Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

लोसपा मधेस प्रदेशको एक नम्बर पार्टी हुन्छ : जीतेन्द्र सोनल [अन्तर्वार्ता]

लोसपा मधेस प्रदेशको एक नम्बर पार्टी हुन्छ : जीतेन्द्र सोनल [अन्तर्वार्ता]

  • 969
    SHARES
  • लोसपा मधेस प्रदेशको एक नम्बर पार्टी हुन्छ : जीतेन्द्र सोनल [अन्तर्वार्ता]

    बहुदलीय व्यवस्थापछि नेपालमा पार्टीहरू जुट्ने र फुट्ने क्रम जारी छ । त्यसै क्रममा गत भदौमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन भयो । गत निर्वाचनको परिणामअनुसार हाल लोसपाको संगठन मधेस प्रदेशमा बलियो देखिन्छ ।

    images

    सिमान्तकृतको मुद्दा उठाउने पार्टीहरू मिलोस् भन्ने जनचाहना रहँदै आए पनि मधेसबाट फष्टाएर फैलिएका पार्टीहरू जुट्ने र फुट्ने क्रम रोकिएको छैन । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सत्तामा सहभागी हुने वा नहुने भन्ने विषयमा विवाद भएपछि जसपासँग फुटेर लोसपा बनेको थियो ।

    लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोको गृह प्रदेश भएकाले मधेस प्रदेशमा यसको प्रभाव बलियो छ । लोसपा गठनपछि मधेस प्रदेशमा सांगठनिक आधार कस्तो छ ? पार्टीको प्रदेश र जिल्ला अध्यक्षको मनोनयन हुँदा शीर्ष नेताबीच भएको विवाद, आसन्न स्थानीय तहको चुनावमा लोसपाको ल्याउने स्थानलगायत पार्टीका गतिविधिका विषयमा लोसपाका मधेस प्रदेश अध्यक्ष, प्रदेश सांसद एवं पूर्वमन्त्री जितेन्द्र सोनलसँग वेबटिभी खबरले गरेकाे कुराकानीको सम्पादित अंश :   

    जनता समाजवादी पार्टीबाट फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि मधेस प्रदेशमा तपाईंहरूको सांगठनिक प्रभाव कस्तो छ ? फुटले पक्कै पार्टी कमजोर भएको होला नी ?

    स्वभाविक रूपले पार्टी एक भएको बखत र पार्टी विभाजित भएपछिको शक्तिमा फरक हुन्छ । तर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आफ्नो सम्पूर्ण शक्ति लगाएर संगठन निर्माण गर्दै अगाडि बढिरहेको छ । हामी आउने दिनमा मधेस प्रदेशको एक नम्बर पार्टी बन्छौँ भन्ने विश्वास छ । पार्टी गत भदौ महिनामा फुटेको हो । पार्टी फुटेको करिब ७ महिना भइसकेको छ । अहिले हामी संगठनिक संरचनाहरू व्यवस्थित किसिमले निर्माण गर्दै, वैचारिक धरातल निर्माण गर्दै र सागठनिक संरचनाहरू निर्माण गर्दै गइरहेका छौँ ।

    आसन्न स्थानीय चुनावमा मधेस प्रदेशमा लोसपा कुन स्थानमा हुने अपेक्षा गर्नु भएको छ ?

    मधेस प्रदेशमा असोजमा स्थानीय चुनाव भएको थियो । त्यसैले वैशाखमा पाँच वर्ष नपुग्ने भएकाले यो प्रदेशमा पाँच वर्ष पूरा भएपछि गर्नुपर्छ भनेर हामीले सबैभन्दा पहिला असहमति राखेका छौं । निर्वाचित पदाधिकारीको कार्यकाल पाँच वर्षको हुनुपर्छ भन्ने माग राखेर सबैको ध्यानाकर्षण पनि गराएका थियौँ । अब यसको छिनोफानो हुँदै गर्छ । तर पनि आगामी स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा लोसपा नै मूल पार्टी भएर अगाडि आउँछ भन्ने विश्वास छ । यसका लागि हामीहरूले काम पनि गरिरहेका छौँ ।

    अहिलेको अवस्थामा मधेस प्रदेशको ठूलो दल कुनलाई मान्न सकिन्छ ?

    अहिले नै कुन दल ठूलो भनेर मूल्यांकन गर्न कठिन छ । मतको आधारमा मूल्यांकन गर्ने हो भने २०७४ को मतको सबै परिणमहरू अहिले खण्डित भइसकेका छन् । त्यसलाई कसरी आधार मान्ने ? संख्याको आधारमा मान्ने हो भने प्रदेश संसदमा छुट्टै संख्या छ । मुलुको संघीय संसदमा छुट्टै संख्या छ । अहिले नै ठूलो दल कुन हो भनेर भन्न सकिने अवस्था छैन ।

    २०७४ को निर्वाचनमा मधेस प्रदेशमा समानुपातिकतर्फ परेको भोट र त्यसका आधारमा पाएको सीट संख्या हेर्ने हो भने तत्कालीन समयमा लोसपा नै मधेस प्रदेशको एक नम्बर पार्टी हो । संख्याको हिसाबले अरू पार्टीको बढी होलान् । तर अहिले नै यो हो भन्न सकिने अवस्था चाहिँ छैन । तर अबको एक नम्बर पार्टी लोसपा हुनेछ ।

    जसपा फुटेर लोसपा बन्यो तर लोसपामा पनि असन्तुष्टि देखिएको छ । खासगरी तपाईंलाई महन्थ ठाकुरले प्रदेश अध्यक्ष बनाएकोमा वरिष्ठ नेता राजेन्द्र महतो नै असन्तुष्ट हुनुभयो । यसको असर पार्टीमा कस्तो छ ?

    यो असन्तुष्टि तपाईंले कसरी थाहा पाउनु भो ? मलाई थाहा छैन । राजेन्द्र महतोको नामनै लिनुभयो जवकी मैले उहाँको कुनै पनि असहमति, असन्तुष्टि भएको थाहा पाएको छैन । महन्थ ठाकुर पार्टीको अध्यक्ष भएकाले विधान बमोजिम उहाँले सबै संगठनिक संरचना निर्माण गर्ने दायित्व, जिम्मेवारी पाउनुभएको छ ।

    जीवन्त पार्टीभित्र सन्तुष्टि, असन्तुष्टि रहन्छन् । मृतप्रायः पार्टीमा त त्यो हुँदैन । लोसपा एउटा जीवन्त र लोकतान्त्रिक धारको पार्टी हो । मधेसी, आदीवासी, दलित, जनजाति, महिला, थारू लगायतको मनोभावना, उनीहरूका माग र मुद्दाको नेतृत्व गर्ने पार्टी हो । त्यसकारण एउटा जीवन्त पार्टीमा यस्ता कुराहरू हुन्छ । तर तपाईंले भनेजस्तो लोसपामा असन्तुष्टि छ भन्ने कुरा निराधार हो ।

    संसदीय दलको नेता, मन्त्री र अहिले प्रदेश अध्यक्ष सबै पद तपाईंलाई नै दिइयो भन्ने महतो पक्षका नेताहरूको गुनासो छ । तपाईं ठाकुर नेतृत्वको साविक तमलोपाको नेता भएकाले पदजति तपाईंलाई दिइएको भन्ने आरोप पनि छ । के भन्नु हुन्छ ?

    यो विषयमा कसैको असन्तुष्टि आएको छैन । यसबारे असन्तुष्टि आयो भनेर मलाई थाहा पनि छैन । राजेन्द्र जीले कहाँ असन्तुष्टि व्यक्त गर्नुभएको छ, त्यो मलाई थाहा छैन । त्यसकारण यसमा मेरो अरू कुनै टिप्पणी छैन ।

    आगामी स्थानीय चुनावका लागि पार्टीले के कस्तो तयारी गरिरहेका छ ?

    हामीले संगठनिक संरचना अनुरूप प्रत्येक जिल्लाहरूमा संगठन बनाउने र आगामी दिनमा आउने चुनौतीलाई कसरी समना गर्नेलगातयका कुराहरूलाई ध्यानमा राखेर काम गरिरहेका छौं । हाम्रो तयारीमा कुनै कमी गरेका छैनौं ।

    प्रदेश अध्यक्ष, जिल्ला अध्यक्षहरू मनोनय गर्ने विषयमा पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच दूरी बढेको भन्ने छ । अध्यक्षले एकलौटी गरेको भन्ने वरिष्ठ नेता पक्षको आरोप सहि हो ?

    यो प्रश्न मलाई भन्दा राजेन्द्र महतो जीलाई सोध्नुभयो भने तपाईंले सही उत्तर पाउनु हुन्छ जस्तो लाग्छ । सन्तुष्ट हुनुहुन्छ कि असन्तुष्ट हुनुहुन्छ भन्ने उहाँको मनको कुरा मलाई कसरी थाहा हुन्छ ? उहाँ हाम्रो पार्टीको वरिष्ठ नेता हुनुहुन्छ । उहाँको मनको कुरा म प्रदेश अध्यक्षले कसरी बताउन सक्छु ? 

    महन्थ ठाकुरसँग नजिक भएका लोसपाका नेताहरू बृषेशचन्द लालले पार्टी छाडेर ठाकुरकै नेतृत्वमा गठन भएको तराई मधेस लोेकतान्त्रिक पार्टीलाई जगाउनु भएको छ । पार्टीभित्र किन यसरी असन्तुष्टि चुलियो ?

    बहुदलीय व्यवस्था भएको मुलकमा पार्टीहरू जन्मिन्छन्, गठन हुन्छन्, विभाजन हुन्छन्, प्रवेश गर्छन्, पार्टी परित्याग गर्छन् । लोकतान्त्रिक पार्टीमा यो सामान्य प्रक्रिया हो । महन्थ ठाकुरसँग को नजिक को टाढा भनेर नाप्ने कुनै मापदण्ड छैन । महन्थजी पार्टीको अध्यक्ष हुनुहुन्छ । जिल्ला कमिटिमा रहने, उहाँको टिममा रहने, केन्द्रीय कमिटीमा, कार्यकारिणीमा रहने, पार्टीमा रहने सबैसँग उहाँ नजिक हुनुहुन्छ । त्यसकारण को नजिक को टाढा भनेर नाप्न कुनै यन्त्र छैन । राजनीतिमा त्यो यन्त्र पनि हुँदैन ।

    स्थानीय तहको चुनाव नजिकिदै गर्दा पार्टीभित्र चुलिएको असन्तुष्टिले पार्टीलाई असर गर्ला ?

    यसले कुनै असर गर्दैन । पार्टीमा कार्यकर्ताहरू आउने, जाने क्रम जारी रहन्छ । केही मानिसहरू पार्टी छोडेर गइरहेका छन् भने अरूले प्रवेश गरिरहेका छन् । यो क्रम चलिरहन्छ । मैले फेरि पनि भनें लोसपा मधेसी, जनजाति, दलित, आदीवासी थारू महिलाहरू को मुद्दा प्रतिनिधित्व गर्ने मुल पार्टी हो । यो प्रक्रिया लोसपाले निर्धक्क रूपमा अघि बढाउँछ र बढाइरहन्छ । व्यक्तिको कुरा हुँदैन । पार्टी, संगठन एकढिक्का छ । 

    तपाईं तीन वर्षभन्दा बढी प्रदेश सरकारको विकास हेर्ने भौतिक पूर्वाधार मन्त्री हुनुभयो । तपाईं मन्त्री हुदाँ प्रदेशले विकासमा कति प्रगति हासिल गर्याे ?

    हामीले धेरै काम गरेका छौँ । विकासका नयाँ खाकाहरू कोरेका छौँ । प्रदेश सरकार नयाँ थियो । कार्यालयमा कर्मचारीहरू थिएनन् । कुनै विधि, प्रक्रिया, नीति नियम तथा कार्यक्रम पनि थिएन । मधेस प्रदेशमा मात्र नभएर देशका सात वटै प्रदेशको सुरुको अवस्था यस्तै थियो । हामीले शून्यदेखि काम गर्याैं । प्रदेशमा नयाँ कानून, नियम बनायौँ ।

    मधेसी जनताको सम्मृद्धिका निम्त नयाँ खाका कोर्यौं । स्वभाविक रूपले विकास निर्माणको मुल मन्त्रालय भौतिक योजना तथा पूर्वाधार मन्त्रालय भएका नाताले हामीहरूले धेरै राम्रा–राम्रा कामहरू गरेका छौँ । प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा पनि पाँच किलोमिटर पक्की सडक निर्माण गर्ने । कृषिको लागि ‘खेत–खेतमा पानी हात–हातमा काम’ भन्ने मुल नाराहरू स्थापित गरेर सोही बमोजिमका कामहरू पनि गरेका छौँ ।

    प्रदेशभित्रका पीछडिएका दलित समुदायका घर निर्माण गर्ने नीति लिएर आयौँ । दलितहरूको लागि प्रत्येक जिल्लाका सदरमुकाममा छात्रावास निर्माण गर्ने नीति लिएर ल्यायौँ । समाजमा पीछडिएकाहरूको लागि कार्यक्रम ल्याउने, महिला सशक्तिकरणका कार्यक्रमहरू ल्याउने जस्ता थुप्रै कामहरू भएका छन् ।

    भौतिक पूर्वाधार मन्त्रालयको मुख्य काम सडक निर्माण भएका नाताले हामीले ‘जहाँ सडक त्यहाँ विकास’ भन्ने मनोभावनालाई कदर गर्दै अघि बढेका छौँ । यी कामले विस्तारै प्रतिफल पनि दिइरहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology