वेबटिभी खबर
एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वभर तीव्र गतिमा फैलिरहेको छ । बेलायतमा ‘ओमिक्रोन’ संक्रमणदरलाई मध्यनजर गर्दै हिंडडुलमा सरकारले कडाइ गरेको छ । ‘ओमिक्रोन’ संक्रमणबाट के कसरी बच्न सकिन्छ त्यसबारे विशेषज्ञहरू अध्ययन तथा अनुसन्धानमा जुटेका छन् ।
अमेरिकास्थित ह्वाइट हाउसका चिकित्सा सल्लाहकारले ‘ओमिक्रोन’ भेरियन्ट विश्वभर तीव्रताकासाथ फैलिरहेको जनाएका छन् । अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डा.एन्थनी फौसीले प्रेस ब्रिफिङमा कोरोनाको बढ्दो जोखिमबीच देशमा धेरै कम जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाइएको र दिनहुँ ‘ओमिक्रोन’ संक्रमितको संख्या बढ्दै गइरहेकाले थप समस्या उत्पन्न भएको बताएका छन् ।
नेशनल इन्स्च्यिुट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजीजका निर्देशक डा.एन्थनीले कोरोना भाइरसबाट विश्वले कहिले छुटकरा पाउँछ ? यसै भन्न नसकिने बताए । पछिल्लो दुई वर्षदेखिको स्थिति हेर्दा कोरोना भाइरस अप्रत्याशित रहेको उनको तर्क छ ।
कोरोनाबाट मुक्ति पाउन खाेप नै अनिवार्य छ । तर,अझै पनि धेरै जनसंख्यालाई भाइरसविरुद्धको खोप लगाउन बाँकी रहेको डा.एन्थनीको भनाइ छ । कोरोनाविरुद्धको खोप ‘ओमिक्रोन’ भेरियन्टमा प्रभावकारी छ वा छैन भनेर वैज्ञानिकको समूहले अध्ययन गर्दैछ ।
विश्वभर लगाइएका धेरैजसो भाइरसविरुद्धको खोप ओमिक्रोनमा प्रभावकारी नदेखिएको वैज्ञानिकले जनाएका छन् । तर,भाइरस संक्रमणबाट हुने गम्भीर असरबाट भने खोपले बचाउने उनीहरूको तर्क छ ।
अध्ययनकर्ताकाअनुसार अध्ययनमा फाइजर र मोडर्ना खोप अन्यको तुलनामा बढी प्रभावकारी रहेको जनाएका छन् । तर,उक्त खोपहरू सबै ठाउँमा उपलब्ध भएको छैन । त्यसैगरी एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र अन्य खोपलाई ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी नरहेको अध्ययनकर्ताको दाबी छ ।
ओमिक्रोन भेरियन्टविरुद्ध खोपहरूकाे प्रभावकारीताबारे यो प्रारम्भिक अध्ययनको नतिजा हो । विस्तृत रूपमा यसबारेमा अध्ययन भइरहेको वैज्ञानिकहरूकाे भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij