Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

पाकिस्तानी पत्रकारको नजरमा तलिवान सत्तामा आएपछिको अफगानिस्तान

पाकिस्तानी पत्रकारको नजरमा तलिवान सत्तामा आएपछिको अफगानिस्तान

  • 153
    SHARES
  • पाकिस्तानी पत्रकारको नजरमा तलिवान सत्तामा आएपछिको अफगानिस्तान

    म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु । छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ ।

    पेसावारबाट अफगानिस्तानको राजधानी काबुल २ सय ८२ किलोमिटर टाढा छ । दुई देशको बीचमा रहेको खैयबार पास पार गरेपछि जलालावाद हुँदै काबुल पुग्न सकिन्छ । जलालावाद काबुल नजिकैको सहर हो, तालिवानले यो सहर नियन्त्रणमा लिएपछि तत्कालीन अफगानी राष्ट्रपति असरफ घानी मुलुक छाडेर बाहिरिएका थिए ।

    पछिल्लो समय अफगानिस्तानमा रोटीका लागि बालिका बेचिएको घटना सुन्दा आङ सिरिङ्ग हुन्छ । कतै दन्त्यकथा सुनेको पो हो कि भन्ने अनुभूति पनि हुन्छ । हामी बच्चा हुँदा सय वर्षअघि यसरी नै मानव बेचबिखन हुन्थ्यो रे भन्ने कथा सुन्थ्यौं, त्यसैको पुनरावृत्ति पो हो कि भन्ने भान हुन्छ ।

    गत साता मात्र बीबीसी, सिएनएनलगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियामा चरम गरिबीले गर्दा अफगानिस्तानका विपन्न परिवारले छोरीहरु बेचेको कथा प्रकाशित भए । त्यहाँको बाद्गिस प्रान्तको एक परिवारले खानेकुरा किन्ने पैसा जुटाउन नौ वर्षीया बालिकालाई बेहुलीका रुपमा ५५ वर्षीय व्यक्तिलाई बेचेको थियो, जुन कथा हृदयविदारक थियो । विवाहको नाममा ती बालिकामाथि कति चरम शोषण भयो होला, त्यसको कल्पना मात्र गर्न सकिन्छ ।

    सात जनाको परिवारका लागि छाक जुटाउन कुनै उपाय नभएपछि सो परिवारले ती बालिकालाई बेचेको जनाएको छ । बेचिएकी ती बालिकामाथि अब परिवारको कुनै हकअधिकार छैन । ५ सय अमेरिकी डलरमा बेचिएकी ती अबोध बालिकाले अनेक अत्याचार र पीडा खपेर जिन्दगी बिताउनुपर्ने निश्चित छ ।

    तलिवान सत्तामा आएपछि अफगानिस्तानको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक अवस्था तहसनहस भएको छ । रोजगारीको कुनै उपाय छैन । बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी निकायको बैंक एकाउन्ट फ्रिज भएको छ । एकाधबाहेक त्यहाँ कुनै पनि विदेशी एजेन्सीको त्यहाँ उपस्थिति देखिँदैन ।

    तालिवानलाई अझै उन्माद छ, सरकार चलाउने कुनै तौरतरिका थाहा छैन । सरकारी ढुकुटी गोलिगठ्ठा र बन्दुकमा खर्च भएको छ । केही काम गर्छु भन्नका लागि पनि कि त सरकारी ढुकुटीमा पैसा हुनुपर्छ, कि त विदेशी निकायले पत्याउनुपर्छ । यी दुवै अवस्था अफगानिस्तानमा छैन ।

    शिक्षामा पनि तालिवानले आफ्नै फरमान जारी गरेको छ । केटीहरुलाई सहशिक्षाका रुपमा कलेज जान वञ्चित गरिएको छ । यसरी केटीहरुलाई स्कुल जान वञ्चित गरिएपछि उनीहरुको भविष्य अन्धकार हुने निश्चित छ । स्वास्थ्य, उद्योगधन्दालगायत उत्पादनमूलक क्षेत्रको स्थिति पनि नाजुक छ ।   

    अहिलेसम्म तालिवानले कुनै पनि अन्तर्राष्ट्रिय समुदायको साथसहयोग पाएको छैन । कुनै पनि देशले तालिवान सरकारको समर्थन गरेका छैनन् । यतिसम्मकि सबैभन्दा नजिकको छिमेकी देश पाकिस्तानले पनि तालिवान सरकारलाई समर्थन जनाएको छैन । लोकतन्त्र र मानवअधिकारको विपक्षमा रहेको तालिवान सरकारले यस्तो समर्थन पाउने सम्भावना पनि न्यून छ । त्यसैले, अफगानिस्तानमा रहेका नागरिकमा त्रास, अन्योल र द्विविधा रहेको छ ।

    त्यहाँ अहिले खाद्यान्न संकट गहिरो बन्दै गएको छ । अफगानिस्तानका करिब १ करोड मानिस चरम भोकमरीको समस्यामा रहेका अनुमान छ । सुन्दा अचम्म लाग्न सक्छ, त्यहाँका विपन्न वर्ग मात्र होइन, मध्यम वर्गले पनि खाद्य संकटको सामना गरिरहेका छन् ।

    मैले अफगानिस्तानमा रहेका पत्रकार तथा साथीभाइसँग कुराकानी गर्दा खानेकुरा अभाव भएपछि मध्यम वर्गीय परिवारले पनि आफ्नो जायजेथा बेच्न थालिसकेका छन् । घरमा राखिएका टिभी, फ्रिज, वासिङ मेसिन आदि सस्तो मूल्यमा बेचेर खानेकुरा जुटाइरहेका छन् ।

    म पाकिस्तानमै बसेर अफगानिस्तानमा भएका घटनाको ‘अपडेट’ नियमित लिइरहेको छु । तीन महिनाअघि तालिवानले सत्ता हत्याएपछि त्यहाँ दिनानुदिन संकट चुलिँदै गएको छ । त्यहाँ काम गर्ने स्थानीय तथा अन्तर्राष्ट्रिय पत्रकारलाई ज्यादै ठूलो जोखिम छ । ज्यानै जाने खतरा देखिएपछि अधिकांश पत्रकारले सक्रिय पत्रकारिता छाडेर पलायन भएका छन् ।

    तालिवान सत्तामा आएपछि अफगानिस्तानमा एक जना पत्रकारको हत्या हुनुका साथै ३० जनाभन्दा बढी पत्रकारमाथि हातपात तथा हिंसात्मक घटना भएका छन् । राष्ट्रिय वा अन्तर्राष्ट्रिय मिडियामा काम गर्ने स्थानीय पत्रकारले अफगानिस्तानमा भएको दयनीय अवस्थाको रिपोर्टिङ गर्न आनाकानी गर्छन् ।

    त्यहाँ तालिवानले गरेको कतुर्त कुनै पनि अन्तर्राष्ट्रिय मिडियामा आयो भने पत्रकारको ज्यान नै जोखिममा पर्न सक्छन् । त्यही भएर पनि पछिल्लो समय अफगानिस्तानमा चर्किएको भोकमरीको समस्या, तालिवानले महिलामाथि जारी गरेको कडा कानुनलगायत विभिन्न विषयबारे अन्तर्राष्ट्रिय मिडियामा थोरै मात्र समाचार पढ्न पाइन्छ ।

    अहिले काबुलबाट चार्टरबाहेक सीमित देशहरुका लागि मात्र अन्तर्राष्ट्रिय उडान हुन्छ । अन्तर्राष्ट्रिय समुदायबाट ‘आइसोलेटेड’ भएको छ अफगानिस्तान। सकेसम्म धेरै मानिस देश छाडेर अन्यत्र जान चाहन्छन् । अलिकति पहुँच भएका व्यक्तिहरु युरोप र अमेरिकामा पुगिसकेका छन् ।

    अहिले अफगानिस्तानमा रहेका नागरिक अनिश्चयको भूँमरीमा तड्पिएका छन् । कति बेला के हुन्छ ? केही थाहा छैन । तालिवान सरकारले देशलाई कता लगेर भड्खालोमा जाक्ने हुन् कि भन्ने संशय छ। नागरिक स्वतन्त्रता, मौलिक स्वतन्त्रता र मानवअधिकारलाई बन्धक बनाइएको छ ।

    केही दिनअघि एकजना अफगानी साथीसँग कुरा भएको थियो । मैले त्यहाँको के छ खबर ? भनी सोधेको थिएँ । अन्यमनस्क भावमा उनले भन्यो–के खबर हुनु र, जिन्दगी अनिश्चितताको भुँमरीमा फसिरहेको छ । त्यसपछि मलाई उनीसँग धेरै लामो कुराकानी गर्ने ‘मुड’ चलेन । मैले मनमनै प्रार्थना गरेँ–अफगानी नागरिकले यो दुर्दिनबाट छिट्टै मुक्ति पाऊन् ।

    (पाकिस्तान पेसावारका पत्रकार आसिफसँग न्युज कारखानाले गरेको कुराकानीमा आधारित)

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology