वेबटिभी खबर
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका-१३ स्थित झाँक्री ढुंगा सामुदायिक वनमा कुदिएका जस्ता हजारौं ढुंगा देखिन्छन् । त्यसलाई स्थानीयवासीले ‘जन्ती ढुंगा’को नाम दिएका छन् । त्यो ठाउँमा ‘जन्तीहरू बिलाएको’ भन्ने किंवदन्ती रहेको छ ।
कुँदिएका जस्ता देखिने ती ढुंगा जन्ती, दुलहा-दुलही रहेको स्थानीयवासी बताउँछन् । जन्ती बिलाए पछि त्यहाँ झाँक्री पनि गएको र उनी पनि त्यही बिलाएको भन्ने किंवदन्ती छ ।
‘हामी सानै छँदा यो बाटो हिँड्नु हुँदैन, त्यहाँ जन्ती बिलाएको ठाउँ हो, त्यो बाटो हिँड्दा हामी पनि बिलाउँछौं भनेर बूढापाकाले भन्नुहुन्थ्यो’, स्थानीयवासी ८० वर्षीय लीलाधर भट्टराईले भने, ‘त्यही भएर हामी यो बाटो हिँड्दैनथ्यौं ।’
त्यहाँ दुलही ल्याउन गएका जन्ती विश्राम गरेको र त्यही क्रममा बिहान भएपछि जन्तीहरूलाई कहाँ जाऊँ र के गरुँ भएपछि त्यही बिलाए भन्ने छ । यो कुरा अहिलेसम्म कही पनि खुलेको छैन ।
यो ठाउँ पर्यटकीयस्थल बन्न सक्ने भएकाले यसको प्रचार आवश्यक रहेको भन्दै त्यहाँ वर्षेनी मेला लाग्ने गर्छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला लाग्ने गरेको स्थानीयवासी जागेश्वर वलीले बताए । ‘यहाँको प्रचार-प्रसार गर्न सकियो भने पर्यटकीय हिसाबले ठूलो क्षेत्र बन्न सक्छ’, उनले भने, ‘सोहीअनुसार हामीले प्रत्येक वर्ष शिवरात्रिमा मेला लगाउँछौं ।’
तुलसीपुरको १३ र १४ को सिमानाअन्तर्गत झाँक्री ढुंगा सामुदायिक वनको डाँडामा त्यस्ता ढुंगा रहेका छन् । त्यहाँबाट रिहार जोड्ने सडक छ । यसले गर्दा पनि सहजै पर्यटक आउन सक्ने स्थानीयवासी मोहन पौडेलको भनाइ छ ।
‘सडक लगभग बनेको छ, अब यो सडकलाई अलिकति व्यवस्थित बनाउनुपर्ने देखिन्छ’, उनले भने, ‘त्यत्ति गर्न सकिएमा यहाँ पर्यटकको घुइँचो लाग्छ ।’ भ्यूटावर निर्माण गर्न सके दाङसहित छिमेकी जिल्लाका भू-भाग अवलोकन गर्न सकिन्छ ।
अहिले त्यहाँ हुमबहादुर वलीको अध्यक्षतामा जन्तीढुंगा संरक्षण समिति गठन गरिएको छ । समितिले जन्ती ढुंगाको संरक्षण गर्दै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij