वेबटिभी खबर
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ३ हजार ४ सय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ ।
गाउँपालिकाले गण्डकी प्रदेश र संघीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा ‘एक घर एक धारा’ जडान गरेको हो ।
गाउँपालिकाको समस्याकारूपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना अगाडि बढाएसँगै ३ हजार ४ सय घरधुरीमा ‘एक घर एक धारा’ जडान गर्न सकिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।
गाउँपालिकाले हालसम्म विभिन्न ३० साना ठूला खानेपानीका योजनाबाट उक्त घरधुरीमा ‘एक घर एक धारा’ मार्फत पानीको पहुँच विस्तार गरेको हो । उक्त आयोजनामध्ये १२ लिफ्टिङ छन् भने १८ ग्राभिटी योजना रहेको उनले जानकारी दिए ।
यस पालिकालाई तीनतिरबाट कालीगण्डकी नदीले घेरेर गएकाले पानीका मुहान नदी किनारमा धेरै छन् । नदीभन्दा माथिल्लो भूभाग वा पहाडको उच्च भागमा यहाँका बस्ती रहेकाले पिठ्युँमै पानी बोकेर दैनिकी चलाउनुपर्ने बाध्यता रहेको थियो ।
‘बद्लिँदो स्थानीयको दैनिकी, विद्युतीय उपकरणको प्रयोग, पाइप विस्तार, आधुनिक ट्यांकी निर्माणलगायतका कार्यले तीव्रता पाएसँगै घरघरमा पानी पुर्याउन सकिएको छ’, उनले भने, ‘जसले गर्दा स्थानीयको दैनिकीमा सहजता आएको छ भने दैनिकी अब क्रियाकलापसँग जोडिँदै गएको छ ।’
पशुपालन कृषि कार्य सरसफाइलगायतका काममा पानीको अभाव झेलेका यहाँका स्थानीयको जीवनयापन कष्टकर बनेको थियो । गाउँपालिकाले हालसम्म खानेपानीका क्षेत्रमा १५ करोड ४९ लाख बजेट विनियोजन गरी खर्च गरेको उनले बताए ।
घरघरमै धारा जडान भई पानी आएसँगै यहाँका स्थानीय बासिन्दा हर्षित छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij