Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

घाटसम्मै विभेद 

घाटसम्मै विभेद 

  • 465
    SHARES
  • घाटसम्मै विभेद 

    दैलेख । करिब ५० वर्षअघि रुमगाउँअर्थात अहिलेको भगवतीमाई गाउँपालिका–२ ।

    images

    त्यसबेलै गाउँमा सामाजिक विकृतिविरुद्ध सशक्त प्रतिरोध गरिरहेका थिए नेप्टो कामी ।

    नेप्टो कामीले दलितको मृत्यु भए फलाँटेमा किन जलाउने ? बालटारमै दाहसंस्कार गर्न किन नपाउने ? भन्दै आएका थिए ।

    बालटारमा क्षेत्री–ठकुरीलाई मात्रै जलाउने तर दलितलाई फलाँटेमा जलाउने परम्परालाई उनी तोड्न चाहन्थे ।

    उनले यो विषय उठाए पनि समाधान भएन । अभियान पूरा नहुँदै उनको ४१ वर्षको उमेरमा मृत्यु भयो ।

    २७ जेठ ०२९ मा मृत्युपछि नेप्टो कामीका अनुयायी युवादस्ताले उनको इच्छाअनुसार बालटारमा शव जलाउन लिएर गए ।

    ठकुरीको चिहानघाटमा दलितको लास जलाउन दिनुहुन्न भनेर ठुकुरी र क्षेत्रीको ठूलै दलबल गयो र त्यहाँ जलाउन दिएनन् पनि ।

    ठकुरीको लास जलाउने ठाउँमा कामीको लास जलाउन दिनुहुन्न भनेर हुलदंगा हुन थालेपछि मलामी गएका पाका मानिसले ‘यो तमासा नगरौं, आफ्नै चिहानघाट लैजाऊँ’ भनेर मध्यमार्गी विचार अनुसार फलाँटेमै ल्याएर जलाए । 

    ‘नेप्टालाई बालटार लिया बाटो बिराएर,
    ल्याउन त फलाँटे ल्याए फेरि फिराएर !’

    नेप्टो कामीलाई ठुकुरीको चिहानघाटमा जलाउन खोज्दा त्यहाँ अनुमति नभएपछि कामीकै चिहानघाटमा ल्याएर जलाउनु परेको त्यो बेलाको अतिजातिवाद र शोषण दमनको प्रतिक झल्काउने यो देउडा गीत बनेको थियो ।

    नेप्टो कामीले सुरुवात गरेको सामाजिक संघर्षमा पछिल्लो पुस्ताले निरन्तरता दिए । यही क्रममा दलितहरू मरे शंख बजाउन नपाइने कुप्रथाविरुद्ध आन्दोलन छेडे ।

    खासमा क्षेत्री–ठकुरी मरेको बेला मात्र शंख बजाउँदा उनीहरूका इष्टमित्र जम्मा हुन सजिलो पर्छ र दलित मर्दा चाहिँ बजाउन नदिएको खण्डमा कुन जातको मान्छे मरेछ भन्ने थाहा हुनुपर्छ भनेर भिन्न देखाउन यस्तो गरेको भनाइ छ ।

    दलित मरेको बेला पनि शंख बनाउने गरेमा झुक्किएर मलामी जान भेला हुने अवस्था हुन्छ भनेर द्विविधा नहोस् भनेर यस्तो गरिएको हो ।

    दलित मरेको बेला गैर–दलित मलामी नजाने भएकोले उतिबेला दलित मरेको बेला शंख बजाउन नदिइएको पाका मानिसहरूको अनुमान छ । 

    दलित मर्दा पनि शंख बजाउन पाउनुपर्छ भनि ४० को दशकमा कट्टी, बडाभैरव, बिन्ध्यवासिनी, चौराठा लगायत गाउँमासमेत दलितहरूले संघर्ष गरेपछि स्थानीय प्रशासनले नै दलित मर्दा पनि शंख बजाउन चाहे बजाउन पाउने, नरोक्नु भन्ने आदेशपछि अहिले सबै गाउँमा दलितले निर्वाद रूपमा शंख बजाउन थालेका छन् ।

    Kukur-Kami_1-1536x943.jpg.jpg
     

    दलितहरूको मलामी जान नपरोस् भनेर शंख बजाउन रोकिएको थियो । शंख खुले पनि दैलेखमा दलितहरूको मलामी क्षेत्रीबाहुन अहिले पनि आउँदैनन् । पद, प्रतिष्ठामा रहेका कोही दलित र उनका आफन्त मरे सामान्य सदाचार देखाउन छिटपुट मलामी आउँछन् तर सबैकोमा आउँदैनन् ।

    नेप्टोलाई बालटारमा जलाउन नपाएको गीत बन्यो, निरन्तर संघर्षले दलितहरूलाई जलाउन पाउने अवस्था बनेको छ ।

    सामाजिक रूपमा सबैको सहभागितामा दलितहरूको मलामी अझैं पूर्ण रूपमा खुलेको छैन । गैर–दलितहरू मरेको बेला चाहिँ दलितहरूलाई दाउरा काट्न लगाउनकै लागि बोलाएरै लैजान चलन थियो । अहिले बलजफ्ती भने घटेको छ ।

    भकुण्डोलाई जति बढी बल लगाएर भुइँमा दबाइन्छ उति नै माथि उफ्रिन्छ भने जस्तै दलितहरूलाई थिचोमिचो भयो यति विद्रोह झाङ्गिदै आयो ।

    रुमलगायतको क्षेत्रमा यसको ज्वाला अझै बढ्यो । खासगरी माओवादी सशस्त्र युद्धको समयमा दलितहरूमाथि हुने शोषणविरुद्ध गरिएका क्रियाकलापले दलितहरूलाई आत्मविश्वास बढायो ।

    सामाजिक विभेदविरुद्ध जति नै दलित सशक्त भए उति नै विभेद जोगाउन चाहनेहरू जुर्मुराउन पनि छाडेनन् ।

    माओवादी सशस्त्र युद्धको मेला जातीय समानता थालिएका क्रियाकलापले दलितहरूलाई दृढता बढायो । युद्धकालमा लुकेका क्षेत्री ठकुरीहरू माओवादी शान्ति प्रक्रियामा आएपछि चाहिँ ‘दलित बढ्ता भएका ठेगान लगाउनुपर्छ,’ भन्ने मानसिकता राखेर गतिविधि बढाउन थाले ।

    ३२ साउन ०६५ मा रक्षाबन्धनका दिन हामीलाई पनि धागो बाँधिदिनुस् भनी आग्रह गरेका दलितहरूलाई त्यसबेला २२ वर्षका रूमका पण्डित दीपक उपाध्यायले दलितलाई रक्षा बन्धन बाँध्दिन्न भनेपछि स्थानीय दलितले जातीय विभेदको मुद्दा दर्ता गरे । अदालतले तीन महिना कैद र एक हजार जरिवाना गर्‍यो ।

    यो घटनामा गैर–दलितहरू संगठित रुपमा दलितहरूलाई ठिक पार्नुपर्छ भन्नेमा लागे । यसको फलस्वरुप वैशाख ०६६ मा ब्राम्हण संघ दैलेखले दलितहरूलाई पनि रक्षाबन्धन बाध्नैपर्ने हो भने जजमानी छाडिदिन्छौं भनी आन्दोलन गरे ।

    तत्कालीन प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले ब्राम्हणलाई कारबाही गर्छु भनेपछि ब्राम्हण संघले आन्दोलन फिर्ता लियो ।

    रुम, कट्टी, बडाभैर, मेहतलोलीलगायत भेगमा दलितहरूको गल्ती खोज्न तम्सेको गैर–दलित समुदायका लागि असोज ०६६ मा जगनाथअर्थात अहिलेको भगवतीमाई गाउँपालिका–४ बुङ्चीका २१ वर्षीय अमृत बिकले ठकुरी छोरीलाई विवाह गरेको विषयमा ठकुरीहरुले कुटपिट गरी ६० हजार जरिवाना र दुई ओटा खसी लुटेका थिए ।

    Kukur-Kami_3-1.jpg.jpg
     

    सरकारले अन्तरजातीय विवाहको अनुदान घोषणा गरेकै समयमा त्यहाँको ठकुरी समाजले कुटपिट गर्नुसँग जरिवाना र खसी लुट्ने काम भएको भनी दैलेखको जिल्लास्तरीय दलित नेतृत्वको अगुवाईमा जातीय विभेदको मुद्दा अदालत पुगेको थियो ।

    अदालते यो घटनाका मुख्य दोषी ६ जनालाई ६० हजार नगद र खसीको मूल्य फिर्ता गर्नुपर्ने, जनही आठ महिना कैद र पाँच हजारको दरले जरिवाना गर्यो ।

    रुम र यो क्षेत्रअर्थात बेस्तडा भेगमा पुरानत समयदेखि कति विभेद थियो भन्ने कुरा प्रमाण अहिलेको भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६२ वर्षका कविराम कामीको नागकिताको प्रमाणपत्र ।

    ७ जेठ २०४६ मा गाउँ पुगेको नागरिकता टोलीले दिएको नागरिकतामा उनको नाम कुकुर कामी लेखिएको छ । के कोही बाहुन क्षेत्रीलाई भए नागरिकता मै कुकुर लेखिन्थो ?

    नागरिकताको प्रमाणपत्र नै दशी प्रमाण हो, यो भेगमा दलितहरूले कति शोषण र दमन भोगे माथिका उदाहरणले प्रष्टाउँछ ।सांकेतिक तस्बिर । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology