बैतडी । बैतडीको पाटन नगरपालिका-३ मा स्थित सिगास माध्यमिक विद्यालय गौरीशंकर पोखरीमा भवन बनाउन आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले बजेट विनियोजन गर्याे । संघीय सरकारको समपुरक कोषमार्फत ७२ लाख रकम विनियोजन भएको थियो ।
विद्यालय भवन निर्माणका लागि ठुलो रकम आएपछि विद्यार्थी, शिक्षक, अविभावकदेखि स्थानीयवासीसमेत खुसी भएका थिए । वार्षिकोत्सवका दिन विद्यालयमा पुगेका नगरप्रमुख केशवबहादुर चन्दलगायतको टोलीले नयाँ भवन बन्ने भनि जनश्रमदानमा बनेको पुरानो भवनलाई भत्काउन दिएकाे निर्देसनसँगै भत्काइएकाे थियो ।
पुरानो भवन भत्काइएको र नयाँ भवन अहिसम्म नबन्दा विद्यार्थीहरू मारमा परेका छन् । भवन बनाउन ठेक्का एस के निर्माण सेवाले ठेक्का पाएका थियाे । साेहीअनुसार निर्माण कम्पनीले आठ वटा खाडल पनि खनेकाे थियाे । तर, त्यसबाहेक अन्य केही काम हुन सकेकाे छैन ।
ठेकेदारले गत असार मै चौरमा केही ढुंगा र इट्टा पुर्याएकाे थियो । सम्झाैताअनुसार गत आर्थिक वर्षमै भवन बनिसक्नु पर्ने हाे । सिगास माविको भवन निर्माण नहुँदा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएको छ । पुरानो भवन भत्काइएकाले कक्षा ९ र १० का विद्यार्थीलाई चाैर मै राखेर पठनपाठन गरिँदै आएकाे छ ।
नयाँ भवनमा कक्षा कोठा हुन्छ भन्दै खुसी भएकाेमा अहिले चाैरमा बसेर पढ्नु पर्ने बाध्यता भएकाे विद्यार्थी हरिदर्शन अवस्थीले बताए । भवन छिटो बनाइदिन माग गर्दै विद्यालयले पटकपटक नगरपालिकामा लिखित तथा मौखिक जानकारी गराएको विद्यालयका प्रधानाध्यापक धनिदत्त पन्तले बताए ।
उनले भने,‘हामीसँग गतिलो भवन छैन् । पाँच सयभन्दा बढी विद्यार्थी छन् । सिलेटले छाएका पाँच वट पुराना घर छन् र एउटा मल्टिस्टोर भवन छ । जसोतसो काम त चलाएका छौँ । तर, गतिलो भवन भने छैन । ७२ लाख रकम हाम्रो स्कुलमा आयो भनि खुसी भएका थियौँ । अहिलेसम्म भवन बन्न सकेन् । पैसा आयो भनेर के गर्नु ? ठेकेदारको लापरवाहीले भवन बन्न सकेन् । अझै पनि काम सुरु नभएमा हामी विद्यार्थी, शिक्षक र अविभावक नगरपालिका घेराउ गर्न जान्छौँ ।’
पाटन नगरपालिका नगर कार्यपालिकाको २ मंसिरमा सम्पन्न बैठकले एसके निर्माण सेवालाई नगरपालिकाका कुनै पनि काम नगराउनेसम्मको निर्णय गरेको छ ।
नगरप्रवक्ता लोकबहादुर भण्डारीले भने, ‘एसके निर्माण सेवाका सञ्चालक मदनमोहन विष्टले काम गरेका अधिकांश ठेक्का अलपत्र परेका छन् । वडा नम्बर ६ को पुल सात वर्षदेखि अलपत्र छ भने वडा नम्बर १० को कार्यालय भवन अलपत्र छ । अब हामी एसके निर्माण सेवालाई कुनै पनि ठेक्का दिन सक्दैनौँ । अहिले सिगास माविको भवन बनाउन म्याद थपेका छौँ । उक्त म्यादभित्रै काम सम्पन्न नगरे ठेक्का रद्द गरि फेरि अर्को टेण्डर आह्वान गछौँ ।’
पाटनमा रहेको एसके निर्माण सेवाले ठेक्का पाएका कुनै पनि आयोजनाको काम सन्तोसजनक ढंगले नगरेकाले उक्त निर्माण सेवालाई कालोसूचीमा राखेर नगरपालिकाका कुनै पनि ठेक्कामा संलग्न नगराउन जरुरी रहेको नगरप्रवक्ता लोकबहादुर भण्डारीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology