Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

एमालेमा गुटबन्दी सकियो, चितवन प्रचण्डको बिर्ता होइन : पद्‌मा अर्याल [अन्तर्वार्ता]

एमालेमा गुटबन्दी सकियो, चितवन प्रचण्डको बिर्ता होइन : पद्‌मा अर्याल [अन्तर्वार्ता]

  • 689
    SHARES
  • एमालेमा गुटबन्दी सकियो, चितवन प्रचण्डको बिर्ता होइन  : पद्‌मा अर्याल [अन्तर्वार्ता]

    नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न शुक्रबारबाट चितवनमा १०औँ महाधिवेशन सुरु हुँदै छ । १५ वर्ष पार्टीको नेतृत्व लिएका माधव नेपाल समूह अलग भएपछि हुन लागेको महाधिवेशनकाबारे एमाले नेतृ पद्‌मा अर्यालसँग गरिएकाे कुराकानी :

    images

    एमालेको यो १० औं महाधिवेशन यसअघिको महाधिवेशनभन्दा के कारणले बढी अर्थपूर्ण छ ?

    नवौं महाधिवेशनदेखि १०औं महाधिवेशनसम्म आइपुग्दा एमालेभित्र थुप्रै परिघटनाहरू भएका छन् । माओवादीसँगको पार्टी एकता, एकता भंग र पार्टीभित्रैको अन्तर्संघर्ष र त्यसले निम्त्याएको पार्टी विभाजन यही बीचमा भएका छन् । माओवादीसँगको एकता भंगपश्चात पनि कतिपय माओवादीका कमरेडहरू एमालेमै छन् ।

    नेपालको इतिहासमा कुनै पार्टीमा पनि यति उथलपुथल भएको थिएन, जुन यो बीचमा भयो । अब यी सबै कुरालाई व्यवस्थापन गर्दै अघि बढ्नु पर्नेछ । सबैसामु सकारात्मक सन्देश हामीले प्रवाह गर्नुपर्नेछ र यो महाधिवेशनमार्फत यी सबै कुरा सम्भव हुनेमा हामी विश्वस्त छौँ ।

    यस पटक हामीले विधान र नेतृत्वको लागि छुट्टा छुट्टै महाधिवेशनको व्यवस्था गरेअनुसार अबको महाधिवेशन भनेको नेतृत्व चयनको लागि मात्र हो । यसैले पनि विगतको र अहिलेको महाधिवेशनमा यो पनि एउटा फरक पाटो छ । अबको पनि फेरि यो मुलुकको मूल पार्टी भनेको नेकपा एमाले नै हो भन्ने कुराको सन्देश प्रवाह गर्नेगरी यो महाधिवेशन हुँदै छ ।

    एमालेभित्र माओवादीका उच्च तहका नेताहरू पनि हुनुहुन्छ । केही समय माधव नेपालको पक्षमा खुलेर लागेका नेताहरू पनि हुनुहुन्छ र एमालै पनि पुराना नेताहरूको पंक्ति छँदै छ । यस अवस्थामा अब यी सबैलाई यो महाधिवेशनले कसरी समेट्छ ?

    आकांक्षी साथीहरू त धेरै नै हुनुहुन्छ । एउटा निश्चित संख्या तोकिसकेपछि अब ती सबै आकांक्षी साथीहरू अट्ने कुरा पनि भएन । जहाँसम्म योे महाधिवेशनमा समेट्नुपर्ने पक्षको विषयमा कुरा उठिरहेको छ, त्यसको लागि पार्टीको नेतृत्व एकदमै सचेत रहेको छ र गर्छ पनि ।

    अर्कोतर्फ हामीले त यो महाधिवशेनलाई एकताको महाधिवेशन भनेका छौँ । त्यसैले हामीसँग जोडिएर आउनुभएका सबै साथीहरूको उचित व्यवस्थापन हुन्छ र यसको लागि पार्टीको नेतृत्व तह गृहकार्यमा छ । सबै कुराको व्यवस्थापन गरेर मात्र यो महाधिवेशन सम्पन्न हुन्छ ।

    प्रतिनिधि छनोटमा के छ अवस्था ? प्रतिस्पर्धा मात्र हुन्छ या प्यानलगत प्रतिस्पर्धा अथवा सर्वसम्मत के हुन्छ ?

    हाम्रो पहिलो प्रयास भनेको सर्वसम्मत नै रहनेछ । तल्लो तहको अधिवेशनदेखि प्रतिनिधि छनोटसम्म हामीले सर्वसम्मतकै विधि अवलम्बन गर्‍याैं । त्यस्तै आम कार्यकर्ताको सुझाव पनि सर्वसम्मत नै रहेकाले उहाँहरूको सुझावको पनि हेक्का राख्दै नेतृत्वले सर्वसम्मतकै प्रयत्न गर्नेछ ।

    हामीले विधान महाधिवेशनमै प्यानल र गुटबन्दीलाई पार्टीबाट हटाएसकेका छौँ र सबैले संकल्प पनि गरिसकेका छौँ । सर्वसम्मत हुन सकेन भने स्वतन्त्र व्यक्तिको चुनाव हुन्छ, तर प्यानलको निर्वाचन हुँदैन ।

    तपाईं चाहिँ कुन पदको प्रत्यासी ?

    पार्टीमा काम गरिसकेपछि उच्च तहमा पुग्ने चाहना हुनु स्वाभाविक हो । म जस्ता थुप्रै साथीहरूको त्यो चाहना छ । यसको व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी भनेको नेतृत्वको हो । नेतृत्वले विवेक पुर्‍याएर यसरी जाऊँ भनेर प्रस्ताव ल्यायो भने सर्वस्वीकार्यसहित शिरोधार्य गरेर अघि बढिन्छ । तर, यस्तो अवस्था भएन र प्रतिस्पर्धा नै गर्नु पुर्‍याे भने नेतृत्वसँग छलफल गरेर आफूलाई जहाँ उभ्याउनु पर्ने हो त्यहाँ उभ्याएर अघि बढिन्छ ।

    एमालेले महाधिवेशनको लागि चितवन नै छनोट गर्नुको कारण के हो ? प्रचण्डले भने जस्तै माओवादीलाई निस्तेज पार्नकै लागि चितवन रोजिएको हो ?

    उहाँ (प्रचण्ड) ले गर्नुभएको विश्लेषण गलत छ । चितवन भनेको कमरेड प्रचण्डको बिर्ता पनि होइन । चितवन भनेको नेपालको एउटा भाग हो । नेपालको जुनसुकै भागमा जुनसुकै पार्टीले पनि महाधिवेशन आयोजना गर्न सक्छ ।

    यसअघिका महाधिवेशन पनि हामीले देश विभिन्न स्थानमा गरेकै हौँ । ती महाधिवेशन गरिरहँदा हामीले कसैलाई सिध्याउने सोच राखेका थिएनौँ । मौसमको अनुकूलता, सबै साथीहरूको इच्छा र सहज व्यवस्थापकीय दृष्टीकोणले हामीले चितवन रोजेका हौँ । चितवनमा एमालेको महाधिवेशन भइरहँदा प्रचण्ड कमरेडलाई जोडी रहनुपर्ने वा उहाँ आफैं जोडिनुपर्ने र त्यसै ढंगले टिकाटिप्पणी गर्नुपर्ने विषय म देख्दिनँ । एमालेले देशको जुनसुकै स्थानमा महाधिवेशन गर्न सक्छ । पार्टीले आफ्नो निर्णय गरेर महाधिवेशन गर्दा उहाँको टाउको दुख्नुपर्ने कुरा के छ र ?

    यो महाधिवेशनले आमनगरिकलाई दिने सन्देश के हुनसक्छ ?

    यो महाधिवेशनबाट एउटा सकरात्मक सन्देश प्रवाह हुनेछ । राष्ट्रिय राजनीतिको शक्ति सन्तुलन हुने गरी मूलधारको पार्टीको रूपमा अब एमाले स्थापित हुन्छ है भन्ने सन्देश यस महाधिवेशनबाट आमनगरिकले पाउनेछन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology