Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

संकटमा चौँरीपालन व्यवसाय

संकटमा चौँरीपालन व्यवसाय

  • श्रावण २४, २०७९ मंगलवार १७:२८ बजे
  • 337
    SHARES
  • संकटमा चौँरीपालन व्यवसाय

    भोजपुर । भोजपुरको माथिल्लो भेगका किसानको आम्दानीको स्रोतकारूपमा रहेको चौंरीपालन व्यवसाय संकटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा पर्दै गएको हो ।

    images

    यहाँका किसानलाई अहिले मुख्यरूपमा चरन क्षेत्रको चिन्ता थपिएको छ । चौंरीका लागि खुल्ला चरन क्षेत्र आवश्यक पर्ने भए पनि घाँसे मैदान मासिँदै जाँदा पेसा पनि संकटमा परेको किसानको भनाइ छ ।

    सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्येक्ष असर परेको चौंरीपालन किसान प्रवीन राईले बताए । चौंरीलाई चरनका लागि प्रशस्त घाँसे मैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको किसान राईको भनाइ छ ।

    ‘चौंरीलाई धेरै चरन क्षेत्र चाहिन्छ’, किसान राईले भने, ‘अहिले हाम्रो क्षेत्रमा चरनको अभाव हुँदै गएको छ । चरन अभाव हुँदा व्यवसाय नै संकटमा पर्ने अवस्था छ ।’ व्यावसायिकरूपमा चौंरी पाल्दै आएका राईको गोठमा अहिले ३० ओटा चौंरी छन् ।

    राईले वार्षिक चारदेखि पाँच लाख रूपैयाँ आम्दानी गर्दै आएको बताए । ‘यो व्यवसायमा दुःख भए पनि आम्दानी राम्रै छ’, राईले भने, ‘वार्षिक चार, पाँच लाखसम्म आम्दानी गर्छु तर जनशक्ति तथा चरन क्षेत्रका कारण व्यवसायलाई बचाउन मुस्किल छ ।’

    चौँरीको दूधबाट उत्पादित घ्यू, छुर्पी बाहिरी जिल्लासँगै कोसेलीकारूपमा देश तथा विदेशमा समेत जाने गरेको छ । उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने गर्दछ । चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईको भनाइ छ ।

    नौनी घ्यू गोठबाट धार्नीको २ हजार ५ सयमा बिक्री हुँदै आएको गोठवाला डेन्डी शेर्पाले बताए । छुर्पी प्रतिकेजी ८ सयमा बिक्री हुने गरेको छ । चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्र पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञको भनाइ छ ।

    पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा जन्मिएका बाच्छाबाच्छी चौंरी हुन् । त्यस्तै पहाडी गोरुसँग चौँरी गाईको प्रजनन भएर बसेको गर्भबाट चौँरी जन्मिन्छ । चौँरी गाई तथा याकलाई रिसाहा जनावरकोरूपमा पनि लिने गरिन्छ ।

    यहाँको मैयुङडाँडा, सिलिचुङ, साउनेडाँडालगायतका माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुँदै आएको छ । किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम सुरु भएपछि गाउँघरका खेतबारीमा झार्ने गर्दछन् ।

    वर्षभरि लेकबेँसी गर्दै व्यवसाय गरिरहेको भए पनि सामुदायिक वनले चरीचरनमा रोक लगाएपछि व्यवसाय सञ्चालनमा समस्या हुने किसानको गुनासो छ । केही वर्ष अघिसम्म ५०/६० ओटा गोठ रहेको भए पनि हाल आएर १०/११ मा सीमित भएको मैयुङडाँडामा चौँरी पाल्दै आएका किसान विमल राईले बताए ।

    चरन अभावले धेरैले पितापुर्खाको पालाबाट गरिआएको पेसासमेत छाड्दै गएको राईको भनाइ छ । उनले भने, ‘चौँरीपालनमा मुख्यरूपमा चरन क्षेत्रको अभाव छ । यसलाई धेरै नै चरन क्षेत्र चाहिन्छ । अन्य गाईवस्तुभन्दा यसलाई बढी चरन क्षेत्रको आवश्यक पर्छ । एक दिनमा चौँरी सरदरमा १६ किलोमिटरको परिसर घुम्ने गर्छ ।’

    सीमित ठाउँमा चराउँदा घाँसको अभाव तथा सहजरूपमा घुम्न नपाउँदा चौँरी नफस्टाउने समस्या हुने गरेको छ । चरन क्षेत्र र जनशक्तिको अभावले गोठमा धेरैले व्यवसाय छाडेको राईले बताए । मैदानसँगै चौँरीले मन पराउने मालिङ्गो तथा निगालो मासिन थालेको उनलेको भनाइ छ ।

    ‘चौँरीलाई दुधालु घाँसको अभाव छ । चौँरीले असाध्यै मन पराउने मालिङ्गो घाँस (झाप्रो) मासिँदै गएको छ’, किसान राईले भने, ‘पहिला सजिलै पाइने यस्ता खालका वनस्पति विभिन्न रोगका कारण मासिएको अवस्था छ । यसले पनि व्यवसायमा असर पुगेको छ ।’

    थोरै लगानी र आफूले मेहनत गरेर चौँरीबाट किसानले आम्दानी लिने गरेका छन् । सरकारले पनि गोठ सुधारमा सहयोग गरिरहेको छ । गोठ सुधार भए पनि चरन क्षेत्रको व्यवस्थापनमा पहल गरिदिनुपर्ने यहाँका किसानको माग छ ।

    यहाँका अधिकांश किसानले आफ्नो गोठलाई सुधार गरिसकेका छन् तर, उनीहरू गोठ सुधारले मात्र पेसाको संरक्षण नहुने बताउँछन् । चौँरीका लागि चरन क्षेत्र खुल्ला गरिनुपर्ने चौँरीपालन व्यवसायी टेम्बा शेर्पाले बताए ।

    ‘राज्यले गोठ सुधारका लागि सहयोग गर्यो । यसमा हामी खुसी छौँ’, शेर्पाले भने, ‘तर हाम्रो मुख्य समस्या चरन क्षेत्रको हो । चरनका कारण गोठ छोड्नुपर्ने अवस्था छ । चरन क्षेत्रका कारण चौँरी नै पाल्न नसक्ने अवस्था भएपछि गोठवालाले मात्र के गर्नु ? चरन क्षेत्रका लागि पनि राज्यले पहल गरिदिनु पर्यो ।’

    राज्यले गोठवालाको उचित व्यवस्थापनमा सहयोग गर्नुपर्ने खर्क गोठ संरक्षण समितिका अध्यक्ष पाविहाङ राईले बताए । यस्ता पराम्परागत पेशाको संरक्षण गर्दै गोठवालाका समस्यालाई उजागर गर्न सबै जना संगठित भएको उनको भनाइ छ ।

    उच्च पहाडको शोभा बनेको चौँरी संरक्षणमा राज्यले चासो दिनुपर्ने अध्यक्ष राईको भनाइ छ । गोठवालाले प्रकृतिको संरक्षणमा योगदान गरिरहेको भए पनि उनीहरूमाथि चोरी सिकारी तथा वन फँडानी लगाएको झुटा आरोप लाग्ने गरेको राईको भनाइ छ ।

    ‘गोठवाला पेसाको संरक्षण गर्न हामी एकजुट भएका छौं’, अध्यक्ष राईले भने, ‘यो पेसा लोप हुने अवस्थामा पुगेको हुनाले संगठित हुनुपर्ने अवस्था आयो । हामी संगठित भएर आवाज उठाएपछि गोठ सुधारका लागि राज्यले पनि केही कामको थालनी गरेको छ । तर, हामी गोठवालाको जटिल समस्याका रूपमा चरन क्षेत्र नै हो । यसमा राज्यले ध्यान दिन आवश्यक छ ।’

    यहाँ निर्माण भएका गोठ पर्यटकलाई लक्षित गरेर गोठबासको अवधारणा अनुसार निर्माण गरिएको अध्यक्ष राईको भनाइ छ । एउटा गोठमा कम्तीमा २० जना मानिस अट्ने गरी बनाइएको उनको भनाइ छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology