क्यानबेरा । अस्ट्रेलियाको संसद भवनभित्रको यौनजन्य गतिविधिको भिडियो सार्वजनिक भएपछि अस्ट्रेलियाको राजनीतिमा पुनः तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री स्कट मरिसन सरकारका सदस्यहरूले नै संसदमा यौनजन्य गतिविधि गर्ने गरेको खुलासा भएपछि मरिसन सरकार ठूलो संकटमा परेको छ ।
प्रधानमन्त्री मरिसनले उक्त घटनालाई अत्यन्त लज्जास्पद र घिनलाग्दो बताएका छन् । मरिसनले भावुक हुँदै यसलाई ‘धेरै दुःखदायी महिना’ भनेका छन् ।
केही साताअगाडि एक महिला कर्मचारीले आफू संसद भवनभित्रै यौन हिंसामा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाइरहेका बेला अस्ट्रेलिया सरकारलाई पुनः अर्को संकट आइलागेको छ ।सार्वजनिक भएको अश्लील भिडियो एउटा गु्रप च्याटमा सेयर भएपछि देशभर तरंग उत्पन्न भएको छ ।
भिडियो लिक गर्ने व्यक्तिको पनि पहिचान भइसकेको मिडियाहरुले उल्लेख गरेका छन् । टम नामका ती व्यक्तिका अनुसार सरकारी कर्मचारी तथा सांसदहरुले यौन क्रियाकलाप प्रायः संसदको प्रार्थना कक्षमा गर्ने गरेको बताएका छन् । टमले सांसदहरुले गठबन्धन सरकारका सांसदका लागि संसद भवनभित्र यौनकर्मी महिला पनि लिएर जाने गरेको दाबी गरेका छन् ।
टमका अनुसार संसदका कर्मचारीहरुबीच अश्लील फोटोहरू प्रायः आदानप्रदान गर्न उनीहरु अभ्यस्त भइसकेका छन् । पुरुष कर्मचारीमा आफूहरुले जे गर्न पनि सक्ने किसिमको सोँच रहेको टमको भनाई छ ।
यौन क्रियाकलापमा संलग्न पुरुषहरुले आफूहरुले कानुनको उल्लंघन नगरेको र नैतिक रुपमा भ्रष्ट नभएको दाबी गर्छन् । संसद भवनभित्रको गतिविधि सार्वजनिक भएपछि प्रधानमन्त्रीले एक कर्मचारीलाई तत्कालै निष्काशन गरेर यस घटनाको अनुसन्धान अगाडि बढाउन आदेश दिएका छन् ।
संसद भवनभित्र भएको यस किसिमको क्रियाकलापले अस्ट्रेलियाका महिलाहरु आक्रोशित भएका छन् । त्यहाँका महिला सांसदहरुले यसलाई अस्ट्रेलियाको राजनीतिमा महिलामाथि हुने अपमानको एक प्रमाणको रुपमा लिन सकिने र यो संसदभित्रको सांस्कृतिक समस्या भएको बताएका छन् ।
यसअघि सरकारका वरिष्ठ अधिकारीलाई महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि मरिसनले पनि अस्ट्रलियाको राजनीतिक प्रणालीमा त्रृटिहरु भएको, कार्यस्थलको संस्कृति सुधार्नु आवश्यक रहेकाे बताएका थिए ।
सम्बन्धित समाचारः
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij