Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कक्षा ५, ६ र ८ को पाठ्यपुस्तक छाप्न बाँकी

कक्षा ५, ६ र ८ को पाठ्यपुस्तक छाप्न बाँकी

  • 1.3K
    SHARES
  • कक्षा ५, ६ र ८ को पाठ्यपुस्तक छाप्न बाँकी

    काठमाडौं । स्थानीय तह निर्वाचनलगत्तै जेठ पहिलो सातादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीले नयाँ कक्षामा भर्ना भएका बालबालिकाले कहिलेसम्म पाठ्यपुस्तक हात पारिसक्छन् भन्ने टुंगो छैन । सरकारले घोषणा गरेको ‘भर्नाकै बेला विद्यार्थीको हातहातै पाठ्यपुस्तक’ भन्ने नारा व्यर्थ भएको छ ।

    images

    विद्यालयमा पठनपाठन सुरु भइसक्यो तर शुक्रबारदेखि मात्रै जनक शिक्षाले छापिएका पाठ्यपुस्तक वितरणका लागि डिपोहरू खुला गरेको छ । डिपोमा पनि मागअनुसार पाठ्यपुस्तक नहुँदा ढुवानी र बिक्री सुरु गर्न नसकिएको पुस्तक तथा स्टेसनरी व्यवसायीहरूले गुनासो गरे । समयमै आवश्यक पुस्तक छपाइ गर्न नसकेको जनक शिक्षाले डिपो पनि चलाखीपूर्वक खोलेको उनीहरूको भनाइ छ । किनकि शुक्रबार खुलेका डिपोले शनिबार र आइतबारको सार्वजनिक बिदापछि सोमबारदेखि मात्रै पुस्तक वितरण गर्न थाल्नेछन् । ५, ६ र ८ कक्षाको पुस्तक आवश्यक संख्यामा छाप्न नसकेको र अन्य कक्षाको पुस्तक पनि पूरा सेट नभएकाले डिपो खोल्न ढिलाइ गरिएको जनक शिक्षा स्रोतले जनाएको छ । यसअघि कर्मचारी चुनावमा खटिएको बहानामा डिपो खुला गर्न रोकिएको थियो ।

    नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष सञ्जयकुमार चौधरीले जनक शिक्षाले फटाफट पुस्तक उपलब्ध गराए पनि बिक्री वितरण र ढुवानी गरेर देशभरका विद्यालयसम्म पुर्‍याउन कम्तीमा दुई साता लाग्ने बताए । जनक शिक्षाले आधिकारिक तथ्यांक नदिए पनि ३० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक छपाइ गर्न बाँकी रहेको महासंघले दाबी गरेको छ ।

    ‘८० प्रतिशत किताब छापिसक्यौं भनेका छन्, वर्षात् सुरु भइसक्यो,’ धनगढीका पुस्तक व्यवसायीसमेत रहेका अध्यक्ष चौधरीले प्रश्न गरे, ‘बाजुरा, बझाङ, मुगु, हुम्लालगायत दुर्गमका जिल्लामा कसरी किताब पठाउने ?’ पर्यात पुस्तक छपाइ नगरेका कारण जनक शिक्षाले तथ्यांक लुकाएको पुस्तक विक्रेताहरूको आरोप छ । केही दिनमै विक्रेतासम्म पुस्तक नपुगे सडक नपुगेका ठाउँका विद्यालयमा दसैंअघि पुस्तक पुग्ने सम्भावना कम रहेको उनले औंल्याए । ‘हरेक वर्ष यस्तै समस्या भइरहेको छ, हेलिकोप्टरले किताब ढुवानी गरे मात्रै दुर्गमका विद्यार्थीले पाउँछन् नत्र भने आधा शैक्षिकसत्र त्यत्तिकै जान्छ,’ उनले थपे ।

    काठमाडौं वरपर र अन्य प्रदेशका विक्रेताले समेत पुस्तक पाउन सकेका छैनन् । जनक शिक्षाले छापेका पुस्तक विक्रेताहरूले खरिद गरेर ढुवानी गर्ने र विद्यालयलाई बिक्री गर्ने गर्छन् । डिपो नै सञ्चालनमा नआएकाले पुस्तक खरिद गर्न नसकिएको काठमाडौं वनस्थलीका एक स्टेसनरी सञ्चालकले बताए । ‘विद्यार्थीको पढाइ सुरु भइसक्यो, यति बेला किताब बेचेर सकिसक्नुपर्ने हो तर एक थान पुस्तक पनि बेच्न पाएको छैन,’ उनले भने । कक्षा ४, ७ र ९ मा यो शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमका आधारमा छापिएका पाठ्यपुस्त लागू हुँदै छ । उक्त पाठ्यपुस्तक पनि विद्यार्थीले पाउन सकेका छैनन् । जनक शिक्षाले कक्षा ४–१२ को पुस्तक बिक्री वितरणका लागि प्रादेशिक कार्यालयका डिपोहरू खुल्ला गरिएको जनाएको छ । विक्रेताहरूले भने पूरा सेट र मागअनुसार पुस्तक पाए मात्र ढुवानी थाल्ने बताएका छन् ।

    महासंघका जनक शिक्षा प्रतिनिधि तथा वाग्मती प्रदेश अध्यक्ष नारायण श्रेष्ठले कुनै पनि डिपोमा मागअनुसारको पुस्तक नभएको दाबी गरे । ‘विद्यार्थीले भर्नाका बेला किताब पाउन सकेनन्, कतिपय कक्षाको छाप्नै बाँकी छ, पूर्ण सेटमा पनि किताब छैन,’ उनले भने । जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यले डिपोहरू सञ्चालनमा आइसकेका कारण विक्रेताले सोमबारदेखि पुस्तक खरिद गर्न सक्ने जनाए । उनले भने, ‘५, ६ र ८ को किताब अपुग छ, २५ लाखजति किताब कम होला,’ उनले भने, ‘यो महिनाभर छपाइ गरिसकिन्छ ।’ उनले त्यस्तो दाबी गरे पनि विक्रेताहरू भने ४० लाख किताब अपुग भएको बताउँछन् । यति किताब छाप्न कम्तीमा पनि डेढ महिना लाग्छ ।

    चैत मसान्तसम्म छापिसक्नुपर्ने पुस्तक जनक शिक्षाले जेठ पहिलो सातासम्म पनि छपाइ गर्न नसकेको हो । नियमित रूपमा वैशाखमा सुरु हुने शैक्षिकसत्र जेठबाट सुरु गर्दा पनि जनक शिक्षाले विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको हो । गत वर्ष कोभिडले पठनपाठन प्रभावित भएपछि शैक्षिकसत्रमा एक महिना थप गरिएको थियो । आचार्यले कागज बेलैमा आपूर्ति नहुँदा र जनशक्ति पनि मतपत्र छपाइमा व्यस्त भएकाले पाठ्यपुस्तक छाप्न ढिलो भएको स्वीकार गरे । तर जनक शिक्षाका प्रबन्धक अनिलकुमार झाले मतपत्र छाप्दा पुस्तक छपाइ नरोकिने बताउँदै आएका थिए ।

    शिक्षा मन्त्रालयले वैशाख मसान्तसम्म परीक्षा, नतिजा प्रकाशन, भर्ना, पाठ्यपुस्तक वितरणलगायत कार्यक्रम सम्पन्न गरेर जेठ पहिलो सातादेखि पठनपाठन थाल्न निर्देशन दिएको छ । निजी प्रकाशनले छपाइ गरेका कक्षा १–३ को पुस्तक बिक्री वितरण भइरहेको छ । जनक शिक्षाले छापेका पुस्तक भक्तपुरको सानोठिमी, जनकपुर, विराटनगर, भरतपुर, बुटबल, पोखरा, नेपालगन्ज, धनगढी र सुर्खेत वितरण केन्द्रबाट विक्रेताले लैजाने गरेका छन् । पुस्तक बिक्री गर्न करिब १२ सय विक्रेता सूचीकृत भएका छन् । कान्तिपुर दैनिकबाट

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology