Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

ओझेलमा एशियाकै पुरानो गुरुकुल

ओझेलमा एशियाकै पुरानो गुरुकुल

  • 992
    SHARES
  • ओझेलमा एशियाकै पुरानो गुरुकुल

    काठमाडौं । देशकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत विद्यालय मटिहानी, महोत्तरीमा अध्ययनरत बटुक (विद्यार्थी) निश्चल अधिकारी पाँच वर्षदेखि दैनिक बिहान ४ बजे नै उठ्ने गर्दछन् ।

    images

    अँध्यारो, उज्यालो, वर्षा, गर्मी कुनै कुराको प्रवाह नगर्दै निश्चल प्रतिदिन बिहान ४ बजे नै उठेर आफ्नो नित्यकर्म गरी रूद्राभिषेक (भगवान् शिवको विशेष पूजा)का लागि फूल टिप्न फुलबारीमा जाने गर्दछन् ।

    अरू बटुक जाग्नुभन्दा पहिले निश्चलले फूल टिपेर गुरुकुलको शिव भवन (रूद्राभिषेक हुने कोठा)मा पुगिसक्छन् । उनी जस्तै सोही गुरुकुलमा अध्ययनरत अर्का बटुक खगेन्द्र उपाध्याय पनि एका बिहानै उठेर आफ्ना रूद्राभिषेकका लागि भगवान् शिवको विशेष कक्ष (मन्दिर), शिवलिंग तथा शिवलिंग राखिएको भाँडाको सरसफाइमा जुट्ने गर्दछन् ।

    खगेन्द्रले दैनिक रूपमा भगवान् शिवको रूद्राभिषेक पूजामा प्रयोग भएका फूल, चन्दन, धूप, अगरबत्ती, गंगाजल र अन्य भोग (प्रसाद)का अवशेष बटुलेर शिवलिंगलाई चोख्याउने र शिव भवनलाई दैनिक रूपमै पवित्र पार्ने काम गर्दछन् ।

    पाँच वर्षदेखि निरन्तर रूपमा रूद्राभिषेक हुँदै आएको यस गुरुकुल मा अध्ययनरत अर्का बटुक अजित मिश्रले रूद्राभिषेक पूजाका लागि बटुक बस्ने आसनी ओछ्याउने, सरसफाइ गर्ने र पूजापश्चात पुनः आसनीहरू उचित स्थानमा राख्ने काम गर्दछन् ।

    उनीहरू जस्तै यस विद्यालयमा अध्ययनरत ब्रजभूषण झा, हरिमोहन झालगायत अन्य दर्जनौँ बटुक सधैं रूद्राभिषेक पूजाका लागि केही न केही जिम्मेवारीमा बसेर नित्यदिन भगवान् शिवको आधारना गर्दै आएका छन् ।

    गुरुकुलको परम्पराअनुसार पूजापाठबाटै दिनचर्या सुरु हुने यस विद्यालयका सबै छात्रछात्रा रूद्राभिषेक पूजाको तयारी पश्चात शिव कक्षमा विराजवान शिवलिंगलाई गंगाजलले स्नान गराई, चन्दन, फूल, प्रसादलगायतका वस्तु सिंगारेर रूद्राभिषेक पूजा सुरु गर्ने गरेको विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलको भनाइ छ ।

    शिवलिंगका अगाडि दुई लहरमा बटुकहरूको जमात बस्दै एकैस्वरमा सुरु गर्दछन् रूद्राभिषेक जप । रूद्राभिषेक जप गर्दा बटुकहरूको मधुर कण्ठबाट निस्केका पवित्र ध्वनीले पूरा गुरुकुलसहित वरपरका सम्पूर्ण वातावरण नै धार्मिक एवम् पवित्र हुने गर्दछ ।

    बटुक मन्त्र पढ्न थालेपछि गुरुकुल सहित वरपर सबैतिरका व्यक्तिको ध्यानाकर्षण हुनुका साथै सम्पूर्ण वातावरण नै शिवभक्तिमा डुबेको आभास हुन्छ । बिहान ५:३० बजेबाट सुरु हुने रूद्राभिषेक पूजा दैनिक दुईदेखि अढाइ घण्टासम्म चल्ने गर्दछ । सो अवधिभर यस गुरुकुलका सबै शिष्य, गुरु र गुरुकुलमा आएका पाहुनासमेत भगवान् शिवको ध्यान र पूजाप्रति समर्पित रहने गर्दछन् ।

    प्रधानाध्यापक पौडेलका अनुसार प्राचीन कालदेखिको गुरु, शिष्य परम्परा अहिले पनि यस विद्यालयमा कायम रहेको देख्न सकिन्छ भने यस विद्यालयमा अध्ययनरत बटुक पाँच वर्षदेखि एक दिन पनि नबिराई अबिरल रूपमा रूद्राभिषेक पूजा भइरहेको छ ।

    यस विद्यालयमा अध्ययनरत प्रत्येक बटुक टुप्पी भएका, दैनिक पूजाआजा, मन्त्र–जप गर्ने, योगा गर्ने र भोजन पूर्व भोग लगाउने चलन रहेको उनको भनाइ छ । पहाड र मधेशका गरी जम्मा एक सय ५५ बटुक अध्ययनरत यस आवासीय विद्यालयमा गरीब, दलित, अनाथ, टुहुरा र विभिन्न जातजातिका बटुक अध्ययनका लागि बसेका छन् ।

    एउटै भान्छामा खाने, एकैसरी बस्ने र मिलेर सबै कामकाज आफैं गर्ने गुरुकुल परम्परालाई अझै पनि यस विद्यालयमा अध्ययनरत बटुकले जीवन्त राखेका छन् ।

    यस विद्यालयलाई सानो नेपालको नामले पनि चिन्ने गरीएको छ । यहाँ नेपालको सात प्रदेशमध्ये छ प्रदेशका विभिन्न २६ वटा जिल्लाबाट बटुक आएर गुरुकुल शिक्षा हासिल गरीरहेका छन् ।

    यस गुरुकुलमा वेद, साहित्य, ज्योतिष, न्याय, व्याकरण, संस्कृत, भाषा, कर्मकाण्ड र रूद्री शिक्षा अध्ययन गर्न भारत र बर्माबाट पनि बटुक आउने गर्दछन् । प्राचीनकालका वेद, साहित्य, ज्योतिष, न्याय, व्याकरण, संस्कृत, भाषा, कर्मकाण्ड, रूद्रीका ज्ञान र विज्ञानका विषयमा बटुकलाई शिक्षा दिने गरीएको प्रधानाध्यापक पौडेलको भनाइ छ ।

    उनका अनुसार यस विद्यालयमा तीन वर्षदेखि आधुनिक शिक्षाको समेत पढाइ हुने गरेको छ । वर्षौंदेखि सञ्चालित यस गुरुकुलमा अध्ययनरत छात्रछात्रा संस्कृत मात्रै पढ्दै आएकामा अहिले आधुनिक शिक्षासमेत दिन थालिएको छ । अब ज्ञान र विज्ञान दुवै तर्फका शिक्षा प्रदान गरीने छ । यस विद्यालयमा ६ जना संस्कृत गुरु र आधुनिक विषय पढाउने छ जना शिक्षक छन् ।

    नेपालका इतिहासमा वर्णित बालागुरु षडानन्दले यही गुरुकुलबाट संस्कृत शिक्षा प्राप्त गरेर भोजपुर जिल्लाको दिंगलामा गएर त्यहाँका बालबालिकालाई पनि वेद, पुराण, कर्मकाण्ड र संस्कृत शिक्षाका लागि विद्यालय सञ्चालन गरेका थिए ।

    यस गुरुकुलमा अझै पनि गुरु शिष्य परम्परा कायम छ । यस गुरुकुलमा अध्ययन गर्ने शिष्यले गेरूवा (खैरो/रातो) पहिरन लगाउने, सात्विक भोजन गर्ने, गुरुलाई नै आफ्ना सबैथोक मान्ने, पाउ ढोग्ने र गुरुले भनेअनुसार नै गर्ने चलन चलिरहेको छ ।

    कुल १५ कठ्ठा क्षेत्रफलमा फैलिएको यस गुरुकुलमा चुन, सुर्की, सख्खरबाट निर्मित वर्षौँ पुराना भवन, कक्षा कोठा, फूलबारी लगायतका छन् । नेपाल सरकारले आधुनिक विद्यालय शिक्षामा ठूलो लगानी गरे पनि यस गुरुकुलको सञ्चालनका लागि कुनै अनुदान नदिएको प्रधानाध्यापक पौडेको भनाइ छ ।

    प्रधानाध्यापक पौडेका अनुसार गुठी संस्थानले यस विद्यालयमा अध्ययनरत केवल ४४ जना बटुकका लागि छात्रवृति पठाउने गर्दछ । तीनै ४४ जनाको छात्रवृत्तिबाट यस विद्यालयमा अध्ययनरत १५५ जनालाई वर्षभरि खान, लाउन, बस्न सबै जोहो गर्नुपरेको उनको भनाइ छ ।

    यस गुरुकुलमा अध्ययन गरेका शिष्यहरू राज्यका विभिन्न उच्च तहमा पुगे पनि यस गुरुकुलको संरक्षण र सम्बद्धनका लागि कहीँकतैबाट कुनै पनि सहयोग नभएकामा उनीहरू दुखित छन् ।

    करिब ३०५ वर्ष पुरानो यस गुरुकुल नेपालको मात्र नभएर एशियाकै पहिलो प्राचीन, ऐतिहासिक, सामाजिक, सांस्कृतिक धरोहरको रूपमा रहे पनि यहाँका बटुकले आर्थिक स्रोत जुटाउन भिक्षाटन गरेर आफ्नो दैनिकी चलाउने गरेका छन् ।

    यसको भवन जीर्ण हुँदा त्यसको मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग प्राप्त नहुँदा अस्तित्वकै संकटमा पर्दै गएको खबर चारैतिर फैलिएपछि विगतमा यसै गुरुकुलबाट अध्ययन गरेर नेपाल तथा देश विदेशका पुगेका केही शिष्यले स्थलगत अनुगमन निरीक्षण गरी चासो देखाएको प्रधानाध्यापक पौडेलको भनाइ छ ।

    यस गुरुकुललाई बृहत् गुरु योजनाका साथ भौतिक रूपमा सबल गर्न सकिएमा शैक्षिक गुणस्तरमा पनि सुधार ल्याउन सकिने उनको विश्वास छ ।

  • सम्बन्धित विषय:

  • # गुरुकुल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology