Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

काठमाडौंमा महिला मेयरकाे चर्चा : सिर्जना सिंहको पक्षमा देखिएकाे जनमत

काठमाडौंमा महिला मेयरकाे चर्चा : सिर्जना सिंहको पक्षमा देखिएकाे जनमत

  • 2.2K
    SHARES
  • काठमाडौंमा महिला मेयरकाे चर्चा : सिर्जना सिंहको पक्षमा देखिएकाे जनमत

    सन् १९३२ मा काठमाडाैंले पहिलोपटक यसको मेयरको रूपमा सिंह शमशेरलाई पायो । तर उनी निर्वाचित मेयर थिएनन् । प्रधानमन्त्री चन्द्र शमशेरले ल्याएको ‘काठमाडाैं सबल ऐन’ मार्फत मेयर पदमा नियुक्त भएका थिए । त्यसको १५ वर्षपछि मात्रै स्थानीय चुनाव भयो । पहिलो स्थानीय चुनावमा राणाहरूको प्रतिनिधित्व गर्दै गेहेन्द्र शमशेर प्रथम निर्वाचित मेयर बन्न सफल भए ।

    images

    आम जनताको तर्फबाट उपमेयरमा चुनाव जिते शंकरदेव पन्तले । सन् १९४७ जुन ११ मा भएको उक्त चुनावमा २५ वर्ष उमेर पुगेका पुरूषले मात्र मतदान गर्न पाएका थिए । त्यसको आधा दशक पछि १९५३ सेप्टेम्बर २ का दिन यस मुलुकमा पहिलोपटक २१ वर्ष उमेर पुगेका महिला र पुरूष दुबैले प्रत्यक्ष मतदान गर्न पाएका थिए । त्यस चुनावबाट जनकमान श्रेष्ठ मेयरमा निर्वाचित भए ।

    सोही चुनावबाट पहिलो पटक सहानादेवी नेपाल वडा नं. ८ को महिला प्रतिनिधिको रूपमा चुनिइन् । जम्मा दुई हजार ४५५ मत ल्याएर सहानादेवी नेपालले राखेको काठमाडाैंको प्रथम महिला जनप्रतिनिधिको रेकर्डलाई गत स्थानीय चुनावमा उपमेयरमा सानदार मतसहित निर्वाचित हरिप्रभा खड्गीले एक तह माथि उकासिन् ।

    अब  हरिप्रभाले राकेको रेकर्ड भन्दा एक तह उपर अर्थात काठमाडाैं महानगरको पहिलो महिला मेयर बनेर निरन्तरता दिने को होला ? भन्ने प्रश्नलाई बल पुर्याएको छ सिर्जना सिंहको चैत २ को ट्विटले । उनले लेखेकी थिइन् ‘मेयरको धेरै चर्चा भयो । काठमाडाैं मा धेरै मेयर भए । पिएल सिंहको पालामा मात्रै केही सुधार भए । अब बाँकी सुधार गर्न महिला मेयरको माग राखौं । पुरूष मेयर धेरै हेर्यौं अब महिला मेयर हेरौं । रोजौं, सोच बदलौं । काठमाडाैंको मुहार बदलौं । व्यवस्थित शहर बनाऔं । जय काठमाडाैं । जय नेपाल ।’

    कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुनुका साथै कांग्रेसको एघारौं महाधिवेशनदेखि नैं महाधिवेशन प्रतिनिधिको रूपमा पार्टी राजनीतिमा संलग्न रहेकी सिर्जना सिंहको उक्त ट्विटले आमसञ्चार र राजनीतिक क्षेत्रमै ठूलो तरंग ल्यायो । राजधानीको मात्रै नभएर राष्ट्रिय राजनीतिमै एक बेग्लै र विशिष्ट पहिचान बनाएको चाक्सीबारीकी सिर्जना सिंहले उक्त ट्विटपछि आफू नै काठमाडाैंको मेयर प्रत्याशीको रूपमा प्रस्तुत हुने अथवा नहुने सम्बन्धमा सार्वजनिक रूपमा कतै केही उल्लेख गरेकी छैनन् । तर उनलाई मेयर प्रत्याशी बन्नका लागि प्रेरित गर्दै लेखिएका ट्विट र सोसँग सम्बन्धित समाचारहरूलाई लाइक र रिट्वीट भने गर्ने गरेकी छिन् । कांग्रेसबाट काठमाडाैंको मेयरमा आकांक्षी धेरै जना मुखर रूपमा आए पनि सिर्जना सिंहले गरेको अप्रत्यक्ष दाबेदारीले आमसञ्चार र सामाजिक सञ्जालमा पाएको प्राथमिकताले अन्य आकांक्षीहरूलाई ओझेलमा पारेको छ ।

    उसो त सर्वसाधारण र सामान्य कांग्रेसी कार्यकर्ताकै लागिसमेत सुपरिचित नाम होइन सिर्जना सिंह । तर चैत २ गते उनले गरेको ट्विटले पाएको व्यापक चर्चापछि उनी मेयरको प्रवल दाबेदार हुन भन्ने पुष्टि गर्छ । उनको उक्त ट्विट सार्वजनिक भए लगत्तै उनको दाबेदारीको पक्ष र विपक्षमा मतहरू सार्वजनिक भएका छन् ।

    उनको विपक्षमा बिचार राख्नेहरूले उनलाई कांग्रेस नेता प्रकाशमान सिंहको पत्नी भएकै कारण मेयरको आकांक्षी भएको आरोप लगाएका छन्  । परिवारवादलाई प्रश्रय दिएको अभिव्यक्ति दिएका छन् । यस्ता अभिव्यक्ति दिनेहरूमा सार्वजनिक पहिचानवाला ब्यक्तिहरू नगन्य छन् । त्यस्ता अभिव्यक्तिहरूलाई अन्य ट्विटर  प्रयोगकर्ता हरूले सिर्जना सिंहले २०३७ सालको जनमतसंग्रहकै बेला केवल सोर्ह्र वर्षको उमेरमा गोर्खा जिल्लामा महिला संघको नेतृत्व गरेको, पछि काठमाडाैं महाबौद्ध क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई सभापति भएको, २०३९ सालमा शंकरदेव क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा हालकी माओवादी नेतृ एवम् उर्जा मन्त्री पम्फा भुसाललाई कोषाध्यक्ष पदमा पराजित गरेको एवम् प्रजातान्त्रिक आन्दोलनमा क्रियाशीलका कारण कयौं पटक प्रहरी हिरासतमा समेत परेको जस्ता उनका ब्यक्तिगत नेतृत्व सीपको उल्लेख गर्दै उनलाई केवल प्रकाशमान सिंहको पत्नीको रूपमा मात्रै हेरिनु उनको नेतृत्व क्षमताको उपहास भएको भन्दै उनको बचाव गर्ने गरेका छन् ।

    केही ठूलो संख्यामा ट्विटर फलोअर्स भएका डाक्टर रामेश कोइराला, जैनेन्द्र जीवन लगायतका ट्विटर प्रयोगकर्ताहरूले अप्रत्यक्ष समर्थन गरेका छन् सिर्जना सिंहको दाबेदारीलाई । उनको विरूद्धमा खासै उल्लेख्य ट्विट आएका देखिंदैन । बरू उनको अप्रत्यक्ष दाबेदारीलाई कांग्रेस इतर भनेर चिनिएका केहीले अप्रत्यक्ष रूपमै समर्थन गरेका छन् ।

    नेकपा एमालेसँग नजिक भनेर चिनिने पत्रकार यशोदा तिम्सिनाले चैत ३० गते अर्की वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत र सिर्जना सिंहसँग प्रसन्न मुद्रामा आफू समेत उभिएको तस्बिर साझा गरेकी छिन् । उनले सो तस्बिरसँगै ‘यो तस्वीरको महत्त्व बढ्ला ? भन्ने प्रश्न गर्दै ट्विट गरेकी छिन् । त्यसैगरी मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले पनि सिर्जना सिंहले जारी गरेको नव वर्षको शुभकामनाको डिजिटल कार्डलाई कोट गर्दै अर्थपूर्ण ढंगले उनलाई नव वर्षको शुभकामना व्यक्त गरेकी छिन् । अर्की सञ्चारकर्मी पवन वर्षा शाहले पनि सिर्जना सिंहलाई नैं लक्षित गर्दै ‘यसपटक काठमाडाैंको मेयर महिलालाई बनाऔं’ लेखेकी छिन् । चाखलाग्दो कुरा के छ भने सिर्जना सिंहको पक्षमा आएका यस्ता प्रतिनिधि ट्विटहरूले नकारात्मक रिप्लाई भने शून्य कै हाराहारीमा पाएका छन् ।

    उनका प्रतिस्पर्धी मानिएका कांग्रेसका केही मेयर आकांक्षीहरूले पनि सिर्जना सिंहको विरोध गरेका छैनन् । बहालवाला उपमेयर एवं मेयर पदकी प्रवल दाबेदार हरिप्रभा खड्गीले एक ट्विटर प्रयोगकर्ताद्वारा सिर्जना सिंहको फोटो सहित ‘उहाँ नै हो काठमाडाैंको मेयर पदको दावेदार’ भनी गरेको ट्विटलाई लाइक गरेकी छिन् । त्यसैगरी नेपाली कांग्रेस काठमाडाैं महानगर समितिका सचिव एवम् मेयर पदका दावेदार सुसन वैद्यले चाक्सिबारीमै सिर्जना सिंहसँग उभिएर खिचेको आफ्नो तस्बिर साझा गर्दै १५ चैतमा एउटा ट्विट गर्दै लेखेका छन् ‘मंगलादेवी र सिर्जना सिंहलाई नेता पत्नी मात्र संझिनु राजनैतिक महिला हिंसा हो।’

    काठमाडाैंका पुराना एवम् प्रभावशाली नेता नरोत्तम वैद्यले गणेशमान सिंह र मंगलादेवीको विरासत बोक्ने सामर्थ्य सिर्जना सिंहमा रहेको उल्लेख गरे । उनले भने, ‘चाक्सीबारीले नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको र त्यसको लागि सिर्जना सिंहको महत्त्वपूर्ण भूमिका रहेको यथार्थलाई आत्मसाथ गर्न कंन्ज्युस्याइँ गर्नु हुदैन । सबै कांग्रेसी र प्रजातान्त्रिक मूल्यमा विश्वास गर्नेहरूले चाक्सीबारीको योगदानको कदर भुल्नु हुँदैन ।’

    सिर्जना सिंहको उम्मेदवारी सम्बन्धमा यो पंक्तिकारले धेरै जनासँग कुराकानी गर्दा काठमाडाैं कांग्रेसका प्रतिनिधि युवा नेताहरूको सकारात्मक भनाइ पाइन्छ । वडा नं ३० का कांग्रेस कार्यकर्ता अर्जुन श्रेष्ठले सिर्जना सिंहलाई काठमाडाैं कांग्रेसका युवाहरूले एउटा समाजसेवी अभिभावकको रूपमा मान्दै आएकोले अब महानगरको मेयरको रूपमा हेर्न पाइने संभावनाले उत्साहित बनाएको बताए । 

    त्यस्तै कोटेश्वरका कांग्रेस समर्थक बुद्धिजीवी प्रकाश भट्टराई भन्छन् ‘सिर्जना सिंहले महानगरको नेतृत्वदायी भूमिकामा रूचि राख्नुले मुलुकभरिका महिलालाई कुनै पनि जिम्मेवारीका निम्ति बहुआयामिक ढंगले प्रेरित गर्नेछ ।’

    अर्का युवा नेता एवम् ट्रेड युनियन कांग्रेस बागमती प्रदेश सचीव राजेश हुमागाईं देशले गणेशमान सिंह, मंगलादेवी सिंह र प्रकाशमान सिंहजस्तो प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेता पाउनुको पृष्ठभूमिमा सिर्जना सिंहको योगदान भुल्न नहुने बताए । 

    स्वतन्त्र बुद्धिजीवी एवम् गोरखापत्रका पूर्व सम्पादक, लेखक युवराज गौतम सिर्जना सिंहको उम्मेदवारीलाई काठमाडाैं महानगरवासीले पाएको एउटा अवसरको रूपमा लिन्छन्  । ‘सिर्जना सिंह चाक्सीबारी कै उत्तराधिकारीको रूपमा प्रस्तुत भएकै कारण मेयर निर्वाचित भएको खण्डमा जुनसुकै शर्तमा पनि राम्रो काम मात्रै गर्ने बाध्यत्मक अवस्थामा हुनेछिन,’ उनले भने, ‘जसको प्रत्यक्ष फाइदा महानगरवासीलाई हुनेछ ।’

    त्यसैगरी काठमाडाैं जिल्ला महिला संघ र नेपाल विद्यार्थी संघले काठमाडाैंको मेयरको निम्ति उनकै नामको मात्रै सिफारिस गर्नुले पनि सिर्जना सिंहकाे शसक्त दाबेदारी रहेकाे निश्चित हुन्छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology