वेबटिभी खबर
नवलपुर । ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट-सुस्तापूर्व) स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले २ करोड ११ लाख ८१ हजार ५०० राजस्व संकलन गरेको हो ।
गत आर्थिक वर्षमा मा ३१ हजार १९३ चालकलाई कारबाही गरिएको प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले बताए ।
जिल्लामा ट्राफिक नियमको उल्लंकन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका उनले जानकारी दिए ।
२०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म ११ हजार ७५३ वटा ट्रक चालक कारबाहीमा परेका थिए ।
ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका ट्रक चालकबाट ट्राफिक प्रहरीले जरिवानाबापत ८४ लाख १५ हजार ५०० राजस्व संकलन गर्न सफल भएको थापाले जानकारी दिए ।
यस्तै सोही अवधिमा ११ हजार ७१ मोटरसाइकल चालक कारबाहीमा पर्दा ७७ लाख ५६ हजार ५०० र २ हजार ११२ यात्रुवाहक बसलाई कारबाही गर्दा १२ लाख ८१ हजार जरिवाना असुल भएको प्रमुख प्रहरी निरीक्षक थापाले बताए ।
४ हजार ४१४ हलुका सवारी साधन (जीप, कार तथा भ्यान) चालकबाट २५ लाख ८३ हजार ५०० र १ हजार ७४३ ट्रयाक्टर चालकबाट ११ लाख ४५ हजार जरिवाना असुल गरिएको थियो ।
जिल्लामा गत आव २०७८/७९ मा १२३ वटा सवारी साधन दुर्घटनामा परेका र त्यसमा ३९ जनाले ज्यान गुमाएका थिए भने २३९ सख्त घाइते भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij