वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले पार्टीभित्र नयाँ पुस्ताको बाहुल्यता बढेकोले पुस्तान्तरण भएको दाबी गरेका छन् ।
उनले भने, ‘हाम्रो पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता बढेको छ । पदाधिकारीमा पनि आएको छ । केन्द्रीय सदस्यहरूमा पनि युवाहरू आउनुभएको छ । धेरै नयाँ अनुहार आएका छन् । अहिले पार्टीमा पुस्तान्तरणको युग सुरु भएको छ ।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
परियारले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे आफ्नो पार्टीको धारणा बाहिर ल्याइसकेको सुनाए । उनले भने, ‘एमसीसीबारे कांग्रेसको आफ्नै खालको दृष्टिकोण छ । यो कांग्रेसको मात्रै एजेण्डा होइन, यो नेपालीहरूको एजेण्डा हो । दलहरूका बीचमा आ-आफ्नो दृष्टिकोण छन् । मेरो व्यक्तिगत कुरा के हो भने यो सिंगो नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्छ । सबै दलले छलफल गरेर अघि बढ्नुपर्छ । सम्झौताको बुँदा-बुँदामा सामूहिक रूपमा छलफल गर्नुपर्छ । मेरो विचारमा त्यसरी छलफल गरेर निष्कर्ष निकालेपछि पारित गर्दा उपयुक्त हुन्छ । तर, सहमतिबिना बलजफ्ती पास गर्दा यसले मुलुकको लागि राम्रो गर्दैन ।’
साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउनको लागि सर्वदलीय बैठक बोलाएर छलफल प्रारम्भ गरेको पनि सुनाए । उनले भने, ‘एमसीसी राष्ट्रिय एजेण्डा हो । यो प्रमुख प्रतिपक्षी दल एमालेको पनि एजेण्डा हो । सम्झौतामा कुन-कुन बुँदा अनुपयुक्त छन्, वा राष्ट्रिय हितविपरित छन् ? राष्ट्रियतामा प्रश्न उठाउने कुरामा, यो पारित गर्नु हुँदैन् । एमसीसी भनेको अमेरिकी सहयोग रकम, यो नेपालमा मात्रै आएको होइन । विभिन्न देशमा सम्पन्न भएका घट्ना पनि छन् । सबै दलहरूमा छलफल गरेर र पुनरावालेकन गरेर पारित गर्नुपर्छ ।’
उनले पार्टीको विधानको संरचना अनुसार नै ल्याउनैपर्ने नेताहरूलाई सभापति देउवाले केन्द्रीय कमिटीमा ल्याउने पनि उल्लेख गरे । ‘सभापति देउवाले पार्टीका शीर्ष नेताहरू, जसले निर्वाचनमा भाग लिनुभएको छैन, कतिपय भाग लिएर पराजित हुनुभएको छ, उहाँहरूलाई उचित स्थान दिनुहुनेछ भन्ने विश्वास लिएको छु । अहिले पार्टीभित्र ठूलो समस्या छैन ।’,उनले भने ।
उनले अहिले १४औं महाधिवेशनमा पदाधिकारीमा युवाहरूको उपस्थिति देखेर अन्य पार्टीमा पनि तरंग पैदा भएको सुनाए । उनले भने,‘हाम्रो उपस्थिति देखेर अन्य पार्टीमा तरंग आएको छ, अघिल्लो पुस्ताको अनुभव र हाम्रो पुस्ताको क्रियाशीलताले गर्दा आज पार्टीमा युवाहरूको यो उपस्थिति भएको हो ।’
परियारले कांग्रेसको इतिहासमा धेरै लामो समयपछि पार्टीको पदाधिकारी तहमा सहमहामन्त्री पदमा आफूलाई निर्वाचित हुने अवसर प्राप्त भएको भन्दै सबैमा हार्दिक आभार व्यक्त गरेका छन् । उनले भने,‘मलाई यो ठाउँमा पुर्याउनुहुने नेपाली कांग्रेसका हजारौं महाधिवेशन प्रतिनिधिहरू, जनसम्पर्क समितिबाट सहभागी हुनुभएका प्रतिनिधिहरू सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij