Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पर्यटककाे रोजाइमा पञ्चकन्या झरना

पर्यटककाे रोजाइमा पञ्चकन्या झरना

  • 396
    SHARES
  • पर्यटककाे रोजाइमा पञ्चकन्या झरना

    काभ्रे । पञ्चकन्या झरना पछिल्लो समयमा धेरैको रोजाइको थलो बनेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ खारखोलास्थित मनमोहक उक्त झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानी छ्याप्दै मनोरञ्जन लिन सकिन्छ ।

    पनौती-मल्पी-रोशी भूमेडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको थियो ।

    घना जंगलका छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपरेका कारण निकै रमाइलो र मनमोहक भएको स्थानीय बासिन्दा सन्तबहादुर तामाङले बताए ।

    ‘हरेक दिनजसो यहाँ घुम्न आउने गरे पनि प्रायःजसो बिदाका दिनमा पाइला टेक्ने ठाउँ हुँदैन’, उनले भने, ‘बजारबाट नजिकेको दूरीमा रहेको हरियाली जंगलछेउमा रमयणीयस्थल भएका कारण पनि मान्छेहरूको गन्तव्यको केन्द्र बनेको छ ।’

    धेरै टिपर गुड्ने समयमा आवागमनमा कमी आउने गरेको उनले बताए । धेरै मात्रामा गाडी गुड्ने कच्ची मोटरबाटो भएका कारण खाल्डाखुल्डीका कारण साना सवारीसाधनलाई आवजावतमा समस्या हुने गरेकाले पनि मानिसको आवागमनमा समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

    पनौती नगरपालिका-२ कुशादेवीका डिल्लीराम आचार्यले पनौती बजारबाट नजिकै रहेको पञ्चकन्या झरनामा जानेहरूले बाटोको समस्याका कारण यात्रा गर्न कठिन भएको बताए।

    ‘पनौती बजारबाट जम्मा छ किलोमिटर मात्रैको दूरी हो’, उनले भने, ‘सो क्षेत्रमा धेरैजसो खानी र क्रसर उद्योग सञ्चालनमा ल्याएका कारण एकातिर शान्त वातावरणमा प्रदूषण बढाउन र अर्कोतर्फ बाटो बिगारेर समस्या पैदा गराएका कारण वितृष्ण पैदा गराइदिएको छ ।’

    पनौतीको मल्पिबाट कच्ची बाटो र खारखोलादोभानबाट खानी र क्रसरका कारण हिँड्न समस्या पैदा गराएकाले त्यहाँसम्म जान कठिन हुने गरेको झरना जानेहरू बताउँछन् ।

    कुशादेवीकै हस्तबहादुर तामाङले पर्यटकीय स्थल झरनाको विकास संरक्षणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने जानकारी दिए।

    ‘ठाउँ निकै मनमोहक छ, तर त्यहाँसम्म जानका लागि सहज भए पनि बाटोघाटो र त्यहाँ सञ्चालित खानी र क्रसरले गर्दा दिक्क बनाउने गरेको अवस्थाबाट सो ठाउँलाई छुटकारा दिलाउन आवश्यक छ’, उनले भने ।

    विशेषगरी कोरोना संक्रमणका समयमा टाढा-टाढा घुम्न र भीडभाडा गरी बाहिर निस्कन नपाएका नजिकै रहेको रमणीयस्थल खोज्ने क्रममा सो झरनास्थल बढी रोजाइको गन्तव्य बनेको हो ।

    पनौती-१२ का वडा सदस्य दीपक तामाङले झरना क्षेत्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्थापन गरेर काम गर्ने तयारीमा रहेको जानकारी दिए । शौचालय निर्माण गर्न, फोहर व्यवस्थापन गर्न र सवारीसाधन पार्किङ गर्न यसै आर्थिक वर्ष १ लाख बजेट व्यवस्थापन गरिसकेको उनको भनाइ छ ।

    ‘अब दशैँ-तिहारलगत्तै सो योजना अगाडि बढ्छ’, उनले भने, ‘खानी र क्रसर उद्योग क्षेत्रको बाटो भएका कारण समस्या भएकाले त्यहाँ जाने पर्यटकको सहजताका लागि मल्पिबाट रोशीबजार निस्कने वैकल्पिक बाटोका लागि पाँच लाख बजेट व्यवस्था गरी मर्मतको काम अगाडि बढाउने र रोशीबजार क्षेत्रबाट झरनासम्म जाने अर्को वैकल्पिक बाटो छिचोल्नका लागि पनि प्रयन्त भइरहेको छ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij