Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

उजाड पाखाे फलफूल बगैंचामा परिणत

उजाड पाखाे फलफूल बगैंचामा परिणत

  • 417
    SHARES
  • उजाड पाखाे फलफूल बगैंचामा परिणत

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी कालीपुलमा व्यवसाय गर्दै आएका खेम केसीले पर्वतको जलजला-७ केराबारीको ढुंगे पाखोलाई खनिखोस्री मलजल गरेर पाखैभरि केराखेती गरेका छन् ।

    images

    उनले भिरालो चट्यानै चट्यान रहेको पाखोलाई सम्याएर २ हजार ५०० भन्दाबढी केराका बिरूवा लगाएका हुन् । आजभन्दा करिब चार वर्ष अगाडि २०७५ साल फागुन महिनामा बेनी नगरपालिका-२ खबराबाट प्रतिबिरूवा ६० रूपैयाँका दरले ४०० केराका बोट लिएर केराखेती सुरु गरेका थिए ।

    चार वर्षको अवधिमा केसीले केराखेती विस्तार गरी अहिले ३० रोपनी आफ्नो जग्गामा दुई हजार ५०० केराका बिरूवा लगाएका छन् । उनले पाखैभरि हजारे, मुग्रे, धुर्से प्रजातिका केरा तथा अन्य फलफूलखेती गरेपछि उजाड पाखा अहिले फलफूलको बगैंचामा परिणत भएको हो ।

    एल्भिन फलफूल फर्म दर्ता गरी व्यावसायिकरूपमा केराखेती सुरु गरेका केसीको फर्ममा हाल कागती, एभोकाँडो, अम्बा, आँप, लिचीलगायत गरी ५०० फलफूलका बिरूवा हुर्किरहेका छन् ।

    मौरीपालन पनि गरेका उनको फर्ममा ५० मौरीका घारसमेत छन् । करिब एक हजार ५०० केराका बोटले फल दिन थालेको उनले बताए । काँचो केरा बोटबाटै एक दर्जनलाई एक सय रूपैयाँमा बिक्री हुने गरेको छ ।

    एक हजार ५०० बोटको केराबाट उनले मासिक ५० हजारभन्दा बढी कमाइ हुने गरेको बताउँछन् । एक घारीमा दुई सयदेखि दुईसय ५० वटासम्म केरा हुन्छ अरु सबै केरा पनि राम्रोसँग सप्रिएका छन् ।

    उनले भने, ‘अघिल्लो वर्षदेखि मासिक ५० हजार त केरा बेचेर मात्रै कमाइ भएको छ, साँच्चै भन्नुपर्दा मलाई केराखेती फापेको छ ।’ केरामात्रै होइन केसीको फार्मबाट केराका बिरूवासमेत बिक्री हुने गरेको छ ।

    यो वर्ष म्याग्दीको राखु, पर्वतको बाँसखर्क, लस्टीलगायतका स्थानमा करिब दुई हजार वटा बिरूवाप्रति बिरूवा एक सयका दरले बिक्री भएको उनको भनाइ छ । ३ लाख लगानीबाट सुरु गरेको उनको फार्ममा अहिले १२ लाख लगानी पुगेको छ ।

    धान खेतीयोग्य जमिनमा समेत बीचबीचमा केरा लगाएका केसीले केही पनि उब्जनी नहुने पाखालाई केराबारीमा परिणत गरेका हुन् । कहिले काहीँ परिवार तथा साथीसंगी गएर बस्नका लागि कटेजसमेत निर्माण गरेका केसीको फार्ममा पुग्दा वरिपरिको शान्त र सुन्दर वातावरणले मनलाई आनन्दित तुल्याउने गर्दछ ।

    बेनीको कालिपुलमा केवि अटोपार्टस होण्डा स्वरुमसमेत सञ्चालन गर्दै आएका ४६ वर्षीय केसीलाई श्रीमती सपना केसीले पनि कृषि खेतीमा राम्रो साथ दिएकी छिन् । फार्ममा फर्सी, घिरौँला, भेन्टा, तितेकरेला, हरियो खुर्सानीलगायत अन्य तरकारी पनि राम्रोसँग उत्पादन हुने गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology