वेबटिभी खबर
महेन्द्रनगर । कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी सुरुगरेकाे छ । आयोजनाले कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको गृहकार्य अघि बढाइएको हो ।
मुल नहर निमार्ण सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झण्डै ५० किलोमिटर लामो शाखा नहर निमार्णका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए । करिब १३ किलोमिटर मुल नहर निमार्ण सकिए पनि आयोजनाअन्तर्गत बाँकी १५ किलोमिटर मुल नहर निमार्णाधीन अवस्थामै छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणमाशाखा नहर निमार्णको तयारी तीव्र पारेको छ । ‘शाखा नहर निमार्णका लागि योजना बनाउँदै छौं’, पण्डितले भने, ‘आगामी फागुनभित्र शाखा नहर निमार्णको ठेक्का आह्वान गर्ने तयारी छ ।’ भारतले महाकाली नदीदेखि नेपाल-भारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ ।
महाकाली सन्धीअनुसार भारतले नेपालको सीमासम्म यहाँ १ हजार २ सय मिटर मूल नहर र हेडरेगुलेटर लगायतका संरचना बनाउनुपर्ने हुन्छ । सोहीअनुसार भारतले नहर निमार्ण लगभग अन्तिम चरणमा पुर्याएको इन्जिनियर पण्डितको भनाइ छ ।
आयोजनाले नेपाल-भारत सीमा क्षेत्रमा नेपालतर्फ करिब २ सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ । सो नहर भीमदत्त नगरपालिका-९ ब्रह्मदेव क्षेत्रमा पर्छ । शून्य बिन्दुदेखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको काम समेत अघि बढेको छ । ‘निमार्णाधीन १५ किलोमिटर मूल नहर बीचमा जग्गा मुआब्जा र सामुदायिक वनमा रुख कटानका कारण ढिलाइ भएको हो’, उनले भने ।
त्यस्तै, सिँचाइले कञ्चनपुरको महाकाली पारी दोधारा चादँनीमा समेत नहर निर्माणका लागि सर्वेथालेके भए पनि स्थानीयको अवरोध पछि केही समय स्थगित भएको छ । ‘स्थानीयले अवरोध गरेपछि दोधारा चादँनीमा सर्वेको काम अहिले रोकिएको छ’, पण्डितले भने, ‘त्यहाँ महाकालीबाट सिँचाइका लागि ३५० क्युसेक पानी लगिनेछ ।’ हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि २ अर्ब ३० करोडको ठेक्का सम्झौताअनुसार काम भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij