Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

इसीडी शिक्षकलाई आइपरेको विपत्ति  [ब्लग]

इसीडी शिक्षकलाई आइपरेको विपत्ति  [ब्लग]

  • 6.0K
    SHARES
  • इसीडी शिक्षकलाई आइपरेको विपत्ति  [ब्लग]

    उनको उमेर ३५ वर्ष । शैक्षिक योग्यता स्नातक (बि.एड) । इसीडी शिक्षकको रूपमा कार्यरत भएको १७ वर्ष भयो । पोहोर साल असारसम्म उनको तलब रू. ६,००० मासिक थियो । अहिले रू. १५,००० मासिक । ७९ वर्षे वृद्ध सासुआमा, तीन स–साना छोराछोरी, श्रीमान र आफूसहित ६ जनाको परिवारको जीवन चलाउन उनको तलबले पुग्दैन ।

    images

    ३ वर्षअघि उनले २ वटा हाँसका अण्डा रू.४० मा किनेर कुखुरालाई कोरल्न लगाई ३ वटा हाँस पाल्दै आएकी थिइन् । एउटा सानो भाले हाँस रू. ५०० मा किनेर थपेकी थिइन् ।भाले हाँसलाई एक महिना अघि स्यालले खाइदिए पछि अब उनीसँग २ वटा टोलाएका पोथी हाँस मात्र बाँकी छन् ।

    इसीडी शिक्षकको तलबले बाँच्न गाह्रो हुन थालेपछि उनले सस्तो मूल्यको एउटा सानो बोका किनेर पाल्ने सोच गरिन् । र,आफ्नो श्रीमानलाई सानो बोका किनेर ल्याउने जिम्मा दिइन् ।

    उनको श्रीमानले एउटा बोका भेटाए र बोकाको अवस्थाबारे उनलाई बताएपछि उनले किनेर ल्याउन भनिन् । उनको श्रीमानले रू.३,३०० मा बोका किने । तीन महिना उमेर भनिएको त्यो बोका जम्मा २ किलो तौलको अति सानो थियो । तर मूल्य अनुसार बोका ठिकै हो भन्ने धेरैको प्रतिक्रिया थियो ।

    उनको श्रीमानले घरदेखि साढे ३ घण्टा टाढाबाट रू. १०० उधारो गाडीभाडा तिरेर त्यो बोकालाई घर पठाए । उनका श्रीमान चाहिँ हिँडेरै घर आए । किनकी गाडीमा आउन उनीसँग रू. २५० गाडीभाडा पनि थिएन । जम्मा २ किलो तौलको त्यो सानो बोकालाई पनि उनी आफैंले काखीमा बोकेर घर लैजान चाहन्थे । तर के गर्नु साढे ३ घण्टाको पैदल बाटोमा काखीमा बोकेर घर लैजादा करङ नै भाँचिएर बोका मर्ला जस्तो दुब्लो थियो । त्यै हुनाले उनका श्रीमानले रू.१०० उधारो भाडा तिरेर बोकालाई गाडीमा घर पठाए । त्यो बोकाको गाडीभाडा बाफतको रू. १००  तीन दिन पछि उनको श्रीमानले गाडी मालिकलाई तिरे ।

    जब उनले घरमा पुगेको बोकालाई काखमा लिएर मुसारिन् त्यसका शरिरभरि जुम्रा नै जुम्रा भेट्टाइन् । भेटनरी पसलबाट जुम्रा मार्ने औषधि किन्ने सोच बनाइन तर उनीसँग घरमा जम्मा रू.१५ मात्र थियो । पैसा पछि मामुले दिनुहुने हो भन्न लगाई सानी छोरीमार्फत रू. ८० रूपैयाँको जुम्रा मार्ने औषधि उधारोमा मगाएर उनले पाठोका जुम्रा मारिन् ।

    एकपत्ता स्याम्पूले बोकालाई नुहाइ पनि दिइन् । त्यो बोका किनेको २१औं दिनमा असार २६ गते एक्कासी बिरामी भयो । थप रू.६० को उधारो औषधि किनेर साँझपख पाठोलाई खुवाइन् । दोस्रो दिन बिहानै पाठोलाई के कस्तो भयो भनेर खोरमा हेर्न जाँदा त ऊ राती नै मरिसकेको थियो । राम्ररी उज्यालो नै भएको थिएन ।

    ढिलो गरि उठ्ने आफ्ना स–साना तीनै छोराछोरीलाई ‘पाठो त मरिगयो’ भन्दै बिहान पौने पाँच बजेतिर उनले उठ्न लगाइन् । तीनै जना छोराछोरी हतार हतारमा उठे र खोरतिर लागे । मरेको पाठो देखेर सबैजना स्तब्ध बने । पाठो मरेको देख्दा उनको २६ महिना उमेरको सानो छोरो निकै दुःखी भयो । ऊ निराश थियो । उसले त्यो पाठोसँग २१ दिनसम्म हाँसिखुसी खेलेको थियो । पाठो उसको सबैभन्दा प्यारो साथी बनेको थियो । खुबै माया गर्ने पाठो साथी मरेपछि ऊ दु:खी र निराश हुने नै भयो ।

    स्कूल बिहानी समयमा चलेको थियो । उनले छिटो छिटो त्यो मरेको पाठोलाई खाडलमा पुरेर स्कूल जान चाहिन् । तर उनको सानो छोराले त्यो कुरा मानेन । उसले मरेको पाठोलाई खोरबाट निकालेर नलैजान अनुनय गरेपछि मरेको पाठोलाई खोरभित्रै छोडेर आफ्ना तीनजना छोराछोरी लिएर उनी बिहान ६ बजे स्कूल गइन् ।

    विद्यालयबाट फर्केपछि मध्यान्ह १२ बजे अर्को पाठो किनेर ल्याऔंला भन्दै राम्ररी सम्झाईबुझाई गरेपछि सानो छोरो पनि मरेको पाठोको अन्त्यष्टि गर्न राजी भयो । उसले स्वीकृति दियो । मरेको पाठोको थैलोमा बोकेर सबैजना नदी किनारामा पुगे । पाठाेलाई खाडलमा पुरेर अन्त्यष्टि गरिसकेपछि घर फर्के । सानो छोरो यो घटना र यी सबै संस्कारहरू देखेर खुब दुःखी थियो ।

    यता मरेको पाठोलाई खाडलमा पुरेर घर आइपुग्दा ७९ वर्ष उमेरकी वृद्ध सासुआमा पनि दु:खी हुँदै टोलाएर बसिरहनु भएको थियो । उनले सासुलाई जे भयो भैगयो अब दुःखी नहुन सम्झाईबुझाई गरिन् । पेसाले शिक्षक रहेकी आफ्नी बुहारिको न्यून पारिश्रमिक भएको, त्यसैमाथि ठूलाबडा सरकार पक्षधरहरूले बुहारीलाई पेसागत झमेला र तनाब दिइरहने गरेका घटनाक्रम राम्ररी बुझेकी उनकी सासुआमा उसै माथि बोका मर्नाले साह्रै तनाबमा हुनुहुन्थ्यो ।

    बोका मरिसकेपछि उनी भेटनरी पसलमा औषधिको उधारो पैसा तिर्न गइन् । जुम्रा मार्ने औषधि को रू.८० लिए पनि दोस्रोपटक लगेको औषधि को रू.६० रूपैयाँ औषधि पसलेले मिनाहा गरिदिए । उनले साउजीले गरेको यो कृपाले आफूले ठूलो राहत पाएको महसुस गरिन् ।

    हो, जहाँ गहिरो त्यहाँ पहिरो । लामो समयदेखि राज्यबाट चरम श्रमशोषणमा पर्दै आइरहेका इसीडी शिक्षकले पूरा तलब मात्र हाेइन बल्ल ओठसम्म पुगिसकेको आधागाँस पनि खोसेर खाने नयाँ प्रविधिका सरकारहरू पनि देशभर अझै छ्याप्छ्याप्ती रूपमा रहेका छन् । जुन नेपालको विद्यालय शिक्षामा रहेको लज्जास्पद र अमानवीय विषय हो । जसका श्रापका कारण नेपालको विद्यालय शिक्षामा अपेक्षाकृत सुधार हुन नसकिरहेको स्थिति छ ।

    गरिबी र अभावमा सरकार पक्षबाटै श्रमशोषित भएर बाँचिरहेका इसीडी शिक्षक तथा विद्यालय कर्मचारी र उनको परिवारलाई यस्ता खाले थप विपत्ति आइपर्दा श्रमशोषण गर्नेहरूको मन खुसी हुँदो हो कि दुःखी ? यो भने थप रहस्यमय र अनुसन्धानको विषय बन्न पुगेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology