वेबटिभी खबर
तनहुँ । तनहुँकाे व्यास नगरपालिका-१ भादगाउँस्थित मादी नदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छ्याउने कार्य सुरु गरेको छ ।
वडामा कूल ५२ किलोमिटर दूरीमध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको हो । करिब तीन फिट गहिरो खाडल खनेर पाइप पुर्ने कार्यका लागि जनशक्ति परिचालन गरिएको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।
व्यास नगरपालिका-४ को मादी नदी किनारबाट करिब पाँच किलोमिटर दूरीबाट पानी ल्याएर वडावासीलाई पानी वितरण गर्ने योजना रहेको छ ।
व्यास नगरपालिका-१ को अमिली भञ्याङमा चार लाख लिटर मुख्य ट्यांकी र सोही वडाको भद्रुडाँडामा पचास हजार लिटर क्षमताको गरी दुई वटा रिर्जभ ट्यांकी निर्माण कार्य भइरहेको छ ।
समितिले ट्यांकी निर्माणको लागि करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याएर काम थालेको छ । रिजर्भ ट्यांकीको भूइँ ढलान गर्ने कार्य दसैंंअघि सम्पन्न गरी अहिले आरसीसी पर्खाल लगाउन थालिएको छ ।
मादी नदीबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमता रहने प्राविधिकले बताएका छन् । पानी धान्न सक्ने किसिमको फिल्टर प्लान्ट निर्माण गरिनेछ । व्यवस्थापक श्रेष्ठले भने, ‘मुख्य प्लान्टको कार्य सकिएपछि तिहारपछि मादी नदी किनारमा लिफ्ट क्षेत्रको काम गरिने छ ।’
खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल खानेपानी आपूर्तितर्फ १५ करोड २४ लाख ३६ हजारमा सम्झौता भएको हो ।
उपभोक्ताबाट संकलित पाँच प्रतिशत अर्थात् १ करोड ३१ लाख खातामा जम्मा गरिसके पछि मात्रै आयोजनाको सम्झौता भएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए ।
नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । २०८० भदौभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।
२०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुई हजार ६०० बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij