रेश्मा सिंह
काठमाडौं । काठमाडौंमा वायुप्रदूषण बढेकाले घर बाहिर ननिस्कन सरकारले पुनः अनुरोध गरेको छ । वायुप्रदूषणकै कारण मंगलबारदेखि चारदिनसम्म विद्यालय बन्द गर्ने निर्णयमा सरकार पुगेको छ ।
केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै मौसममा अचानक परिवर्तन भएकाले सर्वसाधारणलाई सर्तक रहन आग्रह गरेको थियो ।
मन्त्रालयले वायुप्रदूषणले जनस्वास्थ्यमा विभिन्न प्रभाव पर्ने भन्दै घरभित्र नै बस्न अनुरोध गरेको हो । घरबाहिर खुल्ला स्थानमा नबस्न र मर्निङवाकमा नजान सर्वसाधारणलाई अपिल गरेको छ ।
वायुप्रदूषणका कारण काठमाडौंका उपत्यकाबासीमा रूघाखोकी, दम, एलर्जी, आँखा पोल्ने र अन्य श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले वायुप्रदूषण अत्याधिक बढेकाले अनावश्यक रूपमा घर बाहिर ननिस्कन, अनावश्यक रुपमा आगो नबाल्ने, मास्कको प्रयोग गर्न, चस्माको प्रयोग गर्न सुझाएका छन् ।
छातीरोग विशेषज्ञ डा.निरज बमकाअनुसार वातावरण प्रदुषण विश्वमा नै मुख्य समस्याका रूपमा रहेको छ । वायुप्रदूषण हुने विश्वका दश प्रमुख शहरमध्ये काठमाडौं पनि एक होे । काठमाडौं शहरमा जनघनत्व प्रतिदिन बढिरहेको छ । काठमाडौंमा निमार्णहरू पनि भइरहने भएकाले धूलोधुँवा निस्किरहेको हुन्छ ।
धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन पनि बढेकाले सबै सेकेन्डरी स्मोकर भइरहेका बमले बताए । वातावरण प्रदूषणमा हजाराैं रसायनमध्ये ७० भन्दा बढी क्यान्सरजन्य पर्दाथ पाइन्छन् । जसमा निकोटिन, आर्शनिक, कार्बनमनोअक्साइड लगायत पदार्थ पाइन्छन् ।
वातावरण प्रदूषणका कारण रक्तचाप बढ्ने, हृदयघात, पक्षघात, गर्भवती महिलाको भ्रुणमा असर गर्ने, यौन क्षमतामा कमी, छाला सम्बन्धि समस्या, पेटको क्यान्सरको सम्भावना हुन्छ ।
श्वासप्रश्वासका रोगहरूमा सियोपिढी, निमोनिया, एलर्जी तथा क्षयरोगलाई बढावा दिन्छ । पछिल्लो समय वातावरण प्रदूषणले फोक्सोका बिरामी बढ्दै गइरेहका डा.बमको भनाइ छ ।
उनले भने, ‘वातावरण प्रदूषणबाट बच्न मानिस स्वयम् सजग हुन जरुरी हुन्छ । समाज, व्यक्ति र सरकारले मिलेर वातावरण प्रदूषण न्यनिकरण गर्न नियम र नियमन कार्यलाई तीव्रता दिनुपर्छ । जनचेतना बढाउनु पर्छ । वातावरण सरसफाइमा ध्यान दिनुपर्छ । वातावरणमा असर नपर्ने गरि फोहोरलाई व्यवस्थित गर्नुपर्छ । शहरलाई व्यवस्थित गर्ने र रुखहरुलाई जोगाउनु पर्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij