वेबटिभी खबर
काठमाडौं । धादिङको धुनिबेँसी नगरपालिका-९ सिस्नेखोला सुरूङमार्गको निमार्णाधिन सडकमा पहिरो खसेको छ । पहिरोका कारण सोमबार बिहानैबाट सुरूङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरीने सवारी साधनको आवागमन प्रभावित भएको छ ।
सुरूङमार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको लाइन धादिङको टायलघरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंङा चेकपोष्टसम्म रहेको छ ।
पहिरो खस्ने क्रम जारी रहेकाले दुईतर्फी सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । म्याग्दीको रूप्से, जलेश्वर र नौनीबगर लगायतका स्थानमा पनि पहिरो खसेको छ । जसका कारण बेनी-जोमसोम सडकखण्डमा सवारी आवागमन आंसिक रूपमा अवरूद्ध भएको छ ।
अवरूद्ध सडक खुलाउन पहल भइरहेको छ । अविरल बर्षाको कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ डाक्लाङमा सोमबार बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भाँसिएको छ । सडक भाँसिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको छ ।
सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको पाथीभरा याङ्बराक गाउँपालिका-१ खहरेमा बिहान पहिरो खस्दा सवारी आवामगन अवरूद्ध भएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेशी तुवाचुङडाँडामा पनि अविरल बर्षाको कारण बिहान पहिरो खसेर अन्दाजी १५ मिटर सडक अवरूद्ध भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij