन्न स्थानीय सरकार गठन एउटा नयाँ संरचना थियो । सुरुवातमा काम गर्न कत्तिको कठिन भयो ?

    सुरुमै कर्मचारी र जनप्रतिनिधिहरूको बैठक राखें । त्यहाँ मैले एउटै कुरा भनें, हिजो जे-जे गर्नु भएको थियो, जे भएको छ छोडिदिनूस् । अब तपाईंहरूले नराम्रो गर्ने सपना नदेख्नूस् । कुनै भावना नै नबनाउनुस् । सबैभन्दा पहिले हामी इमान्दार हुनुर्‍याे । इमान्दार मान्छेलाई प्रश्न उठाउने ठाउँ हुँदैन । इमान्दार भइसकेपछि अरू सबै काम राम्रो हुन्छ भन्ने सुरुवात मैले गरें । मसँग राम्रो टिम पनि निर्वाचित भयो । जनप्रतिनिधिहरूलाई पनि मैले हामी जनताका जनप्रतिनिधि हौं । हामी जनताप्रति जवाफदेही भएर काम गर्नुपर्छ । हामी साझा भएर काम गर्नुपर्छ । उहाँहरूसँग मैले यस्तो खालको भावना साटेपछि उहाँहरू पनि सहमत हुनुभयो ।

    कर्मचारी साथीहरूलाई पनि हिजोभन्दा आज काम गर्न सजिलो हुन्छ । हिजो एक्लै काम गर्नुहुन्थ्यो । आज जनताको प्रतिनिधि पनि छन् । तपाईंहरूलाई कुनै संकट आउँदैन । तपाईं इन्मान्दार भएर काम गर्नूस् । तपाईं कानुनको परिधिभित्र बसेर काम गर्नुस् । हामी पूर्ण रूपमा सहयोग गर्छौं । हामी नीति बनाउँछौं । तपाईंहरूले कार्यान्वयन गर्नुपर्छ भनेपछि जुन खालको चुनौती हामीले सोचेका थियौं काम गर्दै जाँदा मलाई सबैतिरबाट सहयोग प्राप्त भयो । भइरहेको छ । जनताको काम गर्नका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक पार्टी, नागरिक समाज सबैलाई खुला दिलले आह्वान गरें । त्यो आह्वानपछि नगरपालिकाले गति लिन थाल्यो । नगरपालिकाले बजेट योजना बनाउन थाल्यो । हामी सफल रूपमा अगाडि बढिरहेका छौं ।

    तपाईं मेयर भएपछि हरिवन नगरपालिकामा कस्ता परिवर्तनहरू गर्नु भयो ? चार वर्ष अघिको हरिवन र अहिलेको हरिवनमा के फरक छ ?

    हरिवन नगरपालिकामा वडा कार्यालय थिएनन् । वडाबाटै जनतालाई सेवा दिनुपर्ने भएको हुनाले भाडाको घर लिएर पनि वडाको कार्य सम्पादन गर्‍याैं । नक्सामा देखाइएका तर व्यवहारमा नभएका मिचिएका बाटाघाटाहरू निकाल्ने काम गरें । सडकलाई २० फिटको मापदण्ड अनिवार्य गरें । धेरै ठाउँमा यस्तो हिम्मत गरेको देखिँदैन । अहिले हरिवन नगरपालिकामा २० फिटभन्दा घटीका बाटा भएको जमिन कित्ताकाट नहुने स्थिति सिर्जना भयो । यसले अब ५० औं वर्ष ढुक्क भएको छ । नक्सामा उल्लेखित भएर मिचिएका बाटाहरू समाजका सम्पत्ति हुन् । सबै बाटा निकाल्ने काम गरियो । सार्वजनिक, ऐलानी जग्गा निकालेर सुरक्षित राख्ने काम गरेका छौं ।

    तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने कामहरूको समीक्षा विभिन्न विज्ञहरू बोलाएर गर्‍याैं । जनताको राजश्वका विषयमा धेरै नगरपालिकाहरू विवादमा पर्ने गरेको देखिन्छ । हामीले सबैसँग राजश्व लिने तर थोरै लिने नियम बनायौं । नगरपालिकाका आन्दानीका स्रोतहरू जुटायौं । नगरपालिका भएपछि बाटोघाटो राम्रो बनाउनु पर्‍याे । १०१ किलोमिटर सडक कालोपत्रे गरेका छौं । कुनै एउटा पालिकाले आफ्नो पहलमा १०१ किलोमिटर सडक कालोपत्रे गर्ने भनेको कुनै जोक होइन । चार वर्षे कार्यकालमा हामीले दीगो विकास लक्ष्य बनाएर जनताका समस्याहरू पहिचान गरेका छौं । जहाँ समस्या त्यहाँ समाधानको नीति अबलम्बन गरेका छौं ।

    हामी कुनै गाउँमा २०/२५ घर गरिब छ तर त्यहाँ खानेपानीको सुविधा छैन भने हामीले तुरुन्तै खानेपानीको व्यवस्था गरिहाल्ने । बाढीपीडितकोमा पुग्दा पनि उस्तै समस्या छ । बजेट छैन भने तुरुन्ते बजेट व्यवस्थापन गरेर काम गर्छौं । कुनै गाउँ कटान हुन थाल्यो भने त्यहाँ तटबन्ध लगाइ हाल्छौं । जहाँ जस्तो समस्या छ त्यहाँ त्यस्तै समाधान गर्नुपर्छ । स्थानीय सरकारको भावना जनताको मर्मसँग जोडिन्छ । हामीले काम गर्दा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार बजार र बाटाघाटा यिनै कुराहरूलाई बढी फोकस गर्‍याैं । सीपमूलक कामहरू पनि गर्‍याैं । सीमित स्रोत र साधनकाबीच ४ वर्षभित्र इच्छाशक्ति बनाएर इमान्दारीताका साथ समस्या पहिचान गरेर काम गरेकाले जनताको कुनै गुनासो आएको छैन ।

    स्थानीय सरकार बनेपछि गाउँमै सिंहदरवार पुग्यो भनेर पनि भनियो । मेयरको आँखाबाट हेर्दा के साँच्चै गाउँमा सिंहदरवार पुगेको हो ? कि स्थानीय सरकारलाई अझै केही अधिकारहरू थप्नु पर्ने देख्नुहुन्छ ?

    स्थानीय तहमा अधिकार व्यवस्थित गर्नुपर्छ । बजेट थप्नुपर्छ । बजेट थपियो भने जनताका चाहना अझ पुरा गर्न सकिन्छ । कोभिड-१९ महामारीमा स्थानीय सरकार सवल ढंगले लाग्दैनथ्यो भने भयाभव रूप लिने स्थिति थियो । त्यसैले त्यो सबै कुरा पुरा गर्नलाई योजना चाहियो । संघीय सरकारबाट प्राप्त भएका बजेटहरू सहि सदुपयोग हुनुपर्‍याे । ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने एकदमै राम्रो कुरा हो । जनताले अनुभूति गरिरहेको छ । आलोचना र विरोध केही ठाउँमा होला । जनप्रतिनिधिको पनि क्षमताको कुरो छ ।

    राजनीतिक परिस्थितिको पनि कुरो आउँछ । राजनीतिक खिचातानीले पनि काम गर्न अफठ्यारो हुन सक्छन् । त्यस्ता विषयहरू छोड्ने हो भने । ‘गाउँ गाउँमा सिंहदरबार’ चैं विकासका लागि सिंहदरबार भनिएको हो । गाउँ-गाउँमा राजा रजौटाहरूको निर्माण भएका भन्ने कोणबाट पनि प्रश्नहरू आउने गर्छ । त्यस्तो सोच नराखी हाम्रा सेवकहरू हुन् भन्नुपर्छ । यो व्यवस्थालाई व्यवस्थित गर्न पनि हामी जवाफदेही र जिम्मेवार भएर काम गर्नुपर्छ । कुनै पनि पालिका प्रमुखसँग भिजन, क्षमता र काम गर्न आँट छ भने धेरै काम गर्न पनि सक्छ । यो ४ वर्ष जनताले अनुभूति हुने गरी स्थानीय तहले गरेको कामबाट वास्तबमा सिंहदरकार घरमा आएको अनुभूति भएको छ भन्ने विश्वास लिएको छु ।

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको कामअनुसार १५ हजार तलब पनि कम हो : गणेश प्रसाद प्रसाईं, मेयर [अन्तर्वार्ता] इसीडी शिक्षक र विद्यालय कर्मचारीको कामअनुसार १५ हजार तलब पनि कम हो : गणेश प्रसाद प्रसाईं, मेयर [अन्तर्वार्ता]

    काम गर्ने सम्बन्धमा प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारबीच आपसी सम्बन्ध, सहकार्य र सहयोगको कत्तिको जरूरी पर्दाे रहेछ ?

    तपाईंले अति नै महत्त्वपूर्ण प्रश्न गर्नुभयो । यो अपरिहार्य हो । तर हामीले अहिले त्यस्तो अभ्यास गर्न सकिरहेका छैनौं । सबै अधिकार संघीय सरकारमा नै निहित छ । प्रदेश सरकार पनि स्थानीय तहलाई अधिकार दिनुहुँदैन, हाम्रो मातहत हुनुपर्छ भन्ने जडवादी चिन्तनमा छ । स्थानीय सरकार जनतासँग छ । त्यसैले प्रदेश सरकारले के-के गर्ने ? प्रदेश सरकारले गर्ने कामहरूको परिभाषा गर्नुपर्‍याे । प्रदेश सरकारले एउटा नगरपालिकामा १० लाख रूपैयाँ खर्च गरेर मन्दिर बनाउने होइन ।

    प्रदेश सरकारले १० लाख हालेर ग्राबेल गर्ने होइन । प्रदेश सरकारको निर्दिष्ट नीति हुनु हुनुपर्‍यो । विश्वविद्यालय बनाउँछु, हजार वेडको अस्पताल बनाउँछु, किसानको खेतखेतमा सिंचाई पुर्‍याउँछु । फराकिलो विचार राखेर देखिने गरी काम गर्नुपर्‍यो । १० वर्षमा कुनै पनि प्रदेशमा शिक्षा, स्वास्थ्य र रोजगारीको निम्ति जान नपरोस् । त्यहीँभित्र अवसर प्राप्त होस् भनेर सोच्नुपर्‍यो ।

    संघीय सरकारले राष्ट्रिय गौरवका कामहरू गर्नुपर्‍यो र नागरिक विदेशमा पलायन नहोस् भनेर सोच्नुपर्‍यो। हामी स्थानीय सरकारले रोजगारीका निम्ति गाउँ छोड्नु नपरोस्, पेटै पाल्नका लागि मैले गाउँ छाड्नु नपरोस् यहीँभित्र अवसर पाउँछु भन्ने विश्वास दिलाउनुपर्‍यो । त्यो ढंगले काम गर्नुपर्‍यो । हामी कहाँ पुरानो धङधङी अझै छ । अधिकार बाँड्न नखोज्ने प्रवृत्ति छ । त्यसलाई छोडेर हामीले नयाँ ढंगले जनताप्रति जवाफदेही भएर आआफ्नो भूमिका निर्वाह गरेर सिंगो नेपाललाई नै समृद्ध राष्ट्र बनाउन तीनै तहले राम्रो काम गर्नुपर्छ ।

    संघीय सरकारको नेतृत्व गर्नेले पनि प्रतिपक्षी, अन्य राजनीतिक दल, पार्टी भित्रैकै साथीहरूको असहयोगले काम गर्न कठिन भयो भन्ने गरेको सुनिन्छ । स्थानीय सरकारमा पनि त्यस्ता समस्या आउँछन कि आउँदैनन् ?

    उचित प्रश्न गर्नुभयो । स्थानीय तहमा काम गर्नेले वुद्धि नपुर्‍याउने र विरोध गर्नेले पनि बहाना खोज्ने चलन छ । त्यो दुई वटै गलत चलन हो । काम गर्नेले पनि वुद्धि पुर्‍याउनुपर्छ । आफूले गरेको कामको जवाफदेही हुनुपर्छ । बहाना बनाउनेलाई जनताको बीचमा सत्यकुरा भनिदिने हो भने जनता कन्भिन्स हुन्छ । र,जनताले साथ दिन्छन् । हाम्रो पालिकामा त्यस्तो समस्या छैन । मैले बजेट बनाउँदा पनि सर्वदलीय छलफल गरेर नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्छु । सुझाव सल्लाह लिने गर्छु । आएका सल्लाहसुझावलाई पनि कार्यान्वय गर्छु । त्यो हाम्रा लागि पनि सम्पत्ति हो ।

    नागरिक समाजले दिएको सुझाव हाम्रो लागि काम लाग्ने छ । यसले राम्रो सन्देश पनि जान्छ । विकास गर्ने कुरामा किन झगडा गर्ने ? विकासका काममा मानिसहरूले अनियमितता गर्ने, पैसा खाने प्रचलन थियो । प्राविधिकहरू दक्ष भेटिन नै गाह्रो पर्ने स्थिति थियो । आज हामीसँग प्रशस्त प्राविधिकहरू छन् । मूल्याङ्कन हुन्छ । हामीले देखिने र बुझिने गरी समितिहरू निर्माण गछौं ।

    त्यहाँभित्र खिचातानी हुनुहुँदैन । तर, छ । कर्मचारी र जनप्रतिनिधिबीचको समस्या छ । जनप्रतिनिधिहरूको बीचमा पनि दलीय भेदका समस्या छ । सबैभन्दा ठूलो समस्या भनेको आफू केही नगर्ने र अरूको विरोध गर्ने । अरूको खुट्टा काटेर अग्लो बन्छु भन्ने प्रवृत्ति पनि छ । म त्यो कुराको विरोधी हुँ । तपाईं आफ्नो कर्मले अग्लो बन्नुहोस् । जनता यति जानकार र सचेत छ, मज्जाले मूल्याङ्कन गर्छन् ।

    तपाईंका कामहरू कस्ता छन् ? तपाईंका कामको रिस गर्नेहरूले के गर्छन र के बोल्छन् ? मैले यो पनि महसुस गरेको छु ।  मैमाथि पनि कहिलेकाहीँ विरोध आयो भने जनताले प्रतिवाद गर्छन् । मलाई खुसी लाग्छ । किनकी, मैले राम्रो गर्दा जनताले संरक्षण गर्दो रहेछ । त्यसैले राम्रो काम, जवाफदेही काम र जनताप्रति उत्तरदायी काम गरेपछि विरोधी शक्तिहरू आफैं कमजोर बन्दै जान्छन् ।

    अब स्थानीय सरकारको पाँच वर्षे अवधि सकिएर अर्काे चुनाव पनि आउने बेला हुन लाग्यो । स्थानीय सरकारमा आउने भावि नेतृत्वलाई सफल हुनका लागि के सुझाव दिनु हुन्छ ?

    सबैभन्दा पहिले इमान्दार हुनुहोस् । इमान्दार भए सफल भइन्छ । जनप्रतिनिधि भएपछि पैसा कमाउँछु भनेर नसोचे हुन्छ । यस्तो सोच राखेर चुनावै नलड्नुहोस् । जनप्रतिनिधि भएपछि जनताको सेवा गर्छु र त्यसबाट सन्तुष्टि लिन्छु भन्ने सोच राख्नुहोस् । बढीभन्दा बढी सल्लाह सुझाव लिनुहोस् । जसले भनेका भए पनि उपयुक्त काम गर्नुहोस् ।

    कुनै पनि दलको सदस्य भए पनि जनप्रतिनिधिको काम पार्टीउन्मुख हुनुहुन्न । जनताउन्मुख हुनुपर्छ । क्रियटिभ माइन्ड हुनुपर्छ । जनप्रतिनिधिले योजना बनाउन नसक्ने, विकासको सपना देख्न नसक्ने र आएको बजेटलाई ‘चल्तेचलाते’ बाँड्यो भने सफल भइदैन । यो पालिकालाई यस्तो बनाउँछु भन्ने योजना बोकेर चुनावमा लड्नुहोस् अनि तपाईं सफल हुनुहुन्छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology