Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बीपीमाथि अनुसन्धान, कसले गर्ने, कसरी गर्ने ? [विचार]

बीपीमाथि अनुसन्धान, कसले गर्ने, कसरी गर्ने ? [विचार]

  • 441
    SHARES
  • बीपीमाथि अनुसन्धान, कसले गर्ने, कसरी गर्ने ? [विचार]

    मुलुकको इतिहासमा पहिलोपटक निर्वाचित संविधानसभा (२०६४) विघटन भएपछि मुलुकमा एक प्रकारको अन्योलको वातावरण थियो । फेरि दोस्रोपटक संविधानसभा निर्वाचन गर्ने वा संसदको चुनाव भन्ने तीव्र बहस चलिरहेको थियो । ती दिन म कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरो प्रमुखको रूपमा काम गर्थें । हरेक दिन कुनै न कुनै राजनीतिक घटना भएकै हुन्थे । टेलिभिजनका लागि समाचार तयार गर्न हामीलाई सधैं चटारो परेकै हुन्थ्यो ।

    images

    यस्तैमा एक दिन नेपाली कांग्रेसका नेता चक्र बाँस्तोलाले फोन गरेर भन्नुभयो– के छ तिम्रो आजको कार्यक्रम । मैले भनें– समाचारको काम केही न केही त भैहाल्छ नि दाइ । त्यस्तो विशेष त केही छैन । चक्रदाइले भन्नुभयो– त्यसो हो भने मैले एउटा सानो कार्यक्रम आयोजना गरेको छु । न्यू प्लाजामा । तिमी आउनु एक/डेढ घण्टाका लागि । कति समाचार मात्र बनाउँछौं । आज हाम्रा कुरा पनि सुन । युवाहरूले पनि सुन्नुपर्छ ।

    दाइले भनेको समयमै कार्यक्रम स्थलमा पुगेँ । डा.बिपिन अधिकारीको अफिस रहेछ । थोरै मानिस डाक्नु भएको रहेछ । तर सबै एक से एक । त्यो बेलासम्म मलाई के कार्यक्रम हो ? दाइले किन बोलाउनु भयो ? केही थाहा थिएन । त्यो क्षण अहिले पनि याद आउँछ, भीमबहादुर तामाङ, प्रदिप गिरि, डा.शेखर कोइराला, डा.दिनेश भट्टराई हुनुहुन्थ्यो । सहभागीमध्ये सबैभन्दा कान्छो म नै थिए । एक जना वासु रिजाल थिए, उनी चक्रदाइको सहयोगीका रूपमा टिममै बसेर काम गरिरहेका थिए ।

    कार्यक्रम सुरु भएपछि मात्र थाहा भयो प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको शतवार्षिकी (२०७१) का अवसरमा बृहत् कार्यक्रम गर्ने, उनका विचार र सिद्धान्तलाई समयानुकल व्याख्या गरी पुस्तक प्रकाशन गर्ने र देशभर कार्यक्रम आयोजना गर्ने योजनाका साथ बीपी कोइराला सहशताब्दी समारोह समिति गठन भएको रहेछ । त्यसको अध्यक्षमा भीमबहादुर तामाङ, सदस्यहरूमा चक्र बाँस्तोला, प्रदिप गिरि र डा.शेखर कोइराला र सदस्य सचिव डा. दिनेश भट्टराई हुनुहुँदो रहेछ ।

    वर्षभर सञ्चालन गर्ने योजना र त्यसका लागि कति बजेट आवश्यक छ भन्ने विषयमा मिहिन गृहकार्य गरिसकेको रहेछ । त्यही कार्यक्रममा चक्रदाइले भन्नुभएको थियो, ‘बीपीसँग संगत गरेका, उहाँलाई पढे, बुझेकामध्ये हाम्रो पुस्ता मात्र बाँकी छ । हाम्रा अग्रजहरू प्रायः बितिसक्नु भयो । अहिले संयोगले बीपी जन्मिएको १०० वर्ष पनि पुग्दैछ । यो बेलामा के के काम गर्न सकिन्छ हामी तयारी गरौँ भनेर तपाईहरूलाई बोलाइएको हो ।’

    झण्डै एक घण्टाको छलफलमा प्रदीप गिरिले ठट्यौली शैलीमा भन्नुभएको थियो,‘अहिले नै यो काम गर्नु पर्छ नत्र हामी सबैको उमेर तपाईंहरूलाई थाहा नै छ ।’ बीपीसँग खुलेर छलफल गरेका र खरो बहसमा उत्रिएका बौद्धिक नेताहरूले कम्मर कसेपछि काम हुने भयो भन्दै खुसी हुँदै फर्किएँ ।

    चक्रदाइ त्यो योजनाका लागि बजेट जुटाउने गृहकार्यमा हुनुहुन्थ्यो । सदस्य सचिव डा.भट्टराईका अनुसार उहाँ बीपीजत्तिको राजनेताका बारेमा गरिने अनुसन्धानका लागि विदेशी दाताबाट सहयोग खोज्ने होइन, नेपाल सरकारबाटै यो काम गराउनु पर्छ भन्नेमा हुनुहुन्थ्यो ।

    त्यतिबेला डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । योजना र कार्यक्रमको खाका तयार भैसकेको थियो । यसमा अन्तर्राष्ट्रियस्तरका नेता वा विद्वानलाई आमन्त्रण गरी काठमाडौंमा भव्य कार्यशाला गर्ने, नेपालका ७५ जिल्ला (त्यो बेला) मा कार्यक्रम गर्ने, पुस्तक प्रकाशन गर्नेलगायतका योजना थिए । त्यसका लागि अनुमानित ८ करोड रुपैयाँ खर्च हुने गरी बजेटको खाका उहाँले बनाउनु भएको थियो । तर दुर्भाग्य २०६९ मंसिर १६ मा अध्यक्ष भीमबहादुर तामाङको मृत्यु भयो । त्यसको एक महिना नपुग्दै पुष १४ गते चक्रदाइ अचेत हुनुभयो । होस्मा नआएरै २०७५ असोज २७ मा चक्रदाइको निधन भयो ।

    चक्रदाइको जीवनी लेख्ने क्रममा ए पटक मैले प्रदीप गिरिसँग भटेको थिएँ– त्यो बेला उहाँले भन्नुभएको थियो । हेर्नुस्, मेरो त उमेरले पनि साथ दिंदैन अब म चाहेर पनि पहिला जस्तो काम गर्न सक्दिनँ । तर नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने धेरै विषय छन् । गर्ने कोही इमान्दार युवा छन् भने म सहयोग पनि जुटाई दिन सक्छु । तर मैले त्यस्तो युवा जमात फेला पार्न सकेको छैन ।

    वि.सं. २०७९ भदौ ५ मा प्रदिप गिरिको समेत निधन भएपछि नेपाली कांग्रेसभित्र बीपीको संगत गरेका बैद्धिक नेताहरूको अवसान भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन अनि मूल्य, मान्यता, निष्ठा र आदर्शको राजनीतिमा विश्वास गर्ने जो कोही लागि बीपी आदर्श राजनेता हुन् । तर उहाँको बारेमा खोजी गर्ने कामलाई बीपीका अनुयायी भनेर राजनीतिक र अरु लाभ उठाउनेहरूले प्राथमिकतामा राखेको म देख्दिन ।

    युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कलेको निमन्त्रणमा सन् २०१९ मा अतुल कोइराला दाइ र म युसी वर्कले पुगेका थियौँ । त्यहाँका प्राध्यापकले बीपी नेता र प्रसिद्ध साहित्यकार मात्र होइन, विश्वले पत्याएका एक उच्च स्तरका विद्धान पनि भनेको सुन्दा कम्ता गर्व लागेको होइन । त्यही एउटा पत्र हेर्ने मौका मिल्यो । युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कलेका प्राध्यापक लियो इ रोजले बीपीलाई लेखेको पत्र । यस पत्रमा प्राध्यापक रोजले आफ्नो एउटा अनुसन्धान लेख हेरेर सल्लाह सुझाव दिन र परिमार्जनका लागि सघाउन आग्रह गरेका छन् ।

    त्यसैले त काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले एकजना अमेरिकी राष्ट्रपतिले नोबेल पुरस्कार विजेताहरूलाई ह्वाइट हाउसमा रात्रिभोज दिएको प्रसङ्ग उल्लेख गर्नुभएको थियो । माथेमा लेख्छन्– ती राष्ट्रपतिले त्यस दिन भनेका थिए, ‘आज म अति नै खुसी छु । किनभने ह्वाइट हाउसमा पहिलोपटक यतिका धेरै नोबेल पुरस्कार विजेतासँग बसेर मैले रात्रिभोज गर्न पाए । यो मेरो जीवनकै सर्वाधिक स्मरणयोग्य घटना हुनेछ । तर तपाइँहरू सबैसँग रात्रिभोज गरेको भन्दा बढी खुस म त्यो बेला हुने थिएँ, यदि मैले थोमस जेफर्सनसँग रात्रिभोज गर्न पाएको भए । नेपालको सन्दर्भमा बीपी पनि त्यस्तै हुन् ।

    [लेखक नेपाल पत्रकारिता तथा आमसञ्चार र पत्रकारिताको प्राध्यापनमा सक्रिय छन्] 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology