Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

‘असहाय बालबालिका’ पढाइमा अब्बल  

‘असहाय बालबालिका’ पढाइमा अब्बल  

  • 679
    SHARES
  • ‘असहाय बालबालिका’ पढाइमा अब्बल  

    दाङ/तुलसीपुर । अभिभावकविहीन भइ सडकमा भौतारिरहने बालबालिकाले विद्यालय जान पाएपछि भने उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-६ डुम्रिगाउँस्थित दिदीघर संस्थामा रहेका बालबालिकाले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका हुन् । सोही वडामा रहेको ग्रेट अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत ती बालक सबै कक्षामा प्रथम, द्वितीय वा तृतीय हुने गरेका छन् । प्रथम त्रैमासिक परीक्षामा नर्सरीबाट सन्तोष थापाले प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

    नर्सरीमा चार विद्यार्थीले पठन-पाठन गरिरहेका छन् । त्यस्तै एलकेजीमा निखिल खत्रीले प्रथम स्थान हासिल सफल गर्न सफल भएका छन् । एलकेजीमा दुई विद्यार्थी अध्ययनरत छन् । त्यस्तै युकेजीमा दिलीप मगरले प्रथम स्थान हासिल गरेका छन् । अहिले युकेजीमा चार विद्यार्थी अध्ययनरत छन् । त्यस्तै कक्षा १ मा रेखा विकले प्रथम स्थान हात गरेकी छिन् । युकेजीबाट कक्षा जम्प गरेर १ मा आएकी सुनिता विकको पनि पढाइ राम्रो छ । कक्षा १ मा दुई विद्यार्थी अध्ययनरत छन् ।

    त्यस्तै कक्षा २ मा अध्ययनरत राजेश चौधरी तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै कक्षा ३ मा सुस्मिता चौधरी कक्षा प्रथम भएकी छिन् । कक्षा ३ मा संस्थाका सात विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यस्तै कक्षा ५ बाट मञ्जु चौधरी प्रथम हुन सफल भएकी छिन् । सोही कक्षामा अहिले दुई विद्यार्थी अध्ययनरत छन् ।

    अहिले संस्थामा २२ विद्यार्थीलाई राखिएको अध्यक्ष स्यानी चौधरीले जानकारी दिइन् । ‘हामीले २२ विद्यार्थीलाई राखेका छौँ’, उनले भनिन्, ‘ती सबै घरबारविहीन अवस्थामा रहेकाहरू हुन् ।’ कोही आमा र बुवा नभएका छन् भने कोही आमाबुवाले स्याहारसुसारमा कुनै ध्यान नदिएकाहरू रहेका उनको भनाइ छ । कोही भने आमा बितेर बुवाले अर्कै विवाह गरेर बसेका पनि रहेको उनले बताइन् ।

    ‘यी सबै विद्यार्थी स्कूल जानबाट बञ्चित थिए’, उनले भनिन्, ‘हामीले त्यस्ता विद्यार्थी पठन-पाठनबाट बञ्चित नहोऊन् भनी राख्ने गरेका छौँ ।’ ती सबै बालबालिकालाई अहिले स्यानीले नै हेरचाह गर्दै आएकी छिन् भने घरमा पनि पठन-पाठन गर्ने गरेकी छिन् ।

    ‘विद्यालयमा एउटा आधार बनेको हुन्छ, त्यो कुरा घरमा आएर पनि पढाउने सहज वातावरण भयो भने विद्यार्थीको पठन-पाठन धेरै राम्रो हुन्छ’, उनले भनिन्, ‘हामीले अहिले पठन-पाठनका लागि एक शिक्षिका पनि राखेका छौँ, अहिले म आफैँ पनि पढाउँछु, त्यसले गर्दा पनि नतिजा सुधार भएको हो ।’ अहिले उपमहागरपालिका र किवानिश क्लबले वार्षिक दुई/दुई लाख सहयोग गर्दै आएका छन् । त्यसबाहेक अन्य कुनै निकायबाट सहयोग नआएको उनको भनाइ छ ।

    सन्तानजस्तै माया

    आफ्नै सन्तान जसरी ती बालबालिकालाई माया दिइरहेको उनले बताइन् । ‘उनीहरूलाई आफ्नै सन्तान जसरी माया दिएर राखेकी छु’, उनले भनिन्, ‘बालबालिकालाई भविष्यमा ठूलो मान्छे बनाउने मेरो लक्ष्य छ ।’ ती बालबालिकालाई साँझ-बिहान संस्थामै पढाउने वातावरण पनि बनाएको अध्यक्ष चौधरीले बताइन् । विद्यालयमात्रै पढेर नहुने भन्दै उनले साँझ बिहान पढाउनका लागि संस्थामा शिक्षिका पनि राखेको बताइन् ।

    विसं २०६१ देखि संस्थाले पिछडिएका, गरिब तथा सहाराविहीन विद्यार्थीको भविष्य उज्ज्वल बनाउँदै आएको छ भने २०७५ देखि उनले आफैं बालबालिका राखेर पठन-पाठन गराउन थालेकी हुन् । दिदीघर संस्थाको तुलसीपुर-१३ बखरियामा शाखा सञ्चालनमा ल्यााइएको छ । सोही शाखामा अहिले छात्रहरूलाई राखिएको उनले बताइन् । डुम्रीगाउँमा छात्रा र बखरियामा छात्रलाई राखिएको उनको भनाइ छ । सांकेतिक तस्बिर । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij