Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

किन कम हुँदैनन् महिला हिंसा ?

किन कम हुँदैनन् महिला हिंसा ?

  • 103
    SHARES
  • किन कम हुँदैनन् महिला हिंसा ?

    काठमाडौं । नोभेम्बर २५ अर्थात् आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्यको १११औँ दिवस । महिलाहरू बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको सिकार हुन्छन् भन्ने तथ्यबारे सचेतना फैलाउने उद्देश्यका साथ यस दिन विश्वभर यो दिवस मनाइने गरिन्छ । महिला अधिकारकर्मीहरूले १९८१ देखि नै २५ नोभेम्बरलाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् ।

    सन् १९६० मा राजनीतिक कार्यकर्ताहरूले डोमिनिकन रिपब्लिकका तीन मीराबल बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेको दिनको सम्झनामा याे दिवस मनाइन्छ । त्यस समय डोमिनिकनको शासक रहेका राफेल ट्रुजिलोको आदेशमा मीराबल बहिनीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो ।

    सन् १९८१ मा ल्याटिन अमेरिकी र क्यारिबियन नारीवादी कार्यकर्ताहरूले २५ नोभेम्बरलाई महिलामाथि भएका हिंसाविरुद्ध लड्न र जनचेतना फैलाउने दिनको रूपमा स्थापित गरेका थिए । त्यस्तै मंगलबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत सुरु भएको छ ।

    २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मको १६ दिनलाई १६ दिवसीय अभियानकको रूपमा विश्वभर मनाउने गरिएको छ । यो १६ दिन महिला हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी अभियानकै रूपमा सञ्चालन गरिन्छ ।

    महिला हिंसा अन्त्य दिवस मनाइरहँदा पछिल्लो समय महिला हिंसा बढ्दै गइरहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १८ हजार ९ सय ६१ वटा महिला हिंसाका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दर्ता भएका घटनामा सबैभन्दा बढी घरेलु हिंसा १४ हजार २ सय ३२ वटा छन् । त्यसैगरी उपत्यकामा २ हजार ७ सय ४५ वटा घरेलु हिंसाका घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

    अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस आर्थिक वर्षमा महिला हिंसाका घटना ३ हजार २ सय ५ वटाले वृद्धि भएका प्रहरी तथा महिला सम्बद्ध संस्थासँग तथ्यांक छ । महिला आयोगमा गत आर्थिक वर्षमा १ हजार ६५ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् । जसमा १ सय ६४ वटा उजुरी त महिला हिंसाका मात्रै छन् ।

    पछिल्लो समय श्रीमानबाट हुने हिंसासम्बन्धी उजुरीमा वृद्धि भएको छ । पछिल्लो निषेधाज्ञामा मात्र महिला आयोगमा घरेलु हिंसाका २२ वटा र महिला हिंसाका १० वटा उजुरी दर्ता भएका छन् । अझै पनि देशभरका हिंसापीडित महिलाहरूको पहुँच महिला आयोगमा पुग्न सकेको छैन ।

    महिला पुनर्स्थापना केन्द्रले अघिल्लो वर्षको वैशाख १६ गते निषेधाज्ञा सुरु भएदेखि २०७८ असार मसान्तसम्म महिला तथा बालबालिकामाथि हुने ६ सय ८० वटा हिंसाका घटना विश्लेषण गरेको थियो । जसमा ३ सय ४१ वटा घरेलु हिंसाका घटना थिए भने १ सय ६८ वटा अर्थात् ४९ प्रतिशत शारीरिक हिंसाका घटना भएको केन्द्रले जनाएको छ ।

    हिंसा गर्नेमा ३ सय ११ जना (४६ प्रतिशत) श्रीमान् र १ सय १० जना (१७ प्रतिशत) परिवारका अन्य सदस्य रहेको केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा देशभर भएका घरेलु हिंसाको तथ्यांकअनुसार प्रदेश १ मा १ हजार २ सय ८०, प्रदेश २ मा ३ हजार ५ सय ५६, बाग्मती प्रदेशमा १ हजार १ सय २६, गण्डकी प्रदेशमा १ हजार १ सय ९६, लुम्बिनी प्रदेशमा २ हजार ३ सय १८, कर्णाली प्रदेशमा ८ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ३९ वटा घटना भएको अभिलेख प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    न्युनीकरणका प्रयास

    महिला हिंसा न्युनीकरणका लागि देश तथा विदेशमा विभिन्न आन्दोलनहरू भइरहन्छन् । ती आन्दोलनहरू प्रायः उपलब्धिपूर्ण भने बनेनन् । महिला हिंसाविरुद्ध सन् २००६ मा हलिउडबाट ‘मिटू अभियान’ सुरु भयो । सन् २०१७ मा आएर यो अभियानले गति लियो ।

    सन् २०१८ मा बलिउडमा पनि यस अभियानले चर्चा पायो । यो अभियान सन् २०१८ मा नेपालमा प्रवेश गर्‍यो । अमेरिकामा सुरु भएको दशकभन्दा बढी समयपछि यो अभियान नेपाल प्रवेश गरे पनि खासै प्रभाव परेन । केही घटनाहरू बाहिर आए पनि बीचमा यो अभियान सेलायाे ।

    एसिड आक्रमण, बलात्कार जस्ता महिला हिंसा न्युनीकरणका लागि नेपालमा सडक आन्दोलनहरू भए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्याविरुद्ध भएकाे आन्दोलनलाई एउटा उदाहरणको रूपमा लिन सकिन्छ । पन्त घटनाविरुद्ध महिला अधिकारकर्मीलगायले देशभर आन्दोलन सुरु गरे । तर,अहिलेसम्म दोषी पत्ता लागेको छैन ।

    वीरगन्जकी बालिका मुस्कान खातुनमाथि भएको एसिड प्रहार अर्का महिला हिंसा हो । खातुन घटनाविरुद्ध पनि आन्दोलन भएको थियो । यस आन्दोलनबाट भने दोषी पत्ता लगाउन बल पुग्यो ।  

    महिला हिंसाका कारण

    हाम्रो सामाजिक संरचनामा नै हिंसालाई बढवा दिने तत्त्वहरू भएको समाजशास्त्री डा.मीना उप्रेती बताउँछिन् । हाम्रा मूल्यमान्यता, सामाजिक संस्कार, समाजमा विद्यमान पुरुषवादी चिन्तन, महिलाहरूसँग जोडिएका नकारात्मक टिप्पणीले महिलामाथि हुने हिंसालाई प्रोत्साहित गरिरहेको उनको टिप्पणी छ ।

    ‘ऐतिहासिक रूपमा महिलाले जुन खालको हिंसा भोगेको हामीले सुन्दै आएका छौँ, त्योभन्दा डरलाग्दो हिंसा आजका दिनमा खेपिरहेका छन् । त्यसको एउटै कारण छोरीलाई सक्षमभन्दा संवेदनशील बनाउनु । उसलाई सन्तानका रूपमा होइन, छोरीका रूपमा हुर्काउनु । अबको अवस्थामा छोरी जन्मिन पाउनु नै ठूलो भाग्य भएको छ । जन्मिनुभन्दा अगाडि नै उसको अस्थित्व समाप्त पार्न खोजिन्छ । अबका अभिभावक छोरी जन्मिन पनि दिँदैनन् । किनभने एउटा सन्तान चाहिएको छ । त्यसमा पनि छोरा ।’

    उप्रेतीले  थप भनिन्, ‘अबका छोरीहरूलाई घरमै सीमित गर्ने होइन । उसलाई हिँड्न, बोल्न र खेल्न दिनुपर्छ । उसलाई खुलेर आफ्ना कुरा राख्ने वातावरणको सिर्जना गर्नुपर्छ । आफ्ना लागि आफैं निर्णय गर्न सक्ने बनाउनुपर्छ । न कि अरूलाई सोधेर निर्णय लिने । तब, मात्र उनीहरू प्रतिकारमा उत्रिन सक्छन् ।’

    महिला हिंसा बढ्नुमा परिवार, समाज, राज्य, प्रशासनलगायत जिम्मेवार रहेको उनको भनाइ छ । उनले भनिन् ‘हिजोका दिनमा घरमा मात्र हिंसा हुन्थ्यो । गाउँमा मात्र हुन्थ्यो भने अहिले हरेक क्षेत्रमा भइरहेका छन् । हिजो हिंसा घर, परिवार, संस्कारसँग जोडिन्थ्यो भने आज डिजिटल प्रविधिसँग जोडिन्छ ।’

    सामाजिक संरचना खुकुलाे हुनु र स्वतन्त्रता बढ्दा पनि हिंसाका घटनाहरू बढेको उनले बताइन् । पुरुषहरू सरल, संयम र महिलाको सम्मान गर्ने अवस्थामा पुगेपछि मात्रै महिला हिंसामा कमी आउने उनको भनाइ छ ।

    ‘महिलालाई हेर्ने दृष्टिकोणमा अहिले पनि कुनै आधुनिकता आएको छैन । पुरुष आफूलाई शक्तिशाली मान्छन् । तर, उनीहरू आफैँ शक्तिशाली भएका होइनन् । महिलाको भूमिका, साथ र सहयोगले उनीहरूलाई शक्तिशाली बनाएको मात्र हो ।’ 

    शक्तिको आडमा हिंसा 

    वुमेन लिड नेपालकी कार्यकारी निर्देशक हिमा बिष्ट पावर र पोजिसनमा हुने व्यक्तिहरूबाटै बढी महिला हिंसा हुने गरेको बताउँछिन् । ‘अधिकांश अवस्थामा जो मान्छे पावर र पोजिसनमा हुन्छ, उसैले नै लैंगिक हिंसा गरिरहेको हुन्छ । तर, पावर र पोजिसनको आधारमा उसलाई सुरक्षित गरिन्छ । त्यस्ता पावर भएका मान्छेकाविरुद्ध पीडितहरू बोल्न डराउँछन् ।’

    हिंसाविरुद्ध आवाज उठे पनि राज्यले गम्भीर रूपमा नलिएको बिष्टको भनाइ छ । ‘हामीले हिंसाविरुद्ध आन्दोलन गरिरहेका छौँ । कोरोना महामारीका कारण स्थगित भएको मात्र हो । नत्र सडकमा उत्रिन्थ्यौँ । हिंसाविरुद्धमा बोलेकै हुन्थ्यौँ । अहिलेको अवस्थामा अन्य माध्यमबाट भएपनि हिंसाविरुद्ध बोलिरहेका छौँ । महामारीको कारण सडक आन्दोलन नभएकाे हाे, सेलाएको भने होइन,’ उनले थपिन्, ‘अहिलेको सबैभन्दा डरलाग्दो पाटो सामाजिक सञ्जाल हो । यसले पनि हिंसालाई प्रोत्सहन गर्न मद्दत गरेको छ ।  जसमा, राम्रै मुद्दा उठाउँदा पनि नकारात्मक रूपमा प्रस्तुत गरिन्छ ।’

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology