रेश्मा सिंह
काठमाडौं । पछिल्लो केही सातायता नेपालमा कोरोना संक्रमित हुने दरमा वृद्धि भइरहेको छ । कोरोनाको पहिलो चरणलाई नेपालले पार गर्न नपाउँदै दोस्रो लहर भित्रिएको छ ।
नेपालमा युके भेरियन्टका साथै भारतमा अत्यधिक फैलिएको डबल म्युटेन्ट भाइरस पुष्टि भइसकेको छ । पछिल्लो समय कोरोनाको दोस्रो चरणमा बालबालिका तथा युवावर्ग बढी संक्रमित भइरहेको स्वास्थ्यविज्ञले जानकारी दिएका छन् ।
देश पुनः लकडाउनकै संघारमा
गतवर्ष १० चैत्रबाट लागू भएको देशव्यापी लकडाउन ५ साउनबाट विस्तारै खुकुलो हुँदै गयो । करिब पाँच महिने लामो लकडाउनबाट प्रायः सबै क्षेत्र धरापमा परेको थियो । व्यापार, व्यवसाय ठप्प भयो । मानिसहरूको रोजीरोटी खोसियो । कार्यलय, शिक्षण संस्था पूर्णरुपमा बन्द भए । मानिसहरू कोरोनाको कारणले घरभित्र कैद भएर बस्नु परेको स्थिति थियो । उक्त लकडाउनले मानिसलाई सिथिल नै बनायो ।
गत मंसिरदेखि माघको विचमा कोरोना संक्रमित हुने घटे । त्यसले गर्दा मानिसहरु क्रमशः निस्फिक्रि भएर हिंडडुल गर्न थाले । यसैबीचमा छिमेकी राष्ट्र भारतमा भने कोरोना भाइरसको परिवर्तित स्वरुप भित्रिएर तीव्र गतिमा दिनहुँ संक्रमण बढ्दै गयो ।
भारतमा कोरोना संक्रमण बढेसँगै गतवर्ष झैँ रोजगारीका लागि गएका नेपाली स्वदेश फर्कन थाले । खुल्ला सीमा भएकाले नेपालीलाई घर फर्कन समस्या भएन, सहजै नेपाल प्रवेश गरे ।
भारतमा संक्रमित बढेपछि खुल्ला आवत-जावत भएकाले नेपाल पनि स्वभाविक रूपमा उच्च जोखिमा थियो । नभन्दै फागुन महिनाबाट नेपालमा पनि कोरोना संक्रमितको संख्यामा विस्तारै वृद्धि हुँदै कोरोनाको दोस्रो लहर सुरु भयो ।
कोरोनासँगै नयाँ सत्र २०७८ सुरु
नेपालमा पहिलोपटक कोरोना संक्रमण देखिएका पुरुष चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत थिए । ३२ वर्षीय ती पुरुषमा कोरोना पोजिटिभ देखिएसँगै नेपालमा त्रास बढ्दै गयो । संक्रमण फैलने जोखिम बढेपछि देशमा पूर्ण लकडाउन गरिएको थियो । गत वर्ष लकडाउनसँगै कोरोना त्रासमा नयाँ वर्षको सुरुवात भएको थियो । यो वर्षको सुरुवात पनि कोरोनाको दोस्रो लहरबाट भयो ।
यो वर्ष १ वैशाखमा ६ सय ३ जनामा कोरोना देखिएको थियो । त्यसयता कोरोना संक्रमितको संख्या थपिदै गएको छ । २२ वैशाखमा एकैदिन ५८ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । पछिल्लो दिनको सरकारी तथ्यांक हेर्दा समुदायमा संक्रमण तीव्र गतिमा फैलिरहेको देखिन्छ ।
कोरोना संक्रमण फैलिएर मानवीय क्षति हुनसक्ने भन्दै सरकारले १६ बैशाखबाट काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरे पनि संक्रमण दर भने अहिलेसम्म घटेको छैन ।
कोरोनाको पहिलो छाललाई पार गर्ने क्रममै दोस्रो लहरको पनि चुनौती थपिएको छ । पहिलो चरणमा सबै उमेर समुहकालाई जोखिम थियो । तर दोस्रो चरणमा बालबालिका र युवामा संक्रमण बढी मात्रामा देखिएको छ ।
कोरोनाले मनोविज्ञानमा असर
निषेधाज्ञाका कारण सबैले घरमै थुनिनु परेको छ । यस्तो समयमा बालबालिकादेखि युवा, वृद्धवृद्धाहरु मोबाइल वा टिभी हेरेर समय व्यतित गरिरहेका छन् । दिनहुँ कोरोना संक्रमण वृद्धि र मृत्यु जस्ता समाचारले धेरै व्यक्तिमा डर पैदा गरेको छ ।
सञ्चार माध्यममा आउने विभिन्न खाले समाचारले मानिसमा एक किसिमको डर पैदा भएको छ । प्रेस काउन्सिल नेपालले मंगलबार (२३ वैशाख) विज्ञप्ति सार्वजनिक गर्दै सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्तालाई मानविय संवेदना खल्बलिने खालका गतिविधि नगर्न ध्यानाकर्षण गराएको छ ।
के भन्छन् मनोविद् ?
कोरोनाको कारणले सबै क्षेत्रमा असर गरेको छ । स्वास्थ्य, शिक्षा, आर्थिक हिसावले असर गरेको छ । जसको कारणले मानिसहरूमा पछिल्लो समयमा तनाव सिर्जना भएको मनोविद् सुमनप्रसाद अधिकारीले जानकारी दिए ।
उनकाअनुसार तनावको कारणले मानिसमा एन्जाइटी, डिप्रेशन, अनिन्द्रा, छटपटीको समस्या भइरहेको छ । यसबाहेक कोरोनाको कारणले परिवारको कुनै सदस्यको मृत्यु भएको अवस्थामा व्यक्तिमा गम्भीर खालको स्ट्रेसको समस्या देखिएको छ ।
फ्रन्टलाइनरमा खटिएका चिकित्सक, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्र्ने व्यक्तिमा मनोवैज्ञानिक समस्या बढी देखिएकोे अधिकारीले बताए । तनावको कारणले मानिस चाँडै रिसाउने, घोेरिएर बस्ने, अनिन्द्रा, छटपटी हुने उनको भनाइ छ । मनोवैज्ञानिक समस्याबाट बच्न सरकारले तोकेको मापदण्डलाई अवलम्बन गर्न उनले सुझाए ।
उनकाअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाउँदा कोरोनाको जोखिम कम हुन्छ । जसले अनावश्यक तनावलाई कम गर्छ । धुम्रपान तथा मद्यपानबाट टाढा रहनुपर्छ । सकभर सामाजिक सञ्जालबाट टाढा रहने र दिनहुँ आउने नकारात्मक समाचार, सन्देशलाई ध्यान दिनुहुँदेन ।
हरेक विहान योग, ध्यान तथा शारिरीक व्यायाममा जोड दिनुपर्छ । स्वस्थ खानपानलाई ध्यान दिन सकिए कोरोनाबाट बच्न सकिन्छ । यसको व्यवस्थापनको लागि व्यक्तिले सानो कुरालाई धेरै नसोची सकारात्मक कुरालाई जोड दिइ अगाडि बढ्न उनले सुझाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij