वेबटिभी खबर
तनहुँ । तनहुँको दुई पालिका जोड्ने फेदीखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा पक्की पुल बनेको हो ।
भिमाद-५ ऋषिङपाटन र ऋषिङ-८ पल्ट्याङ जोड्ने फेदीखोलामा २०७७ माघदेखि पुल निर्माणको काम सुरु भएको थियो । वर्षायाममा खोला बढेर तर्न गाह्रो हुने ठाउँमा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् ।
पुलको प्रदेशको पूर्वमन्त्री किरण गुरुङले शुभारम्भ गर्दै अब यस भेगका जनताले खोला तरेर जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३ करोड ५८ लाख ३१ हजार ९ सय ८० को लागतमा फेदीखोलामा पुल निर्माण सम्पन्न भएको हो ।
पुल निर्माणका लागि २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । २५ मिटर लामो पुलको चौडाइ ८.४ मिटर रहेको छ भने ६ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४/१.४ को पेटी निर्माण भएको छ ।
वर्षायाममा मान्छे बगाउने खोलामा पुल निर्माण भएपछि स्थानीयवासीलाई सहज भएको स्थानीयवासी एवं नेकपा एमाले ऋषिङ गाउँ कमिटीका अध्यक्ष गञ्जसिं गुरुङले जानकारी दिए । ‘हिउँदमा सामान्य भएपनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ’, उनले भने, ‘फेदीखोलामा पक्की पुल बनेपछि यहाँका स्थानीयवासीलाई अब सहज भयो ।’
फेदीखोला हिउँदको समयमा सुकेपनि वर्षायाममा निकै ठूलो हुन्छ । खोला बढेको बेला वारपार गर्न सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । यही खोलाले बगाएर २०७५ जेठमा कक्षा सातमा अध्ययनरत एक बालकको मृत्यु भएको थियो ।
ऋषिङका विभिन्न वडाका सर्वसाधारणको प्रमुख व्यापारिक केन्द्र भीमाद बजार हो । उक्त गाउँपालिकाका सर्वसाधारण यही खोला तरेर भीमाद बजार आउने गर्दथे तर पुल बनेपछि अब खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । फेदीखोलामा पक्की पुल बनेपछि भएपछि भीमाद र ऋषिङ हजारौं सर्वसाधारण लाभान्वित भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij