Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पुरुषमाभन्दा महिलामा बढी क्यान्सर

पुरुषमाभन्दा महिलामा बढी क्यान्सर

  • 453
    SHARES
  • पुरुषमाभन्दा महिलामा बढी क्यान्सर

    चितवन । चितवनको बिपी कोइराला मेमोरियल क्यानसर अस्पतालमा रहेका क्यानसर बिरामीमध्ये पुरुषमाभन्दा महिलामा क्यान्सर बढी देखिएको छ । अस्पतालमा रहेका बिरामीको तथ्याकंअनुसार, पुरुषभन्दा महिलाको संख्या बढी देखाएको हो । उक्त तथ्यांकअनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला र पुरुष ४५ प्रतिशत रहेका छन् ।

    गत आर्थिक वर्षमा अस्पतालमा ९० हजार ५७१ ले सेवा लिएकामा ४ हजार ६०८ नयाँ क्यान्सरका बिरामी थिए । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार नयाँ क्यान्सका बिरामीमध्ये २ हजार ५१७ महिला र २ हजार ९१ पुरुष रहेका छन् । २५ हजार हाराहारी पुराना क्यान्सरका बिरामी रहेको उनको भनाइ छ ।

    कोभिडका कारण गत वर्ष बिरामीको संख्या कम देखिएको र त्यस अवधिमा महिलाको संख्या बढ्दै गएको कार्यकारी निर्देशक गौतमले बताए । अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा बढी १२ प्रतिशत फोक्सोको क्यान्सर, दोस्रो धेरै पाठेघरको मुखको क्यान्सर १० दशमलव १७ प्रतिशत, स्तनको क्यान्सर १० दशमलव ११ प्रतिशत, मुखभित्रको क्यान्सर ९ दशमलव ५ प्रतिशत रहेका थिए ।

    यस्तै महिलाको पाठेघर, पित्तथैली, आमाशय, थाईराइड र कलेजोमा ल्युकेमिया, कोलनजस्ता क्यान्सर हुने गर्दछ । पुरुषको आमाशय, पिसाबथैली, ल्यारेक्स, कलेजो, ल्युकेमिया र जिब्रोमा रेक्टम, कोलनजस्ता क्यान्सर बढी हुने गरेका छन् ।

    क्यान्सर हुनाको यकिन कारण भन्न नसकिए पनि स्तन र पाठेघरको मुखको क्यान्सर बढी भएका कारण महिलाको संख्या बढ्दै गएको हुनसक्ने अनुमान उनको थियो । पुरुष प्राय उपचारका लागि विदेश जाने तर धेरैजसो महिलाको यही उपचार हुने भएकाले पनि महिलाको तथ्यांक बढेको हुनसक्ने अनुमान गरिएको छ ।

    निर्देशक गौतमको भनाइमा नेपालमा २५ हजार हाराहारी नयाँ बिरामी थपिन्छन् । तीमध्ये आधाभन्दा बढी उपचारका लागि विदेश जाने गर्दछन् । अस्पतालकी महिला क्यान्सर रोग विशेषज्ञ डा.विजय आचार्यले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर धेरैजसोलाई हुने भएकाले महिलाको संख्या बढेको हुनसक्ने बताइन् ।

    यहाँको क्यान्सर अस्पतालमा गत वर्ष थोरै संख्यामा उपचार भएकाले यही तथ्याकको आधार नै सही हो भन्न सक्ने अवस्था नरहने उनको भनाइ छ । पहिले पहिले दुई तीन प्रतिशत पुरुष बढी क्यान्सर रोगी हुने गरेको अस्पतालकी पूर्वकार्यकारी निर्देशकसमेत रहेकी आचार्यको भनाइ छ ।

    सोही अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा.अनिलविक्रम कार्कीले महिलामा जनचेतना बढेका कारण परीक्षण गराउन आउने संख्या बढेको हुनसक्ने बताए । उनले भने, ‘पाठेघरको मुख र स्तनजस्ता क्यान्सर घटाउन स्थानीयस्तरमा जनचेतनाका कार्यक्रम गर्नुपर्यो ।’ स्क्रिनिङ कार्यक्रम गरेर परीक्षण गर्ने र व्यापक जनचेतना जगाउन सकेमा क्यान्सर रोकथाम गर्न सहज हुने उनको भनाइ छ ।

    अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्माले खानपान र आनीबानीबाट आधाभन्दा बढी क्यान्सर रोग घटाउन सकिनेमा जोड दिए । उनले भने, ‘समयमै उपचार गरे धेरैजसो क्यान्सर निको हुन्छ ।’ सुर्तीजन्य पदार्थ, मदिरा र लागुपदार्थले क्यान्सर बढाउने गर्दछ ।

    बासी, सडेगलेका र ढुसी परेका खानेकुरा, पोलेर वा डढेको मासुलगायत खानेकुरा र अखाद्य रङ प्रयोग गरेका खानेकुरा खाएमा क्यान्सर हुनसक्ने सम्बद्ध चिकित्सकले बताए । धुलो, धुँवा र वातावरणीय प्रदूषणबाट जोगिन, नियमित शारीरिक व्यायाम गर्न, मौसमअनुसारका सागपात, तरकारी र फलफूलको नियमित सेवन गर्न  उनीहरुले सुझाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij