Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चुनावी तालमेल : कांग्रेसकाे निर्णय कुर्दै माओवादी केन्द्र, जसपा र एस

चुनावी तालमेल : कांग्रेसकाे निर्णय कुर्दै माओवादी केन्द्र, जसपा र एस

  • 747
    SHARES
  • चुनावी तालमेल : कांग्रेसकाे निर्णय कुर्दै माओवादी केन्द्र, जसपा र एस

    काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै जाँदा सत्तारूढ गठवन्धनबीच चुनावी तालमेल हुन्छ कि हुँदैन भन्ने विषय अहिले प्राथमिकतामा छ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानीय चुनाव हुने तालिका सार्वजनिक गरिसकेको अवस्थामा सत्ता गठवन्धनका दलहरू मिलेर जान्छन कि जाँदैनन् भन्ने अन्योल कामय छ ।

    स्थानीय चुनाव आफ्नो पक्षमा पार्न सबैजसो दलका शीर्ष नेता देश दौडाहामा निस्कने क्रम जारी छ । पार्टी प्रवेश गराउन शीर्ष नेताहरको दौडाहा अहिले बढेको छ । स्थानीय तहमा बढी ठाउँ जित्न सके प्रदेश र संघीय चुनावका लागि जग बलियो हुने आँकलनसहित धेरैभन्दा धेरै स्थानीय तह आफ्नो पक्षमा पार्ने लक्ष्यसहित पार्टीहरू प्रचारप्रसारमा लागिरहेका छन् ।

    केपी ओली नेतृत्वको सरकार फाल्न एक भएका गठबन्धनका दलहरू नेकपा (माओवादी) केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका नेताहरू यो गठवन्धनलाई निर्वाचनसम्म निरन्तरता दिनुपर्ने पक्षमा छन् । तर सत्ता गठवन्धनको प्रमुख दल नेपाली कांग्रेसले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।

    कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा गठवन्धनलाई निर्वाचनमा पनि निरन्तरता दिने पक्षमा लचिलो देखिएका छन् । तर कांग्रेसकै डा.शेखर कोइराला समूह निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने पक्षमा छन् । डा.कोइराला पक्षधर उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापाले निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने बताइरहेका छन् ।

    सभापति देउवाको भने गठवन्धन दलप्रति केही नरम नीति देखिन्छ । उनले निर्वाचनमा गठवन्धन गरेर जाने वा नजाने विषयमा स्पष्ट धारणा सार्वजनिक नगरे पनि सत्ता गठवन्धन दलका विरूद्ध कडा टिप्पणी नगर्न भने आफ्ना दलका नेताहरूलाई सार्वजनिक रूपमा आग्रह गरेका छन् ।

    निर्वाचनमा गठवन्धनका दलसँग सहकार्य गर्ने विषयमा पार्टीभित्रै फरक–फरक मत आएपछि पार्टी सभापति देउवाले यस विषयमा अहिले नै ठोस निर्णय लिन सकेका छैनन । सत्ताघटक दल एकृकीत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धनलाई चुनावमा निरन्तरता दिनुपर्ने जोड दिइरहेको छ ।

    स्थानीय चुनावमा गठबन्धन गरेर जानका लागि नेकपा एकीकृत समाजवादीले सर्लाही जिल्लामा वार्ता कमिटी नै गठन गरिसकेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि विभिन्न कार्यक्रममा चुनावमा गठबन्धन गरेर जानुपर्छ भन्न छुटाउँदैनन् ।

    मंगलबार मात्रै समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न नुवाकोट पुगेका अध्यक्ष नेपालले सत्ता गठवन्धनको एकता निर्वाचनसम्म कायम रहने दाबी गरेका थिए । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि गठवन्धनको सरकारले निर्वाचनमा पनि हातेमालो गर्नुपर्छ भन्ने पक्ष मै छन् ।

    पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा पाँच दलीय गठवन्धनबीच तालमेल हुने वा नहुने कुरा कांग्रेसमा निर्भर रहेको बताएका थिए ।

    गठबन्धनभित्र कुनै तिक्तता नरहेको र निर्वाचनमा तालमेल गरेर जानुपर्ने कुरा चलिरहेको उनको भनाइ थियो । आफूहरू गठबन्धलाई निरन्तरता दिने पक्षमा रहे पनि उक्त विषयमा कांग्रेसका नेताहरूबाट चुनावी तालमेलको बिषयमा फरक–फरक कुरा आइरहेकाले आगामी यात्राको निर्णय कांग्रेसको भूमिकामा निर्भर हुने प्रचण्डको भनाइ छ ।

    नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आशन्न निर्वाचनमा कसरी जाने भन्ने विषयमा पार्टीको कार्यसमिति बैठकले निर्णय गर्ने बताए । आगामी शुक्रबारदेखि बस्ने कांग्रेस कार्यसमितिको बैठकले उक्त विषयमा निष्कर्ष निकाल्ने उनी बताउँछन् । ‘केही दिनसम्म चल्ने कार्यसमितिको बैठकले नै यसबारे निष्कर्ष निकाल्छ,’ उनले भने, ‘बैठकमा छलफल भएरै यसबारे कांग्रेसले आधिकारिक धारणा सार्वजनक गर्छ ।’

    आवश्यक्ताको सिद्धान्तमा पार्टी चल्ने भएकाले जे गर्दा पार्टीलाई राम्रो हुन्छ सोही अनुसार अघि बढ्ने प्रवक्ता महतले बताए । स्थानीय तहमा पनि ठाउँ अनुसार फरक–फरक आवश्यकता रहेका कारण सोही अनुसार जिल्ला तहमा र केन्द्रीय तहमा पनि छलफल भइरहेको उनले बताए ।

    स्थानीय निर्वाचनमा गठवन्धन गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार जिल्ला समितिलाई नै दिने सन्दर्भमा पनि कांग्रेसभित्र बहस सुरु भएको छ । कांग्रेसले औपचारिक निर्णय नगर्दासम्म सत्ता गठवन्धन चुनावमा पनि मिलेर जान्छ वा जाँदैन भन्ने स्पष्ट भइसकेको छैन । यद्यपी कांग्रेस नमिले पनि गठवन्धनका अन्य दल भने मिल्ने सम्भावना देखिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij