वेबटिभी खबर
सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रहरी भ्यानमा ठोक्किएर स्थानीय व्यवसायीको मृत्यु भएको घटनाले तनाव सृजना गरेकै बेला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन् । गत कात्तिक ९ गते हाजिर भएका प्रजिअ बाबुराम खतिवडाको ठाउँमा सोमबार स्थानेश्वर गौतमलाई पठाइएको छ ।
प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका-५ का ३० वर्षीय व्यवसायी रामकुमार महतोको मृत्यु भएपछि त्यो क्षेत्र तनावग्रस्त बनेको छ । आइतबार राति ठक्कर लागेर मृत्यु भएका महतोको विषयमा सोमबारमात्र प्रहरीले जानकारी दिएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।
ठक्करबाट मृत्यु भएको विरोधमा ईश्वरपुरका व्यवसायी र स्थानीयले सोमबार प्रहरीविरद्ध प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीको एउटा जिपमा आक्रोशित भिडले आगजनीसमेत गरेको थियो । केही राउण्ड अश्रुग्यास प्रहार गरेर प्रहरीले भिड तितरवितर बनाएर जिपमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।
यसैबीच नयाँ प्रजिअ गौतम पुगेलगत्तै ईश्वरपुरमा भइरहेको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक डाकेका छन् । सोमबार पीडित र प्रहरीबीच भएको वार्ताले कुनै समाधान निकाल्न सकेन । मंगलबार पनि तनाव हुनसक्ने भएकाले प्रहरीले थप मद्दत मगाएको छ ।
पीडितसँग वार्ता गर्न उच्च अधिकारी जिल्लामा नभएकोले पनि समस्या समाधान नभएको हो । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक (एसपी) जिल्ला बाहिर भएकाले सोमबार कुनै समाधान निस्कन सकेन ।
सोमबार साँझै नयाँ प्रजिअ र एसपी जिल्ला पुगेका छन् । सर्लाहीका नागरिक अगुवा शिवचन्द्र चौधरीले विगत १४ महीनामा जिल्लामा ७ जना प्रमुख जिल्ला अधिकारी फेरिएको बताए । ‘सोमबार त एक्कासी नयाँ प्रजिअ आउनु भयो,’ उनले भने, ‘जिल्लामा समस्या भएकै बेला आउनु भएको नयाँ प्रजिअले सर्वपक्षीय बैठक राखेर समाधानको प्रयास गर्नु सकारात्मक छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij