वेबटिभी खबर
काठमाडौं । यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।
पेट्रोलियम पदार्थमा पटक-पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको भन्दै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।
विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो छ । बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरुको भनाइ छ ।
आइतबार पत्रकारसम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरूपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरेका छन् ।
उनले ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले भाडा समायोजन गर्ने चेतावनी पनि दिएका छन् । व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९.०३, ट्रक (पहाड) को ११.८२ र ट्रक (तराई)को १३.१३ प्रतिशत लागत वृद्धि भएको छ ।
यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत ८.५ प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए ।
असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij