थाहा छैन हामीलाई के हो कहाँ हो हाम्रो गन्तव्य
गन्तव्यबिनै किन चाहियो र बाटो नै छ भने यति सुरम्य
हिँड्दै जाँदा तिमी मुस्कुराउनु मेरो औंला छोएर
यात्राभरी फूल बर्साइदिन्छु सारा पिर ब्यथा भुलेर !
चुमेर तिम्रो निधारमा केशराशी सुम्सुम्याउँदा
खुसीले अर्धबेहोसीमा छातीमा तिमी निदाउँदा
पुष्पवृष्टि भइदिन्छ हेर आकाशको शीरबाट
मंगलध्वनि गुञ्जिदिन्छ मुटुभित्रको भिरबाट !
सिर्सिर बतास चलिदिँदा सुमधुर त्यो साँझभरि
सिमसिम पानी झरिदिँदा मनोहर त्यो वागभरि
उघ्रिन्छ छाती ओतिन्छौं हामी प्रेमरस मिठासको
फिका हुँदै जान्छ अनि अरू प्रेमकथा इतिहासको !
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology