Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

देशभर शिक्षक अभाव कायमै, आयोग के गर्दैछ ? 

देशभर शिक्षक अभाव कायमै, आयोग के गर्दैछ ? 

  • 2.3K
    SHARES
  • देशभर शिक्षक अभाव कायमै, आयोग के गर्दैछ ? 

    काठमाडौं । सामुदायिक विद्यालयमा स्थायी शिक्षक नियुक्तिका प्रतिस्पर्धीहरू गणित–विज्ञान, अर्थशास्त्र, स्वास्थ्यलगायत विषयमा कमजोर देखिएका छन् । शिक्षक सेवा आयोगले गत साता प्रकाशित गरेको माध्यमिक र निम्न माध्यमिक तहको प्रारम्भिक परीक्षामा कतिपय प्रदेशमा यी विषयमा माग संख्याभन्दा कम मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    images

    सामुदायिक विद्यालयमा सबैभन्दा बढी गणित, विज्ञान र अंग्रेजीका विषयगत शिक्षक अपुग छ । रिक्त दरबन्दी पूर्तिका लागि गरिएको प्रतिस्पर्धामा पनि माग संख्याभन्दा थोरै उम्मेदवार मात्र सफल भएपछि शिक्षक अभाव कायमै रहने देखिएको छ ।

    आयोगले शिक्षक छनोटका लागि पहिलो पटक दुई चरणमा परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको हो । आयोगले सुरु गरेको नयाँ छनोट विधिका कारण उत्तीर्ण प्रतिशत घटे पनि सामुदायिक विद्यालयले क्षमतावान र गुणस्तरीय शिक्षक पाउने शिक्षाविद् मनप्रसाद वाग्ले बताउँछन् । ‘पहिले बीएडमा जे पढ्यो, त्यही कुरा प्रतिस्पर्धाको परीक्षामा सोध्दा धेरै पास हुन्थे, अहिले आयोगले दायरा बढाएर प्रश्न सोध्दा उत्तीर्ण प्रतिशत घटेको देखिएको हो,’ उनले भने । शिक्षाविद् वाग्लेले २० वर्षअघि नै विज्ञहरूले सरकारलाई शिक्षक सेवा आयोगको परीक्षा सुधार गर्न सुझाव दिएकामा अहिले मात्रै कार्यान्वयन आएको बताए ।

    शिक्षाविद् वाग्ले अहिले पढाइ र पेसा प्रवेशको तालमेल मिल्न नसकेको बताउँछन् । ‘विश्वविद्यालयले विद्यालयलाई चाहिने जनशक्ति उत्पादन गर्न सकेका छैनन्, आफ्नो पढाइमा पुनर्विचार गर्नुपर्छ,’ उनले थपे, ‘सरकारले पनि सामुदायिक विद्यालयमा योग्य शिक्षक पठाउन कार्यक्रम ल्याउनुपर्छ ।’ शिक्षा संकायमा स्नातक, स्नातकोत्तरको डिग्री दिने विद्यार्थी गाइड र ट्युसन सेन्टरको भर परेर परीक्षामा सहभागी हुँदा नतिजा राम्रो नभएको वाग्लेले टिप्पणी गरे । ‘पढाइ र पेसाको तालमेल मिलाउन विश्वविद्यालय र सरकारले योजना ल्याउनुपर्छ,’ उनले भने ।

    आयोगले शुक्रबार सार्वजनिक गरेको निमावि तहको नतिजामा प्रदेश १, मधेस, वाग्मती र कर्णाली प्रदेशमा गणित–विज्ञान विषयमा माग संख्याभन्दा कम विद्यार्थी मात्रै उत्तीर्ण भए । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा माग संख्याभन्दा केही बढी उम्मेदवार मात्रै सफल भएका छन् । मधेस प्रदेशमा मावि विज्ञान विषयमा २२ जना शिक्षक माग गर्दा ७ जना मात्रै उत्तीर्ण भएका छन् । गणितमा १७ जानको माग रहेकामा १५ जना मात्रै उत्तीर्ण भएका हुन् ।

    आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले गणित–विज्ञान विषयको प्रतिस्पर्धा कमजोर देखिएको बताए । प्रदेश १ मा उक्त विषयका लागि १ सय ६१ शिक्षक पूर्ति गर्न विज्ञापन गरिएको थियो । १ सय ३७ जना मात्रै पहिलो चरणमा सफल भएका छन् । पहिलो चरणमा सफल हुने मावि, निमावि दुवै तहको विषयगत परीक्षा असारमा सञ्चालन हुनेछ । विषयगत र अन्तर्वार्तामा सफल हुने प्रतिस्पर्धी स्थायी शिक्षकका रूपमा नियुक्ति हुनेछन् ।

    मधेस प्रदेशमा निमावि गणित–विज्ञान विषयका लागि २० जना शिक्षक माग्दा ८ जना मात्रै परीक्षामा सफल भएका छन् । वाग्मतीमा ३८ जना गणित–विज्ञान शिक्षकको दरबन्दी रिक्त थियो । परीक्षामा ३५ जना मात्रै उत्तीर्ण भए । कर्णालीमा २३ जनाका लागि दरखास्त आह्वान गर्दा १७ जना मात्रै सफल भएका छन् ।

    अन्य विषयका तुलनामा गणित–विज्ञान विषयका आवेदक नै थोरै रहेकाले मागअनुसार शिक्षक पूर्ति गर्न नसक्ने अवस्था रहेको मरहट्ठाले जनाए । निमावि तहमा एउटै शिक्षकले गणित र विज्ञान विषय अध्यापन गराउन सक्ने हुनाले गणित–विज्ञान विषयको शिक्षक नियुक्ति गर्ने व्यवस्था छ । मधेस प्रदेशमा विज्ञान विषयमा ३५ शिक्षक माग गर्दा ३४ जना मात्रै परीक्षामा सफल भएका छन् ।

    सबै प्रदेशमा अर्थशास्त्र, लेखा, कम्प्युटर, व्याकरण र संस्कृत विषयको शिक्षकका लागि पनि नतिजा सन्तोषजनक आउन नसकेको आयोगका पदाधिकारीहरूले बताए । मावि तहको अर्थशास्त्रमा १० शिक्षक माग गर्दा १० जना मात्रै उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा दुई जना मावि अर्थशास्त्रको शिक्षक चाहिएकामा एक जना मात्रै सफल भएका छन् । प्रदेश १ मा २ पदमा माग गर्दा २ जना मात्रै, लुम्बिनीमा १ पदका लागि १ जना, वाग्मतीमा ४ पदका लागि ६ जना र सुदूरपश्चिममा १ पदका लागि २ जना मात्रै सफल भएका छन् ।

    मावि लेखा विषयमा मधेस प्रदेशमा ५ पदको लागि विज्ञापन आह्वान गर्दा २ जना सफल भए । सोही प्रदेशमा स्वास्थ्य विषयमा १ पदका लागि गरिएको विज्ञानमा एक जना पनि सफल हुन सकेनन् । कर्णाली प्रदेशमा १ पदमा १ जना सफल बने । कम्प्युटर विषयमा गण्डकी, लुम्बिनी प्रदेशमा क्रमशः ३ र १ पदमा विज्ञापन गर्दा त्यति नै संख्यामा मात्रै प्रतिस्पर्धी सफल भएका छन् । प्रदेश १ मा १ पदमा ३ जना र सुदूरपश्चिममा १ पदमा २ जना उत्तीर्ण भएका छन् ।

    निमावि तहको संस्कृत कर्मकाण्ड विषयमा एक जना पनि सफल हुन सकेनन् । उक्त विषयमा स्थायी शिक्षक बन्न इच्छा देखाउने विद्यार्थीको संख्या नै अत्यन्तै थोरै रहेको आयोगले जनाएको छ । संस्कृत भाषा र संस्कृत व्याकरण विषयमा पनि माग संख्याअनुसार परीक्षार्थी उत्तीर्ण हुन सकेका छैनन् ।

    निमाविमा उत्तीर्ण प्रतिशत २७ मात्रै

    आयोगले निमावि तहको शिक्षक नियुक्तिका लागि सञ्चालन गरेको परीक्षामा २७ प्रतिशत परीक्षार्थी मात्रै सफल भएका छन् । मावि तहको परीक्षामा भने १२ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । निमावि तहमा ७६ हजार ९ सय ६ जनाले ९ विषयका लागि प्रतिस्पर्धा गरेका थिए, जसमा २० हजार ९ सय ८२ जनाले सय पूर्णांकको सामान्य परीक्षामा ५० प्रतिशत अंक ल्याएका हुन् ।

    ५० प्रतिशत अंक ल्याएर सफल हुनेहरूको विषयगत परीक्षा असार ११ मा सञ्चालन हुनेछ । एक सय पूर्णांकको परीक्षामा कम्तीमा ४० प्रतिशत अंक ल्याउने उम्मेदवारहरू अन्तर्वार्तामा सहभागी हुन पाउँछन् । कान्तिपुर दैनिकबाट 

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology