क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ वर्षको शुभकामना दिएका छन् । उनले मंगलबार दिएको शुभकामना सन्देशमा विक्रम सम्वत् २०७८ को सुरुवात नेपालीहरुले नयाँ वर्षलाई सामूहिक पर्वको रुपमा मनाउने भएकाले विगतको समीक्षा गर्न र भविष्यका लागि आशाहरु बाँड्ने अवसर भएको बताएका छन् ।
‘अष्ट्रेलियामा युवा तथा ऊर्जावान् समुदायका रूपमा तपाईहरुले धेरै कुराको अनुभव गर्नु छ’ उनले शुभकामना पत्रमा भनेका छन् । उनले नेपाली नयाँ वर्ष अष्ट्रेलियाली समुदायका पनि नेपालीहरुको संस्कृतिका सुन्दर पक्षहरुको अनुभव गर्न पाउने अवसर रहेको बताएका छन् ।
महामारीका कारण अन्य वर्षजस्तो यसपटक नभए पनि छिट्टै संकटमुक्त दिन आउने विश्वास व्यक्त गरेका छन् । विश्वव्यापी महामारीबाट अष्ट्रेलियामात्र नभई सिंगो विश्वको भविष्य बलियो बनाउनतर्फ सबै लाग्नु पर्ने पनि मरिसनको भनाइ छ । उनले नेपाली समुदायलाई शान्तिपूर्ण तथा सुरक्षित वर्ष बनोस भनी शुभकामना दिएका छन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij