Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ : नेम्बाङ

चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ : नेम्बाङ

  • 641
    SHARES
  • चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ : नेम्बाङ

    काठमाडौं । अघिल्लो स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमाले यसपट भने दोस्रो स्थानमा झर्ने देखिएको छ । सत्तारूढ पाँच दलीय गठबन्धनसँग देशभरका अधिकांश पालिकामा एक्लै चुनावी सामना गरेको एमालले यसपटको चुनावमा सिट कम आएपनि जनमत एमालेसँग रहेको दाबी गर्न थालेकाे छ ।

    images

    चुनावी गठबन्धन गरेर जानु नै कांग्रेस माओवादी लगायत पार्टीको पहिलो पराजय भएको एमाले नेताहरूको भनाइ छ । पाँच दलीय गठबन्धनले नपुगेर अन्य दलसमेत जोड्दा पनि एमालेलाई दोस्रो स्थानभन्दा तल झार्न नसक्नुले एमालेलाई बृहत्त पार्टी बनाईदिएको एमालेका शीर्ष नेताहरू बताउँछन् ।

    अहिलेसम्म नेकपा एमालले प्राप्त गरेको चुनावी नतिजा र पहिलोबाट दोस्रोमा झर्दाको अवस्था लगायतविषयमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग गरिएको कुराकानीको सम्पादित अंश :

    अहिलसम्मको स्थानीय निर्वाचनको नतिजालाई हेर्दा एमाले अघिल्लो स्थानीय निर्वाचनभन्दा खुम्चिएको छ ।  यो हालतमा पुगिन्छ सोच्नुभएको थियो ?

    सिटको सङ्ख्या हेर्दा त तपाईले भनेको सही हो । तर खासमा जनमतको हिसाबमा हेर्नुहुन्छ भन्ने एमाले थप शक्तिशाली भएर आएको छ । त्यो तपाईहरूले निर्वाचनको परिणामको विश्लेषण गर्नुभयो भने पनि थाहा पाउनुहुन्छ ।

    अघिल्लो निर्वाचनमा पहिलो पार्टी भएको एमाले अहिले दोस्रो पार्टीमा खुम्चिने अवस्थामा छ । तैपनि शक्तिशाली भएको छ भन्नुहुन्छ, जनताले त परिणाम हेर्ने होला नि ? 

    सरसर्ती हेर्दा त्यस्तो लागे पनि यो चुनावबाट एमालेले एउटा नसोचेको विजय हासिल गरेको अवस्था छ । जब सत्तारूढ दलमा आवद्ध पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय लिएका थिए । त्यो बेलादेखि नै मैले भन्दै आएको थिएँ कि पाँच दल त्यसमा सत्तारूढ दल नै गठबन्धनमा मिलेर जानुको अर्थ एमालेले निर्वाचनअघि नै विजय हासिल गरिसक्यो । यो कुरा त मैले मात्रै होइन, राजनीतिक विश्लेषकहरूले नै भनेका थिए । 

    त्यो त चित्त बुझाउने कुरा होला । जनतालाई सेवा प्रवाह गर्ने जनप्रतिनिधि त तपाईकै पार्टीबाट नै हुन सकेनन् । धेरै जसो त कांग्रेस र माओवादीको भएको देखियो । मुख्यतः जनतालाई ‘डेलिभरी’ दिने कुरा होला नि ?

    यसलाई भोलिका दिनमा जनताले हेर्ने नै छन् । तर, याद गर्नुपर्ने कुरा के हो भने संसदीय प्रणालीमा सत्तारूढ दलले कहिल्यै पनि गठबन्धन गरेर जाँदैन । गएको इतिहास पनि छैन ।

    गठबन्धन गर्ने भनेको त प्रतिपक्ष दलले हो । झन् यो संसदीय प्रणालीको हिमायती भन्ने कांग्रेस नै एमालेसँग डराएर गठबन्धनमा गर्ने अवस्थामा पुग्नु भनेको त सुरूमा नै ऊ ‘डिफेन्स’मा पुगेको भन्ने अर्थमा बुझिनुपर्छ ।

    त्यति मात्रै होइन, हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा त पाँच दलको गठबन्धनले समेत नपुगेर राप्रपालाईसमेत जोडेर गठबन्धन गर्नुपर्ने अवस्थामा पुग्नु भनेको एमालेको त स्वतः विजय नै हो ।

    भलै त्यो सिटमा देखिएन । त्यसैले म भन्छु-यो निर्वाचनले एमालेको जनमत घटेको छैन । सबै दललाई ‘डिफेन्स’मा राखेर एमालेले आफ्नो जनमत थप सुदृढ गर्ने अवस्थामा पुगेको छ । यसबाट हामी आत्तिएका छैनौँ । बरु थप शत्तिशाली भएर एमाले आएको छ ।

    सिट जति त अरु दलले कब्जा गरिसके । आत्तिएको छैन भन्नु त मनको लड्ड् घिउसँग खाए जस्तो भएन ?

    तपाईले भनेको माने । उहाँहरूको जित भयो । तर, त्यसरी जित हासिल गर्दैगर्दा यो चुनावले कांग्रेसको जनमत कति छ ? माओवादीको कति छ ? एकीकृत समाजवादी कति छ ? पहिचान भयो त ? पहिचान त हुन सकेको छैन ।

    यो निर्वाचनबाट कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत दलको जनमत देख्न पाइएन । किनभने सबैले सबैलाई भोट हालेका छन् तर एमालेको जनमत कति भन्ने त यस चुनावले देखाइसकेको छ ।

    उहाँहरू आफ्नो जनमतसम्म देखाउन नसक्ने अवस्थामा पुग्नुभएको छ । जनमत पहिचान गर्ने अवस्थामा नै पुग्नसक्नु भएको छैन । एउटा राजनीतिक दलको यो भन्दा बेहाल अरू के हुनसक्छ

    एक्लाएक्लै चुनाव लडेको भए यो निर्वाचनवाट एमाले पहिलो पार्टी हुन्थ्यो ?

    यो त जनमतले नै देखाइसकेको छ । एमालेलाई सारा घेराबन्दी गरेर गठबन्धन गरेर जानु भनेको सुरूमा नै राजनीतिक रूपमा पराजय हुनु हो । त्यसले पनि नपुगेर कुनै पनि पार्टीका सभापति होइन, प्रधानमन्त्री स्वयंले आमसभामार्फत् गठबन्धनलाई जिताउनु जनताको कर्तब्य हो भनेर भाषण गरेका छन् ।

    एउटा देशका प्रधानमन्त्रीले यसो भन्न मिल्छ ? तर निर्वाचन आचारसंहिता विपरीत गठबन्धनलाई जिताउन जनतालाई दबाब दिनुभयो । खासमा प्रधानमन्त्रीको कुर्सीबाट भन्नुपर्ने कुरा यति मात्र थियो– स्थानीय तहको निर्वाचनमा डर, त्रास र भयरहित भएर स्थानीय तहको निर्वाचनमा आफूले रोजेको पार्टीलाई जिताउनुहोस् भनेर आह्वान गर्नुपर्दथ्यो ।

    तर उहाँले त्यसो नभनेर गठबन्धन आवद्ध दललाई जिताउनु जनताको कर्तब्य हो भनेर गठबन्धनको पक्षमा मत माग्नुभयो ।

    देशको अभिभावक मानिएको प्रधानमन्त्रीले यसो भन्न मिल्छ ? तर उहाँले निर्वाचनको दौरानमा मन परेका पार्टी रोज्न पाइँदैन, जसरी पनि गठबन्धनलाई मत दिनुपर्छ भन्ने आशयसहित पदीय मर्यादा नै भुलेर निर्वाचनमा जानुभयो । कुनै पनि प्रधानमन्त्रीले संसारमा यसरी मत माग्छन् । मैले चाहिँ यस्तो कहीँ कतै थाहा पाएको छैन ।

    एमालेलाई एक्ल्याउन सबै उपाय सत्तारूढ दलबाट अवलम्बन गरियो भन्न खोज्नु भएको हो ?

    यो त घाम जत्तिकै छर्लङ्ग छ र सबैले सहजै बुझेको  कुरा हो । त्यत्रो गठबन्धन गर्दा पनि एमालेसँग पराजय हुने डरले पो हो कि के हो  एक जना नेताले गठबन्धनलाई मत नदिए देश दुर्घटनामा पर्छ भनेर जनतालाई धम्क्याउनु भयो ।

    जनतालाई धक्क्याएर मत माग्ने काम शीर्ष नेताले मात्र होइन, प्रधानमन्त्री पत्नीलेसमेत गर्नुभएको छ । जिताएको अवस्थामा स्थानीय पालिकामा पैसा पठाउने, नजिताए नपठाउनेसम्म भन्नुभयो ।

    जिताउने परिवारलाई मलेसिया हो कि साउदी अरब पठाउनेसम्मको अभिव्यक्ति पनि आयो । प्रधानमन्त्री पत्नीले त्यो भूमिकामा बसेर यस्तो बोल्न मिल्छ ? तर बोलिदिनुभयो । त्यति मात्र होइन, निर्वाचनपछि पनि राज्य शक्ति दुरुपयोग गरेर एमालेलाई एक्ल्याउने काम गरियो ।

    पार्टी महासचिवले प्रेस विज्ञप्तिमार्फत् भनिसक्नुभएको छ । तसर्थ, म भन्छु-एमालेको केही सिटमा तलमाथि भयो होला तर जनमत घटेको छैन । बरु,  एमालेले एक्लैले अरू दललाई यो निर्वाचनमार्फत् ‘डिफेन्स’ मा राखिदिएको छ ।

    दलहरूले गठबन्धन गरेर निर्वाचनमा गएकाे विषयमा एमालेलाई आपत्ति हो ? तपाईहरूले पनि केही साना दलहरूसँग चुनावी तालमेल गरेकै हाे ?

    हाम्रो निर्वाचन प्रणाली (मिश्रित)ले गठबन्धन गरेर नगए एकल बहुमत आउँदैन भन्ने देखाएको छ । तर एउटै राजनीतिक विचारधारा भएका दलसँग गठबन्धन गरेर गएको भए पो सुहाँउदो हुन्छ ।

    यो गठबन्धनले को कुन विचार धाराको पार्टी हो भनेर छुट्याउनै मुस्किल बनाइदिएको छ । सबै गोलमाल देखिएको छ । जनमत गोलमाल नभएको एमाले मात्रै हो । सिट त जितेका छन् तर गठबन्धन दलहरूलाई त आफ्नो शक्ति सार्मथ्यै नै कति छ भन्ने थाहा छैन । उनीहरू अलमलमा छन् ।

    पहिलाको भन्दाबढी सिट जित्ने अवस्था त देखिएन अब एमालेसँग जनमत छ भनेर चित्त बुझाउने हो ? 

    यी गठबन्धनका पार्टीहरुले स्थानीय निर्वाचनमा एमालेलाई धुलो चटाइन्छ । चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ भनेका होइनन् ? अहिले ‘रिजल्ट’ले त्यो देखायो ? पाँच दलीय घेराबन्दीका बीचमा पनि एमालेले सानदार विजय हासिल गरेको अवस्था छ ।

    हामी एक्लै भए पनि दोस्रो ‘पोजिशन’मा छौँ । पहिलो भनिएको कांग्रेस त गठबन्धनसहित पहिलो ‘पोजिसन’मा पुगेको न हो । एक्लै पुगेको त होइन नी । एक्लाएक्लै लडेको भए एमाले पहिलो हुन्थ्यो भन्ने प्रष्ट भएको छ ।

    सत्तारूढ दलले त स्थानीय तहमा विजय हासिल गरेर प्रतिगमनलाई पराजित गर्याे भनिरहेका छन् नि ?

    प्रतिगमन के हो ? हाम्रो पार्टी अध्यक्षले नयाँ जनमतका लागि भन्दै निर्वाचनको मिति नै घोषणा गरेर जानुभएको थियो । तर सर्वोच्च अदालतले अस्वीकार गरिदियो । एकपटक त परमादेशबाट नै । तर पनि हाम्रो पार्टीले कानुनी राज्य बलियो बनाउनुपर्छ भनेर त्यसलाई सहर्ष स्वीकार गर्यो । चुनावमा गयो ।

    के ओलीजीले मात्रै संसद बिघटन गरेको हो र ? त्यसअघि गिरिजाबाबुले पनि संसद् विघटन गर्नुभएको थियो । मनमोहनजीले पनि संसद् विघटन गर्नुभएको थियो । सूर्यबहादुर थापाले पनि संसद् विघटन गर्नुभएको थियो ।

    यो मुलुकमा ६-६ पटक संसद् विघटन भएका छन् । सर्वोच्च अदालतले उल्ट्याएको नजिर पनि छ । तर ओलीजीले गरेको संसद् विघटन चाहिँ प्रतिगमन र अरूले गरेको चाहिँ अग्रगमन त हुँदैन होला नी ?

    राजनीतिक खपतका लागि मात्रै बोलिएको हो ? 

    यो भन्दा केही अरू देख्नुहुन्छ । त्यसपछि यो पनि बिर्सन हुन्न कि ओलीजीले गरेको संसद् विघटनलाई प्रतिगमन भन्नेहरू आफैं पुनः विघटन गर्न नलागेका होइनन् ? स्थानीय तह निर्वाचन सारेर संघीय संसद्को निर्वाचन गरौँ भन्ने प्रस्ताव पनि गरेका होइनन् र ? के संसद् विघटन नगरी संघीय संसद्को ‘अर्ली इलेक्सन’ हुनसक्थ्यो ? त्यसैले संसद् विघटनको प्रस्ताव त सर्वोच्चको परमादेशबाट पछि पनि सत्तारूढ दलबाट आएको हो ।

    हामीले बरु त्यसको ठाडो प्रतिवाद गर्याैँ कि संसद् विघटन गरे ‘अर्ली इलेक्सन’ मा जाने सत्तारूढ दलको चाहनालाई अवरोध गरेर मुलुकलाई स्थानीय तहको निर्वाचनतर्फ होमिऔँ। त्यसैले उनीहरूले गरे प्रतिगमन नहुने र अग्रमन हुुने अनि हामीले गरेर प्रतिगमन हुने ? यो त राजनीतिक खपतका लागि बोलिएको विषय मात्रै हो । यसमा कुनै तुक छैन ।

    महानगरपालिका र उपमहानगरपालिका एमालेले कमजोर देखियो नि ?

    अघिल्लो पटक हामीले महानगरमा काठमाडौं र पोखरामा विजय हासिल गरेका थियौँ । यो पटक गठबन्धनका कारण हाम्रो पक्षमा मेयरका पक्षमा परिणाम आएन होला वा नआउन पनि सक्ला ।मतगणना जारी नै छ । तर हाम्रा उपमेयरहरूले सानदारका साथ विजय हासिल गरेका छन, गरिरहेका छन् यो त भुल्नु भएन नि ?

    त्यो काठमाडौं होस् वा विराटनगर वा अन्यत्र । पाँच दलीय गठबन्धनलाई हराउँदै ‘कोर मधेस’ भनिने कलैयामा विजय हासिल गरेका छौँ । अन्त पनि हाम्रो त्यति अवस्था बिग्रिसकेको छैन ।

    सबैतिर पराजय भोगेपछि एमालेले वाम गठबन्धनको कुरा गर्न सुरु ग¥यो भनिन्छ नि ? हाम्रो पार्टी तहमा यो कुरा भएको देखिएको छैन । केही साथीले गरिरहेका हुन सक्लान्, नहोला भन्न पनि सकिन्न ।

    सम्भवः छ ?  असम्भव छ ? आकाश–पाताल नै फरक भएको र एक अर्कासँग विचार नै नमिलेका दलहरूले गठबन्धन गरेर चुनावमा गए । हामी त झन् समान विचार भएका दलहरूसँग मिलेर जाने कुरा नहुन सक्छ ? हेर्दै जाउँ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology