Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नेपालमा ४७ लाखमा उच्च रक्तचापको समस्या

नेपालमा ४७ लाखमा उच्च रक्तचापको समस्या

  • 582
    SHARES
  • नेपालमा ४७ लाखमा उच्च रक्तचापको समस्या

    काठमाडौं । नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान गरिएको छ ।

    विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले  आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताएका हुन् ।

    उनका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको र ४ लाखले मात्र औषधि सेवन गर्ने गरेको बताए । औषधि सेवन गर्नेमध्ये २ लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उनको भनाइ छ । 

    उच्चरक्तचाप तनाव, प्रदूषण, अस्वस्थ्यकर खाना, मध्यपान, सुर्तीजन्य पदार्थको प्रयोग र निस्क्रिय जीवनशैलीले हुने गर्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले रक्तचापबाट बच्नका लागि सन्तुलित जीवनशैली अपनाउनुपर्ने बताए ।

    उनले नसर्ने रोगलाई मन्त्रालयले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारी गरेको जानकारी दिए । उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयाघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ मिर्गौलाको समस्या जस्ता रोग लागेर अकालमै मानिसको मृत्यु हुने गर्दछ ।

    मन्त्रालयका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादवले रक्तचापबाट बच्नका लागि नुन र चिनीको मात्रा कम गर्नुपर्नेमा जोड दिए । उनले उच्च रक्तचापमा सर्वव्यापी गुणस्तरीय समतामूलक स्वास्थ्य सेवाको पहुँच बढाई यस वर्ष नियमित औषधि सेवन गर्ने संख्या १० लाख पुर्‍याउने बताए ।

    विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले रक्तचापको उपचारसँगै जनचेतनासमेत जगाउनुपर्ने बताए । उनले रक्तचापको रोकथामका लागि स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट नै विशेष सेवा प्रवाह गरिरहेको जानकारी दिए । महानिर्देशक सिंहले नियमित रक्तचाप परीक्षण र औषधि सेवनले रोगको रोकथाम गर्न सकिने बताए ।

    वरिष्ठ हृदयरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले १५ देखि २४ वर्ष उमेरसमूहमा उच्च रक्तचाप १० प्रतिशत र ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत उच्च रक्तचाप देखिएको जानकारी दिए । उनले काठमाडौंमा पेसागतरूपमा काम गर्ने युवामा बढी उच्चरक्तचाप देखिएको बताए ।

    डा.अनिलले नुनले मात्र उच्चरक्तचाप नभएर गुलियो र चिल्लो खानेकुरा खाँदा पनि रक्तचाप बढ्ने बताए । उनले ५० प्रतिशत मानिसले आफूमा उच्च रक्तचाप भएको थाहा नपाउने भएकाले यसको रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

    ‘दीर्घ जीवनको आधारः नियमित रक्तचाप परीक्षण, नियन्त्रण र उपचार’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर नै यो दिवस मनाइदै छ । टाउको दुख्ने, रिंगटा लाग्ने, थकाइ महसुस हुने, एक्कासि नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या उच्च रक्तचापका लक्षण हुन् ।

    उच्च रक्तचापबाट बच्नका लागि धु्रमपान तथा मदिरासेवन नगर्ने, हरियो सागसब्जी तथा फलफूल धेरै खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने, नियमित व्यायाम तथा योग गर्ने गर्नुपर्दछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij