Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

इलाम चियाबारीमा पर्यटकको संख्या बढ्दै 

इलाम चियाबारीमा पर्यटकको संख्या बढ्दै 

  • 327
    SHARES
  • इलाम चियाबारीमा पर्यटकको संख्या बढ्दै 

    इलाम । इलाम बजार नजिकै निर्माण गरिएको हात हेर्न जार्ने पर्यटकको संख्या बढ्दै भएको छ । जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो (भर्‍याङ) निर्माण गरिएको छ । उक्त लिस्नोबाट चढेर हत्केलामा पुगी तस्वीर खिचाउनेको भीड नै लाग्ने गरेको छ ।

    images

    इलाम बजार नजिकै रहेको इलाम चियाबारीको लभडाँडा भन्ने स्थानमा यो हात निर्माण गरिएको हो । चियाका लागि यो ठाउँ ऐतिहासिकसमेत मानिन्छ । नेपालमा सबैभन्दा पहिला चिया रोपिएको ठाउँ भएका कारण पनि यो स्थान ऐतिहासिक मानिन्छ ।

    यहाँ हातमात्र निर्माण भएको छैन । पर्यटकीय पूर्वाधारसमेत निर्माण गरी आकर्षक बनाइएको छ । ऐतिहासिक चियाबगान र सुन्दर हरियाली अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।

    साथै नजिकै रहेको नेपालकै पहिलो उद्योग चिया कारखानासमेत नजिकै छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चिया खेतीको इतिहास बोकेको इलाम चिया बगानमा घुम्न आउने पर्यटकको सहजताका लागि पूर्वाधार निर्माण गरिएको छ ।

    नेपालको पहिलो चिया बगान र कारखाना क्षेत्र घुम्न आउने पर्यटकको थप मनोरञ्जनका लागि इलाम नगरपालिकाले पूर्वाधार निर्माण गरेको हो । यही चियाबारीमा हातसमेत निर्माण भएपछि अझ बढी पर्यटक यहाँ पुग्ने गरेका छन् ।

    चिया बगानभित्रका खुला क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरिँदै आएको छ । नगरपालिकाले बगान क्षेत्रमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको हो ।

    बजार क्षेत्रको चिया बगान, भालुढुंगा, भ्यूटावर, लभडाँडा क्षेत्रमा पर्यटक पूर्वाधार निर्माण गरिएको छ । नगरको विकासका लागि पर्यटकीय क्षेत्रको समेत विकास हुनुपर्ने भएकाले आगामी दिनमा नगरपालिकाले यसतर्फ आफ्ना योजना अगाडि बढाउने नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए ।

    चिया बगान क्षेत्रको लभडाँडा क्षेत्रमा नेपालमा चियाखेती सुरुआत गर्ने इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाको प्रतिमासहित पूर्वाधार निर्माण गरिएको छ । गजराजसिंह थापा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाइँ थिए ।

    इलाम चिया बगान क्षेत्रमा नगरपालिका-७ का वडाको पहलमा खुला जिमहाउससमेत सञ्चालन गरिएको छ । जिमहाउसमा दैनिक पर्यटक र इलाम बजारवासीले व्यायाम गर्दै आएको वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

    चियाबारी क्षेत्रमा पर्यटकसँगै बजारवासी, निजामती कर्मचारीलगायत यहाँ बस्ने मानिस दैनिकरूपमा बिहानपख (मर्निङवाक) र साँझपख (इभिनिङवाक)का लागि जाने गरेका छन् । उनीहरूलाई नै लक्ष गरेर खुला जिमहाउस सञ्चालन गरिएको हो ।

    खुला जिमहाउस चिया बगानको माथि धुराबस्ती क्षेत्रमा निर्माण गरिएको छ । बगान क्षेत्रका खुला ठाउँको पहिचान गरी पर्यटन पूर्वाधार र खुला जिमहाउस निर्माणले नगरपालिकावासीलाई भ्रमण गर्ने बानीको विकास गराइ आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नगरपालिका योजना छ ।

    नगरपालिकाले खुला जिमहाउससहित पर्यटन पूर्वाधार निर्माणपछि चिया बगान भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो । नयाँ र आकर्षक केन्द्र निर्माणले यहाँ हाल पर्यटकको संख्या समेत वृद्धि भएको छ ।

    यहाँ रहेका पर्यटकीयस्थलमा अब कृत्रिम पर्यटकीय पूर्वाधारसमेत निर्माण हुँदै जाने हो भने आकर्षण थपिँदै जाने थियो । यसका लागि प्रदेश र केन्द्र सरकारले समेत लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ ।

    पानीको मुहान संरक्षण गरे हरियाली बढ्ने भएकाले यसतर्फ समेत ध्यान पुर्‍याउन आवश्यक रहेको स्थानीयवासीले बताउँदै आएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology